‘भिजिट मधेशबिना भिजिट नेपाल अपुरो’ हुने!

भारतबाहेक अन्य देशबाट नेपाल आएका विदेशी पर्यटकको एक तिहाईलाई मधेश भ्रमण गराउने उद्देश्यका साथ ‘भिजिट मधेश नेपाल–२०२०’ घोषणा गरिएको छ।

विगत २ वर्षदेखि सञ्चालनमा रहेको उक्त अभियानलाई आयोजकले यो वर्ष पनि निरन्तरता दिएको छ ।

मंगलबार राजधानीमा आयोजित एक कार्यक्रम बिच यो वर्ष कम्तिमा पनि नेपाल भ्रमणमा आएका विदेशी पर्यटकहरुको एक तिहाई (भारतबाहेक) लाई मधेश भ्रमण गराउने उद्देश्य लिएको सुनाएको छ।

सोही लक्ष्य बोकेर डिजिटल प्लाटफर्म पनि सार्वजनिक गरिएको छ। आयोजकले सार्वजनिक गरेको प्लेटफर्मममा ‘भिजिट मधेश डटकम’ र भिजिट मधेश नामक मोवाईल एप छन् ।

‘भिजट मधेश बिना भिजिट नेपाल अपुरो’ हुने आयोजको विश्वास छ। आयोजक संस्थाले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘ ‘Visit nepal Is not Complete without Visit Madhesh’ हाम्रो भिजिट मधेस नेपालको मुल नारा रहेको छ। तराई मधेसको फरक हावापानी, पर्यावरण, ऐतिहासिक, पुरातात्त्विक,धार्मिक एवं प्राकृतिक सम्पदा र धरोहरहरुले पर्यटकहरुलाई झन आकर्षित गर्न मद्दत गर्ने छ। तराई मधेसमा रहेका प्रचुर सम्भावना बोकेका गन्तव्यहरुको प्रवर्द्धन एवं संरक्षण गर्न सकियो भने नेपालको पर्यटन क्षेत्रमा थप ठूलो क्रान्ति हुन सक्छ। पर्यटकहरुको नेपाल बसाईको अवधि समेत बढन सक्ने सकारात्मक अवस्था सृजना हुने सम्भावना छ।’

तराई मधेसको २२ वटै जिल्लालाई जोड्दै पर्यटनमैत्री वातावरण निर्माण गर्ने  ‘भिजिट मधेस नेपाल’ अभियान नागरिकस्तरबाट बिगत २ वर्षदेखि जारी रहेको आयोजकले जनाएको छ । विज्ञप्तिमा थप भनिएको छ, ‘यसले नेपालभित्र रहेका तराई–मधेसका पर्यटकीय गन्तव्य, संस्कृति, खानपान, रहनसहन, भेषभुषा एवं बिशेषताहरुलाई विभिन्न किसिमको कार्यक्रम सञ्चालन गरि राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा प्रर्वद्धन एवं चिनाउदै अगाडि बढिरहेको छ।

 यो अभियानको लागि तराई मधेसको २२ वटै  जिल्लामा जिल्ला, प्रदेश एवं राष्ट्रियस्तरको टिम स्वयंसेवकको रुपमा पर्यटनमैत्री वातावरण निर्माणमा लागेका छन्। साथै टिमहरुले आफ्नो जिल्ला, गाउँ–ठाउँका पर्यटकीय गन्तव्यहरुको बारेमा अध्ययन तथा अनुसन्धान र प्रचारप्रसार गर्ने कामहरू गरिरहेका छन् ।’

आयोजकका अनुसार  अहिलेसम्म १२ वटा अन्य देशहरुमा पनि ग्लोबल रुपमा टिमहरु प्रवर्द्धनमा लागेका छन्।

आन्तरिक एवं बाह्य पर्यटकहरुको सुबिधाको लागि भिजिट मधेसको डिजिटल प्लेटफर्म (वेबसाईट visitmadhesh.com एवं visitmadhesh को मोबाइल एप्स पनि तयार गरिएको र सो डिजिटल प्लेटफर्मबाट सेवाहरु बुकिङ, खरिद र बिक्री गर्नसक्ने अत्याधुनिक सुबिधा रहेको आयोजकको भनाई छ ।

विकास र समृद्धिमा पर्यटन क्षेत्रले ठूलो योगदान पुर्‍याउँदै आएकोले पर्यटनको विकासले कुल ग्राहस्थ उत्पादनमा पनि अप्रत्याशित बढोत्तरी गर्नसक्ने र रोजगारको अवसरहरु सृजना गर्न कोशेडुङा साबित हुने आयोजकको विश्वास छ।

विज्ञप्तिमा थप भनिएको छ, ‘पर्यटन प्रर्वद्धनले सामाजिक चेतना विकास, सरसफाइ (पर्यावरण स्वक्षतामा सकारात्मक प्रभाव तथा स्थानीय पहिचान, कला, संस्कृतिको जगेर्ना र संरक्षण हुने, स्थानीय उत्पादन, हस्तकलाले बजार पाउने सम्भावनाहरु बढदै जान्छ। यो अभियानको ग्लोबल कोर्डिनेटर प्रमोद राज सरार्फ हुनुहुन्छ भने नेसनल कोअर्डिनेटरको रुपमा ओमप्रकाश सरार्फले नेतृत्व गर्नुभएको छ । र, कल्चरल एम्बेस्डरको रुपमा गायक रविराज साह हुनुहुन्छ ।’

उक्त अभियानले पर्यटकीय स्थलको सरसफाइ, सरोकारवालासंग गाउँ र सहरमा अन्तरक्रिया, जनजागरण कार्यक्रम र पर्यटकिय गतिविधि तथा गन्तव्यहरुको प्रचारप्रसार एवं प्रर्वद्धन गर्दै आइरहेको छ।        

कार्यक्रममा भिजिट मधेश नेपालका राष्ट्रिय संयोजक ओमप्रकाश सर्राफले तराई/मधेशको पर्यटन प्रर्वद्धनबिना समग्र नेपालको पर्यटन क्षेत्रको विकास  र समृद्धि असम्भव रहेको बताएका छन्।

उनले भने, ‘मधेशको पर्यटन विकासबिना समग्र देशको पर्यटनको विकासको कल्पनासमेत गर्न सकिँदैन् । त्यसैले मधेशको पर्यटन विकास र समृद्धिलाई पनि नेपाल सरकार र यसका जिम्मेवार निकायहरुले प्राथमिकताका साथ विशेष महत्व दिएर कार्यक्रमहरु ल्याएर अघि बढाउनुपर्छ ।’

राजनीतिलगायत अन्य क्षेत्रमा जसरी तराई÷मधेशमा विभेद भएको छ त्यसैगरि पर्यटनको क्षेत्रमा पनि विभेद गरिएको उनको गुनासो छ । ‘राज्यबाट पर्यटन क्षेत्रमा पनि विभेद भएको छ । यस्तो विभेद नगरियोस।’–उनले थपे ।

उनले नागरिकस्तरबाट आफूहरु मधेशको पर्यटनलाई माथि उठाउन लागिपरेको सुनाए । ‘हामी यो अभियानमार्फत राज्यलाई जिम्मेवार बनाउँछौं । सरोकारवाला निकायहरुलाई झकझकाउँछौं । गाउँदेखि शहरसम्म पर्यटनमैत्री वातावरण बनाउन अन्तरक्रिया तथा जनजागरण कार्यक्रम जारी राख्छौं । हाम्रो अभियानलाई सफल तुल्याउँछौं । यसमा सबैले साथ र सहयोग गर्नुपर्छ ।’

कार्यक्रममा भिजिट मधेश नेपालका ग्लोबल कोअर्डिनेटर प्रमोद राज सर्राफले प्रविधिलाई भरपुर उपयोग गरेर भिजिट मधेश नेपाल अभियानलाई अघि बढाएको स्पष्ट पारे । उनले भने,‘आजको युग २१औं शताब्दीको युग भएकोले यो शताब्दी भनेको प्रविधिको युग हो । प्रविधिको उपयोग गरेर हामीले कुनैपनि क्षेत्रको विकास, उत्थान, गर्न सक्छौं । थोरै समय खर्चिएर चाँडै काम सम्पन्न गर्न सक्छौं ।’

तराई/मधेशमा पर्यटनको सम्भावना प्रवल रहेको उनले सम्भाव्यता सुनाए । उनले भने,‘तराई मधेशमा पर्यटनको प्रचुर सम्भावना छ । यसको विकास र उत्थान गर्नु आजको आवश्यकत्ता हो । यो आवश्यकत्तालाई हामीले बुझेर पनि उचित प्लाटफर्म नभएको कारण अगाडि ल्याउन सकिएन। यही सत्यता भिजिट नेपालमा पनि लागू हुन्छ । हामीले विगत दुई वर्षदेखि तराई/मधेशका २२ जिल्लामा स्वयमसेवक परिचालन गरेर प्रचारप्रसार गरिरहेका छौं । यो अभियान निकै लोकप्रिय समेत भएको छ । आधुनिक प्रविधिको भरपुर उपयोग गरेर मधेशमा पनि घुम्ने ठाउँ प्रशस्त छन्, ती पर्यटकीयस्थलहरुको बारेमा प्रर्वद्धन गर्ने हाम्रो उद्देश्य हो ।’

उनले तराई/मधेशका हरेक जिल्लामा हरेक विधाका पर्यटकीय महत्व बोकेका स्थानहरु रहेको पनि सुनाए । ‘ती पर्यटकीय क्षेत्रहरुको विकास र समृद्धिबाट  राष्ट्रिय पर्यटनको क्षेत्रमा समेत काँधमा काँध मिलाएर देशको आयलाई एक तिहाई योगदान बढाउन सक्छ । हामी यो अभियानमा लागिपरहेका छौं । आशा छ, हामी सफल हुन्छौं ।’

उनले भिजिट मधेश नेपाललाई आफूहरुले ‘डिजिटल मिरर अफ मधेश’ को रुपमा समेत चित्रण गरेको स्पष्ट पारे । ‘जसले हाम्रो त्यो क्षेत्रमा गतिविधि र वातावरण चलायमान बनाउँछ । यो अभियानले तराई मधेशमा ईन्भेष्ट ईन मधेश फर टुरिजमलगायतका केही अभियानपनि चलाईनेछ ।’–उनले थपे ।

उनले उक्त ईन्भेष्ट ईन मधेश फर एक्सपोर्ट भनेर पनि अभियान चलाउने बताए । उनले भने,‘यो अभियानअन्तर्गत एक्सपोर्ट फर नेपालमा पनि मधेशले एक तिहाई योगदान गर्न सक्छ । हामी यही तवरले पनि अघि बढिरहेका छौं । डिजिटल प्रविधि चाहनामात्रै होईन अब आवश्यकता भैसकेको छ । जसले हामीलाई २१ औं शताब्दीमा चिनिन मद्दत गर्नेछ । समृद्ध नेपालको सपना साकार पार्न पनि यो अभियानले टेवा पुग्नेछ ।’

विगत २० वर्षयता पहाड र हिमालमा जसरी पर्यटनको विकास भएको छ त्यो रफ्तारमा तराई मधेशको पर्यटनको विकास नभएको उनको गुनासो छ । उनले भने,‘जुन जुन क्षेत्रमा गत २० वर्षमा पहाड र हिमालमा पर्यटनको विकास भएका छन्, हामीले तराई मधेशमा पनि ती क्षेत्र अनुशरण गर्ने उद्देश्य राखेका छौं ।’ उक्त  अभियानसँगै भिजिट मधेश नेपाल–२०२० एण्ड बियोण्ड सुरु भएको सर्राफको भनाई छ । उनले भने,‘हामीले भिजिट नेपाल–१९९८, भिटिट नेपाल–२०११ र भिजिट नेपाल–२०२० पनि कुर्यौं । अब भने भिजिट मधेश नेपाल २०२० एण्ड बियोण्ड सुरु भैसक्यो ।’

कार्यक्रममा भिजिट मधेश नेपालका सांस्कृतिक दूत समेत रहेका गायक रविराज साहले गाएको मधेशको पर्यटनसम्बन्धी ‘भिजिट मधेश नेपाल’ को गीत पनि सार्वजनिक गरिएको छ । लोकस्टार साहले ‘संस्कार जहाँके अतिथि देवोः भवः’ बोलको गीत सार्वजनिक गरेका हुन।

त्यस्तै उनले ‘भिजिट मधेश, घुमी मधेश, देखी मधेश’ को पनि उद्घोष गरेका छन् । उक्त गीतका रचनाकार भने आनन्द अस्तित्व हुन् । कार्यक्रममा मधेशी पत्रकार समाजका अध्यक्ष मोहन सिंहले उक्त अभियानलाई शुभकामना दिएका थिए ।

त्यस्तै, कार्यक्रममा अभियानका सरसफाई दूत बैद्यनाथ साहले पुरै तराई मधेशमा सरसफाई अभियान सञ्चालन गर्दै आएको सुनाए । र, आगामी दिनमा यो अभियानलाई निरन्तरता दिईरहने पनि विश्वास दिलाए । कार्यक्रममा अभियानका काठमाडौं आधारित टिमकी संयोजक सुनिता रौनियारको पनि सहभागिता रहेको थियो ।

अभियानले भिजिट मधेश नेपाल २०२० अन्तर्गत जनवरीमा अघि सारेका कार्यक्रममा

जनवरी ७ अर्थात् पुस २२ गते काठमाडौंमा अभियानको बारेमा पत्रकार सम्मेलन

जनवरी ८ अर्थात् पुस २४ पर्सामा अन्तरक्रिया, जनचेतनामूलक कार्यक्रम र साईटसिईङ भिजिट

जनवरी १० अर्थात् पुस २५ गते बारामा अन्तरक्रिया, जनचेतनामूलक कार्यक्रम र साईटसिईङ भिजिट

जनवरी ११ अर्थात पुस २६ गते रौतहट र सर्लाहीमा अन्तरक्रिया, जनचेतनामूलक कार्यक्रम र साईटसिईङ भिजिट

जनवरी १२ अर्थात् पुस २७ गते धनुषा र महोत्तरीमा अन्तरक्रिया, जनचेतनामूलक कार्यक्रम र साईटसिईङ भिजिट

जनवरी १३ अर्थात पुस २८ गते सिरहामा अन्तरक्रिया, जनचेतनामूलक कार्यक्रम र साईटसिईङ भिजिट

जनवरी १४ अर्थात पुष २९ गते सप्तरीमा अन्तरक्रिया, जनचेतनामूलक कार्यक्रम र साईटसिईङ भिजिट

जनवरी १५ अर्थात माघ १ गते सुनसरीमा भेटवार्ता, जनचेतनामूलक कार्यक्रम र साईटसिईङ भिजिट

 जनवरी १६ अर्थात माघ २ गते मोरङमा भेटवार्ता, जनचेतनामूलक कार्यक्रम र साईटसिईङ भिजिट

जनवरी १७ अर्थात माघ ३ गते झापा, मोरङ र सुनसरीमा अन्तरक्रिया, जनचेतनामूलक कार्यक्रम र साईटसिईङ भिजिट

जनवरी १९ अर्थात माघ ५ गते मकवानपुर, चितवन र पूर्वी नवलपरासीमा अन्तरक्रिया, जनचेतनामूलक कार्यक्रम र साईटसिईङ भिजिट

जनवरी २० अर्थात माघ ६ गते नवलपरासी र रुपन्देहीमा अन्तरक्रिया, जनचेतनामूलक कार्यक्रम र साईटसिईङ भिजिट

जनवरी २१ अर्थात माघ ७ गते कपिलवस्तु र दाङमा अन्तरक्रिया, जनचेतनामूलक कार्यक्रम र साईटसिईङ भिजिट

जनवरी २२ अर्थात माघ ८ गते बाँके र बर्दियामा अन्तरक्रिया, जनचेतनामूलक कार्यक्रम र साईटसिईङ भिजिट र

जनवरी २३ अर्थात माघ ९ गते कन्चनपुर र कैलालीमा अन्तरक्रिया, जनचेतनामूलक कार्यक्रम र साईटसिईङ भिजिट गर्ने कार्यक्रम राखिएको अभियानका राष्ट्रिय संयोजक ओम प्रकाश सर्राफले जानकारी दिए।

प्रकाशित मिति: : 2020-01-08 06:55:58

प्रतिकृया दिनुहोस्