पावर ब्राण्ड भएका कम्पनीले ब्राण्ड स्टोरी भन्न जरूरी छ: प्रा.डा. कोइराला (भिडियाेसहित)

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डाक्टर कुन्दनदत्त कोइरालाले नेपालका हरेक पावर ब्राण्ड भएका कम्पनीले आफ्नो कथा बाहिर ल्याउनु जरूरी भएको बताएका छन्।

बिएल ब्राण्ड स्टोरीसँग कुरा गर्दै कोइरालाले हरेक कम्पनीले आफ्नो ब्राण्ड कसरी जन्मियो, कसरी विकास भयो र यसका उतारचढावबारे उपभोक्तालाई भन्नु जरूरी रहेको बताए।

‘ब्राण्ड स्टोरीले उपभोक्तालाई पनि फाइदा दिन्छ। अझ त्योभन्दा बढी कम्पनीलाई फाइदा हुन्छ,’ उनले भने, ‘त्यसैले नेपालका हरेका पावर ब्राण्ड भएका कम्पनीले आफ्नो कथा बाहिर ल्याउनु जरूरी छ।’

मुख्यतया ब्राण्डले आफ्ना उपभोक्तासँग कनेक्ट गर्न सक्नुपर्ने भन्दै उनले उपभोक्ताले ब्राण्डबारे जानकारी राखिसकेपछि त्यसको इमेज सिर्जना गर्छ। त्यसपछि त्यसमा ब्राण्डको व्यक्तित्व थप्छ। त्यसपछि यसैअनुसार उपभोक्ताको साइडबाट यसमा फिलिङ निर्णयको विकास गर्दै जाने र अल्टिमेट्ली ब्राण्डले एउटा उपभोक्तासँग यस्तो सम्बन्ध राख्छ जुन सम्बन्ध लामो समयसम्म रहिरहने दाबी गरे।

‘जब एउटा ब्राण्ड जन्मिन्छ, एउटा बालकजस्तै हुन्छ। यसलाई क्रमशः हुर्काउँदै, बढाउँदै लैजानुपर्छ’, उनले भने, ‘ब्राण्ड वनरले यसको परिचय गराउँछ र बजारमा यसलाई फैलाउँछ। क्रमशः यसका विशेषता र फाइदा उपभोक्तामाझ सेयर गर्छ।’

‘आफ्नो ब्राण्ड हुर्किँदै जान्छ। जब ब्राण्ड पूरा रूपमा हुर्किन्छ। त्यसले बजारमा आफ्नो परिचयको साथसाथै आफ्नो सही स्थान पनि ग्रहण गर्छ। यही नै ब्राण्ड स्टोरी हो’, उनले भने।

एक दिनमा ब्राण्ड डेभलभ नहुने भन्दै  उनले त्यसका लागि समय लाग्ने बताए। उनले हामीले सही सोच र ब्राण्डलाई सपोर्ट दिने मात्र काम गर्नुपर्ने बताए।

‘जब कम्पनीले ब्राण्ड स्टोरी उपभोक्तामा लैजान्छ, उपभोक्ताले ब्राण्डको इतिहास थाहा पाउँछन् र त्यसप्रति विश्वास जगाउँछन्।

यदि ब्राण्डको विकास भयो र ब्राण्ड पावरफुल भएर गयो भने मार्केटिङको अरू काम सरल हुँदै जान्छन्’, उनले भने।

बिएल मिडियाले बजारमा एउटा नयाँ कार्यक्रम ल्याएको भन्दै उनले यसबाट कम्पनी, समाज र सर्वसाधारण उपभोक्ता सबैले लाभ लिनसक्ने बताए।

प्रकाशित मिति: : 2020-01-13 01:52:00

प्रतिकृया दिनुहोस्