अमेरिकामा ११ जनाको मृत्यु, बाह्र सय उडान रद्द

तस्बिर : एजेन्सी

अमेरिकाको दक्षिणी क्षेत्रमा आएको शाक्तिशाली आँधीका कारण ११ जनाको मृत्यु भएको छ। अधिकारीहरुका अनुसार आँधीसँगै कडा हावाहुरी र बाढी आएका कारण मानवीय क्षति भएको हो।

उक्त घटनामा मृत्यु भएका मध्ये एक जना प्रहरी र एक जना उद्धारकर्तासमेत रहेका जनाइएको छ। त्यस्तै ओक्लाहोमामा पनि बाढी र बर्षासँगै आँधी आएको थियो।

सो क्षेत्रमा खटिएको गस्ती टोलीले शनिबार दिएको जानकारीअनुसार आँधीका कारण दुई जनाको मृत्यु भएको छ भने सवारी साधनहरु बाटोमै रोकिएका थिए।

आँधीपछि टेक्सासदेखि ओहियोसम्मका हजारौ घरहरुमा विद्युत सेवा अवरुद्ध भएकाले लाखौ मानिसहरु विद्युत सेवा बिहिन अवस्थामा रहेका छन्।

त्यसैगरी कतिपय राजमार्गहरु बन्द भएका छन्। विषेशगरेर ओक्लाहोमा र अर्कान्सासमा बाढी आएकाले बाटो बन्द भएका हुन्।त्यसैगरी सिकागोका दुई अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने १२ सयभन्दा बढी उडान सेवा स्थगित भएको अधिकारीहरुले जनाएका छन्।

विमानस्थलका अधिकारीहरुका अनुसार ओहारे अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्रै ९५० भन्दा बढी उडान स्थगित भएका हुन्। शनिबार बिहानैदेखि आइतबार दिउसोसम्मका सेवाहरु बन्द गरिएको उनीहरुले जानकारी दिएका छन्।

प्रकाशित मिति: : 2020-01-13 05:40:22

प्रतिकृया दिनुहोस्