राष्ट्रियसभा निर्वाचन: प्रदेश २ मा कांग्रेस र समाजवादीबीच तालमेल

राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेस र समाजवादी पार्टीबीच तालमेल गर्ने समझदारी भएको छ। शुक्रबार कांग्रेसका सभापति शेरबहादुर देउवा र समाजवादी अध्यक्ष उपेन्द्र यादवबीच प्रदेश २ मा हुने राष्ट्रिय सभा निर्वाचनको ४ पदमा एक आर्कालाई सहयोग गर्ने सहमति भएको हो।

कांग्रेसले बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकबाट निर्वाचनमा विभिन्न राजनीतिक दलहरुसँग आवश्यक सहकार्य र तालमेलका लागि पहल गर्ने निर्णय गरेको थियो। सोहि निर्णयअनुसार समाजवादीसँग कांग्रेसले तालमेल गरेको हो।

कांग्रेसले महिला र अल्पसंख्यकमा उम्मेदवारी दिने भएको छ भने समाजवादीले दलित र अन्य पदमा उम्मेदवारी छ। अन्य प्रदेशमा भने कांग्रेस र समाजवादीबीच तालमेल हुने छैन।

स्रोतका अनुसार प्रदेश नम्बर १ बाट कांग्रेसले महिला उम्मेवारमा मिना पुलामी मगर (धरान), दलित उमेदवारमा निरकुमार विश्वकर्मा (पाँचथर) र अन्यबाट राजेन्द्र घिमिरे (झापा) लाई उमेदवार बनाउने अन्तिम तयारी गरिसकेको छ ।

समाजवादी पार्टीसँगको छलफलपछि अन्य प्रदेशका उम्मेवारको टुंगो लगाएर नाम सार्वजनिक गरिने स्रोतको भनाइ छ। 

स्मरण रहोस् कि राष्ट्रियसभाका एक तिहाइ सदस्यको कार्यकाल आगामी फागुनमा सकिँदैछ। जसमा सत्तारुढ नेकपाका ८, कांग्रेसका ७, राजपाका २, समाजवादीका १ र एक जना राष्ट्रपतिबाट मनोनित (अर्थमन्त्री युवराज खतिवडा) को कार्यकाल समाप्त हुँदैछ। राष्ट्रियसभाको उम्मेदवारी मनोनयन पुस २० गते र चुनाव माघ ९ गतेलाई तय गरिएको छ।

निर्वाचनका लागि आगामी आइतबार उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ।  निर्वाचन आयोगका अनुसार, विहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता हुने कार्यक्रम छ।

उक्त निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित प्रदेशको उच्च अदालत रहेका जिल्लामा स्थापना भैसकेको छ। उम्मेदवारले मनोनयनपत्र दर्ताका लागि नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, मतदाता नामावलीको उतार, धरौटी जम्मा गरेको नगदी रसिद वा बैंक भौचर पेश गर्नुपर्ने आयोगले जनाएको छ। महिला, दलित वा अल्पङ्ख्यक समुदाय वा आर्थिकरुपले विपन्न उम्मेदवारको हकमा सो धरौटी रकममा ५० प्रतिशत छुट हुनेछ।
 

प्रकाशित मिति: : 2020-01-04 09:34:15

प्रतिकृया दिनुहोस्