घरवासमा लोभिदै कोरियन

दक्षिण कोरियाको ‘हानशिन’ विश्वविद्यालयका २४ स्वयंसेवी विद्यार्थीले भकुण्डेको अतिथि सत्कार घरवासमा बिताए। यहाँको सत्कार, संस्कृति र खानपानमा औधि रमाए। शनिबार सबेरै मुलाबारीको दृश्यावलोकन स्तम्भ पुगे। सेताम्मे हिमाल हेरे, आफूलाई भुलाए। जनजाति सङ्ग्रहालय घुमे, दिउसो पैदलै सदरमुकाम फर्के।

तीन घण्टाको पदयात्रापछि शुक्रबार साँझ उनीहरु बागलुङ नगरपालिका–१० स्थित पर्यटकीय गाउँ भकुण्डे पुगेका थिए।  विश्वविद्यालयका प्राध्यापक ‘किम कि जुङ्ग’  भकुण्डे तेस्रोपटक पुगे। बागलुङ आउँदा भकुण्डे नपुगे उनको यात्रा अधुरो हुन्छ। प्रा जुङ्गको नेतृत्वमा आएका विद्यार्थीले यो हप्ता यहाँ खुशीले बिताए।

टोली घरवास ‘होमस्टे’ पुरा गरी शनिबारै पोखरा फर्कियो। ‘भकुण्डे घुम्न पाउँदा रमाइलो लाग्छ, हामी खुशी छौँ’, प्रा जुङ्गले भने, ‘अर्को वर्ष पनि आउने योजना बनिसकेको छ।’ सो विश्वविद्यालयले विगत सात वर्षदेखि आफ्ना विद्यार्थीलाई स्वयंसेवाका लागि बागलुङ पठाउँदै आएको छ।

स्थानीय केवी शाहीले कोरियन विद्यार्थी, स्वयंसेवक र पर्यटकलाई बागलुङयात्राका क्रममा व्यवस्थापन तथा समन्वयको काम गर्दै आएका छन्।  उनी लामो समय कोरियामा बसेर १२ वर्षअघि नेपाल फर्किएका हुन्। ‘कोरियाबाट वर्षेनी स्वयंसेवी विद्यार्थी आउनहुन्छ’, उनले भने, ‘सधैं उहाँहरु भकुण्डे जानुहुन्छ, त्यहाँको घरवासमा रमाउनुहुन्छ।’

उनका अनुसार कोरियन विद्यार्थी तथा पर्यटक पदयात्रा, स्थानीय परिकार र संस्कृतिमा रमाउन चाहन्छन्। विद्यार्थीबाहेक घुमन्ते पर्यटकलाई पनि उनले भकुण्डे पुर्‍याउछन्। पहिले पोखरा र अन्य चल्तीका पर्यटकीयस्थल पुग्ने कोरियनहरु विस्तारै बागलुङतर्फ आकर्षित हुन थालेको छन्।

कोरियन पाहुनाहरु सजिलो र खर्चिलो पनि हुने घरवासका सञ्चालक मुना थापामगरले सुनाइन्। ‘स्थानीय खानाका परिकार बढी मन पराउनुहुन्छ, पैसा पनि सजिलै तिर्नुहुन्छ’, उनले भनिन्। कोरियन विद्यार्थी र स्वयंसेवी समूह नियमित आउन थालेपछि भकुण्डेले थप प्रचार पाएको घरवास सञ्चालकको अनुभव छ।

 २४ कोरियन र चार नेपाली पाहुना चार घरवासमा बाँडिएर बसेका थिए। भकुण्डेका नौ घरमा घरवास सेवा सञ्चालित छ। विसं २०६८ देखि भकुण्डेमा घरवास शुरु भएको हो। दैनिक १०० जति पर्यटक राख्ने क्षमता घरवासमा छ। पर्यटकलाई पारिवारिक वातावरणमा बसोबास र स्थानीय परिकार उपलब्ध गराइन्छ।

यसपटक कोरियाबाट आएका विद्यार्थीले नेपाल भ्रमण वर्षको सन्देशसमेत लिएर जाने समन्वयकर्ता शाहीले बताए। ‘विद्यार्थीलाई भ्रमण वर्षको प्रवद्र्धनमा पनि सहयोग गर्न अनुरोध गरेका छौँ’, उनले भने, ‘सन् २०२० मा नेपाल घुम्न जाने सन्देश लिएर उहाँहरु आफ्नो देश फर्कनुहुनेछ।’

भ्रमण वर्षकै स्वागत र प्रचारका लागि कोरियन विद्यार्थीले गत सोमबार बागलुङ महोत्सवमा साङ्गीतिक प्रस्तुतिसमेत राखेका थिए। विश्व प्रसिद्ध ‘के–पप’ नाचमार्फत नेपाल भ्रमण वर्ष सफलताको कामना गरेका थिए। बागलुङ रहँदा उनीहरुले स्थानीय ‘होली चाइल्ड’ विद्यालयमा कोरियाको संस्कृति झल्कने कार्यक्रम प्रस्तुत गरे।

‘नेपाली विद्यार्थीलाई चित्रकला, खेलकूद, सङ्गीत र कोरियन भाषासम्बन्धी ज्ञान तथा सीप सिकाउन कोरियनहरु यहाँ आउँछन्’, समन्वयकर्ता शाहीले भने। सरसफाइलगायत सामाजिक जागरणका क्रियाकलापमा पनि उनीहरु सहभागी हुन्छन्। कोरिया र नेपालको संस्कृति आदान–प्रदानमासमेत कोरियनले भूमिका खेल्छन्।

नेपाल आउँदा सिकेको कला र संस्कृतिलाई कोरियामा लगेर आफ्नो समुदायमा प्रदर्शन गर्छन्। दूतावास, विश्वविद्यालय, नेपाल–कोरियामैत्री संस्था र अन्य सरकारी संयन्त्रमार्फत कोरियन विद्यार्थी अध्ययन भ्रमणमा वर्षेनी नेपाल आउँछन्। बागलुङपछि त्रिभुवन विश्वविद्यालयमा दुईदिने गोष्ठीमा भाग लिएर उनीहरु स्वेदश फर्कनेछन्।

कोरियनको बागलुङ आउजाउ बढ्न थालेपछि बागलुङ नगरपालिका र कोरियाको नगरपालिकाबीच मितेरी साइनो गाँस्न पहल अगाडि बढाइएको छ। नगरपालिकाले शाहीलाई नै उक्त कार्यका लागि समन्वयकर्ताको रूपमा नियुक्त गरेको छ। कोरियाका नागरिकले यहाँका विद्यालय, अस्पताललगायत सार्वजनिक सेवाका क्षेत्रमा आर्थिक, भौतिक सहायता दिँदै आएका छन्।

प्रकाशित मिति: : 2020-01-12 22:49:21

प्रतिकृया दिनुहोस्