उनले टोल छिमेक सबैको अगाडि भनिन्, ‘म छुई मान्दिन। जसले जेसुकै भनोस्।’
‘सुरुवात आफ्नै कुराबाट गरौं। म व्यापारी घरानाकी छोरी हुँ। छुई मान्ने चलन हाम्रोमा पनि थियो। तर मैले सुरुदेखि नै मानिन्। घरमा छुट्टै बस्ने कोठा थियो। बिहान महिनावारी भएपछि दिनभर घरपरिवारसँग बसेर साँझ मात्र महिनावारी भएको थाहा दिएर त्यो कोठामा सुत्न जान्थेँ।’
जुम्लाकी प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले यसो भनिरहँदा उनको मुहारमा आत्मविश्वास झल्किन्थ्याे।उनी भन्दै थिइन्,‘दिनभर घरपरिवारलाई छुँदा कसैलाई केही भएन। केही नहुँने रहेछ भन्ने विश्वास बलियो भयाे। डरको मनोविज्ञान कमजोर बन्दै गयो। ओरालो लागेको मृगलाई बाच्छोले पनि लखेट्छ भने जस्तै कमजोर हुँदै गएको डरको मानेविज्ञानलाई पूर्णरुपले निमिट्यान्न पार्ने साहस जब छुई हुँदा घरपरिवारसँगको सँगैको बसाईंबाट जुटिसकेको थियो।’
उनले टोल छिमेक सबैको अगाडि भनिन्, ‘म छाउ मान्दिन। जसले जेसुकै भनोस्।’
टोलछिमेकका सबैले उनलाई त्यसो नगर यसको असर एक न एक दिन अवश्य देखिन्छ भन्दै खुब डर देखाए। के मतलब? उनले त्यहीँ डरलाई नै मज्जाले हिर्काइसकेकी थिइन्।त्यसपछि अरुले पनि हारेर भने, ‘त्यो दुर्गासँग सकिदैन। तर अरुले बार्नुपर्छ।’
उनलाई गलत भन्दै अरुले जे भन्यो त्यही ठिक छ भनेर छुई बार्ने उनका साथीले सिडिओ भएपछि उनलाई, ‘तिमीले हाम्रो गाउँठाउँको इज्जत राख्यौं। हामी सबै मिलेर तिमीलाई सम्मान गर्छौं’ भन्ने प्रस्ताव राखे। उनीहरुको इज्जत राखेकोमा सिडिओले सम्मान पाउने भइन्।
जतिबेला उनी ती साथी सँगसँगै पढ्दै थिइन्, त्यति बेला उनका साथीको पढाइ राम्रै थियो। तर, समय बित्दै जाँदा उनीहरु महिनामा एक पटक हराउन थाले। पछि भेट हुँदा कोही फूपूको घर, कोही सानिमाको घर, कोही ठूली आमाको घर त कोही मामाको घर गएको बताउँथे।
यसरी महिनामा एकपटक कक्षामा गयल हुने उनीहरुको जीवन आज केलाउँदा कोही कहीँ गएका थिएनन्। उनीहरु महिनावारी भएकाले महिनामा एकपटक हराउँदा रहेछन्। महिनावारीमा किताब छोए पाप लाग्छ भन्ने डरको मनोविज्ञानका कारण उनीहरु मामा, फूपू, सानिमा, ठूलीआमा आदिको घर गएको अभिनय गर्दा रहेछन्। तसर्थ उनीहरुको राम्रो पढाइ, बिग्रँदै गयो।
‘स्कुलमा सँगै पढ्दा स्वतन्त्रतापूर्वक जीवन जिउने सपना देखेका थियौं। जुन दिन छुई भएर डरको मनोविज्ञानले उनीहरुलाई छाउगोठ पुर्यायो त्यही दिन उनीहरुको स्वतन्त्रताको सपनामा कालो बादल लाग्यो। परिणाम आज आफूलाई आवश्यक पर्ने सामान्य खर्चको लागि पनि परनिर्भर बन्नुपरेको छ’, उनले भनिन्, ‘त्यति बेला छुई गोठ छिरेर पढाइको प्रगतिमा ताला पट्केपछि उनीहरु आज कोही बच्चा स्याहार्दैछन्, कोही लोग्नेको भरमा जीवनको पैयाँ गुडाइरहेका छन्। थाहा छैन अरुको भरमा सधै गुडिरहने जिन्दगीका पैया कुन दिन कहाँ गएर ठक्कर खान्छन् र सधैको लागि उठ्न नसकिने गरि पछारिन्छ।’
आज उनलाई लाग्छ, ‘जिन्दगीको हिसाब यतिबेला भएको छ। सायद उनीहरु कक्षामा उपस्थित हुने दर महिनामहिनामा घट्दैनथ्यो भने पढाइ कमजोर हुँदैन थियो भने उनीहरुले पछाडि पर्नुपर्ने थिएन। उनीहरुको इज्जत आफूले जोगाइदिएको भनेर मलाई सम्मान गर्ने साथीलाई सम्झन्छु, पितृसत्ताको सोचले मलाई नि बाँकि नराख्न तम्सिने यो समय छ। आफ्नो इज्जत अरु कसैको प्रगतिले होइन आफ्नै प्रगतिले जोगाउनु पर्छ भन्ने कुरा बुझ्ने मौका नै पाएनन् सायद। हामीसँग अब त पश्चाताप मात्र बाँकि छ।’
उनी पहिलोपटक जुम्लामा आउँदा नेपालकै पहिलो महिला सिडियो भनेर पत्रपत्रिकामा खबर छापिएको थियो। यो महिलाको लागि खुशीको खबर बन्यो। तर, उनलाई लाग्छ सरकारी कर्मचारीको कुनै लिङ्ग हुँदैन। यद्यपि जैविक कुरालाई नकार्न कसले सक्छ र? आखिर उनी महिला त हुन्। हरेक महिनाको एकपटक छुई हुन्छिन्। भन्छिन् ‘जुम्लाले कला र संस्कृतिको खुब राम्रो जगेर्ना गरेको छ। धेरैजसो सांस्कृतिक उत्सव धर्मसँग जोडिएका छन्। ती सबै उत्सवमा पूजापाठ गर्दा सिडिओकाे भूमिकामा भएकाे हुनाले लगभग सबै पूजामा सहभागी हुनुपर्ने चलन रहेछ। म पनि हरेक महिनावारी हुन्छु। कतिपय उत्सवमा पूजापाठ गर्दा महिनावारीको संयोग पनि जुरेको छ। म निश्चिन्त भएर त्यसमा सहभागी भएको छु।’
कतिपयलाई थाहाँ नहुँदासम्म केही नहुने र थाहा पाउँदा भने स्वास्थ्य समस्या आउने, राति सपना नराम्रा देखिने, आँखा, दाँत दुख्नेलगायतका अन्य कुरा गरी छुई भएकी महिलालाई डर देखाइन्छ र छुई मान्ने चलनले गर्दा छुईगोठमा महिलाको मर्ने क्रम जारी छ।
दैलेखमा विगत २५ वर्षको अवधिमा १३ जना महिला छुई गोठमा मरे भने अछाममा १३ वर्षको अवधिमा १४ जना महिलाले ज्यान गुमाएका छन्। पछिल्लो दशकमा हरेक वर्ष एक वा दुई महिला छुईगोठमै बसेर मरेका घटना एकपछि अर्को आइरहेका छन्। सरकारी व्याख्या र कानुनअनुसार छुईप्रथा कुरीति र कुसंस्कार हो भने महिला हिंसाकै एक हिस्सा हो। यही समयमा छुईगोठमा बसेको बेला भोगिएका यौनजन्य हिंसा पनि कम भयानक छैनन्।
हरेक वर्ष जस्तो जब घटना घट्छन् तब छुईप्रथाको विषयमा विमर्श हुने र सेलाउने भइरहेको थियो। तर, यो वर्ष अछाम साँफेबगर नगरपालिका ३ कि पार्वती बुढा रावतको छुई गोठमा ज्यान गएपछि भने विमर्श त भयो नै, सरकार पनि एउटा निर्णयमा पुग्यो। यस सम्बन्धमा गृहमन्त्रालयले निर्देशन नै जारी गर्याे– छुईगोठ भत्काउनु तथा छुई मान्नेलाई सामाजिक सुरक्षा भत्ता रोक्नु।
छुईगोठ भत्काउन नमान्नेको प्रहरीले भत्काउने तथा भत्काउन लागेको खर्च समेत असुल उपर गर्नु भनी कडा निर्देशन दिन खाेजिएकाे थियाे। अहिले छुईगोठ भत्काउने एक अभियान नै चलेको छ। जसअन्तर्गत अछाममा दुई सातामा ११ सय बढी छुईगोठ भत्काइसकिएको छ भने सुर्खेतमा ३ सय तथा दैलेखमा दुई दिनमा ९३ छुईगोठ भत्किएका छन्।
यसले बहस अर्को कोणबाट सुरु भएकाे छ। छुईगोठ भत्काउनु पहिला डरको मनोविज्ञान भत्काउनुपर्ने विषयको उठान भएको छ। यस विषयमा गहिरिएर हेर्दा छुईगोठ महिनावारी व्यवस्थापनको एक उपाय मात्र हो। तर, अब महिनावारी व्यवस्थापनका अनेक उपाय आइसकेका छन्। यस हिसाबले अब छुई गोठको आवश्यकता छैन भनी बुझाउन सकिएको खण्डमा महिलाहरु आफै गोठमा बस्न छोड्नेछन्। सरकार यही विषयमा गम्भीर बन्न नसकेको देखिन्छ।
मानसिकताको परिवर्तन विना छुईगोठ भत्काएकोमा धेरैको चित्त बुझेको छैन। दैलेखमा जनप्रतिनिधि यो अभियानमा सहभागी छैनन् भने जुम्लामा सांसद गजेन्द्रबहादुर महतले मुखै खोलेका छन्। उनी यस विषयमा आक्रोशित हुँदै भन्छन्, ‘हिजो गोर्खाली सेनाले एकीकरणको नाममा कर्णालीका घर भत्काएका थिए भने आज छुईगोठका नाममा हाम्रा घर भत्किँदैछन्।’
कतिपय ठाउँमा घरसँगै जोडिएका छुईगोठ भत्काउँदा घरमा पनि क्षति पुग्न सक्ने खतरा हुन्छ। मानसिकता परिवर्तन नगरी गोठ भत्काउँदा महिला गाई, गोरु बसाल्ने गोठमा बस्नेछन्। जसले थप संक्रमणको समस्या आउन सक्ने देखिन्छ। त्यसैले छुईगोठ भत्काउने विषयमा थप विमर्श भएको छैन। यद्यपि महिलालाई गोठदेखि घरसम्म नल्याई सुखै छैन।
महिलामा गडिएकाे डरको मनोविज्ञानले अत्यधिक रक्तस्राव हुँदा, अरु शारीरिक अवस्थता हुँदा वा निन्द्राको समयमा नाराम्रो सपना देखिँदा र शरीर काम्दा छुइछाई गरेका कारण देउता रिसाएर भएको भन्ने चलन छ। तर, अब यो विशुद्ध रुपमा स्वास्थ्य समस्या हो र यसको उपचार सम्भव भएको कुरा स्वास्थ्य विज्ञानले प्रमाणित गरेको छ। यिनै कुरालाई बुझाउन नसक्दा महिनावारी चुनौतिको विषय बनेको छ। यस चुनौतिलाई चिर्न महिनावारीका सम्बन्धमा सिडिओको बुझाई, कानुनी व्यवस्था, छुईगोठ बस्दाका बेफाइदालगायत कुराका माध्यबाट मानसिकता परिवर्तन गर्नु उपयुक्त देखिन्छ। यसको जिम्मेवारी पदमा बसेकाले नै लिनुपर्छ।
प्रमुख जिल्ला अधिकारीले छुई भएको बेला पूजापाठ गर्दा, मन्दिर पस्दा केही हुँदैन भने अरु महिलालाई पनि केही हुन्न। यस्ता थुप्रै महिला छन् जो छुई भएको बेला घरमा बस्दा केही भएको छैन। ध्यान पुर्याउनुपर्ने विषय यही हो। हरेक महिलालाई यसरी नै प्रशिक्षित गर्नुपर्छ भने कतिपय अवस्थामा कडाई पनि जरुरी छ। जस्तो, छुई मान्नेलाई सामाजिक सुरक्षा भत्तादेखि अन्य सेवा सुविधा कटौती गर्ने, मुद्दा लगाउने, कारबाही गर्ने आदि। यसले छुई गोठ रहिरहे पनि महिला बस्न तयार हुने छैनन्।