उनले आफ्नो श्रीमानलाई ढंगले बोल्न समेत नआउने बताइन्। यसै कारण उनले पारपाचुकेका लागि निवेदन दिएको स्पष्ट पारिन्।
भारतको बिहार राज्यमा गत बिहीबार एउटा रोचक घटनाले महिला आयोगका कर्मचारी पनि अवाक बने। २० वर्षीय एक युवती आफ्नो श्रीमानको बानीबाट यति आजित भएकी रहेछिन्, उनी पारपाचुकेको निवेदन नै बोकेर महिला आयोग पुगिन्।
ती युवतीको कुरा सुनेपछि आयोगले श्रीमान–श्रीमतिको सम्बन्ध सुल्झाउन श्रीमानलाई २ महिनाकाे समय दिएकाे छ।
महिला आयोगकी सदस्य प्रतिमा सिन्हाले भनिन्, ‘डिभोर्सको यो विचित्रको घटना हो। महिलाको पक्ष सुनेपछि हामीले लोग्ने–स्वास्नीलाई एउटा मौका दिएका छौं। हाम्रो भनाई छ लोग्नेले आफ्नो नराम्रो बानी सुधार गर्नुपर्याे, महिलाले श्रीमानलाई स्विकार गर्नुपर्याे।’
बिहीबार वैशाली जिल्लाको देसरीस्थित नयाँ गाउँमा बसोबास गर्ने सोनी देवी नाम गरेकी युवती महिला आयोग पुगेकी हुन्। उनले आफ्नो विवाह वैशालीमै बस्ने २३ वर्षीय मनिष राम नाम गरेका युवासँग सन् २०१७ मा भएको बताइन्। उनले विवाह अगाडि मनिषसँग आफ्नो भेट नभएको र कुराकानी पनि नगरेको स्पष्ट पारिन्। उनले विवाहको मण्डपमा मात्र श्रीमानलाई देखेको बताइन्।
विवाहपछि विदा भएर श्रीमानको घर पुग्दा मात्र उनलाई थाहा भयो, मनिष नुहाउँदा पनि ननुहाउने र ब्रश पनि नगर्ने रहेछन्। यसका कारण उनको शरीर र मुख गन्हाउँने गरेको उनले बताइन्।
धेरै नै किचकिच गरेपछि सुरुका वर्ष श्रीमानले १० दिनमा एकपल्ट नुहाउन थालेको बताइन्। उनले श्रीमानको यही बानीका कारण लोग्ने–स्वास्नीबीचको सम्बन्ध पनि स्थापित हुन नसकेको उल्लेख गरिन्।
उनले आफ्नो श्रीमानलाई ढंगले बोल्न समेत नआउने बताइन्। यसै कारण उनले पारपाचुकेका लागि निवेदन दिएको स्पष्ट पारिन्।
महिला आयोगले उनको श्रीमानलाई बोलाएर आफ्नो बानी सुधार गर्न र नियमित रूपमा नुहाउने र ब्रश गर्ने कामलाई अगाडि बढाउन सुझाव दिएको छ।