अर्थ मन्त्रालयका उपसचिवविरुद्ध साढे ४ करोडको भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्थ मन्त्रालयका उपसचिव राजेन्द्र ढुङ्गानाविरुद्ध मुद्दा दायर गरेको छ।  सार्वजनिक सेवाको पदमा बहाल रहँदा गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्दै चार करोड अठसठ्ठी लाख अठचालीस हजार पाँच सय रुपैयाँ  कायम गरि शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो। 

२०४९ साउन १९ गते सरकारी सेवामा प्रवेश गरेका उनले २०७५ असार ३२ गतेसम्ममा ४ करोड ६८ लाख ४८ हजार ५ सय ५६ रुपैयाँ ४५ पैसा भ्रष्टाचार गरेको अख्तियारको दावी छ। जागिर अवधिमा उनको वैध आय ७९ लाख ५४ हजार ७ सय ९५ रुपैयाँ ८ पैैसा हुनेमा उनको खर्च तथा लगानी ५ करोड ४८ लाख ३ हजार ३ सय ५१ रुपैयाँ ५३ पैसा देखिएको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए।

यस आधारमा उनको खर्च र लगानीमध्ये ४ करोड ६८ लाख ४८ हजार ५ सय ५६ रुपैयाँ ४५ पैसाको स्रोत खुल्न नआएकाले गैरकानूनी देखिएको अख्तियारको भनाइ छ। ढुंगानाले अवैध आर्जनबाट श्रीमती मधु कोइराला ढुंगानाको नाममा सम्पत्ति आर्जन गरेको देखिएकाले श्रीमतीविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ।

अख्तियारले ४ करोड ६८ लाख ४८ हजार ५ सय ५६ रुपैयाँ ४५ पैसा विगो कायम गरी साविक भ्रष्टाचार निवारण ऐन २०१७ को दफा ३ तथा दफा २९ (२), भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० (२) बमोजिम जरिवाना र कैद माग दावी गरेको छ। त्यस्तै गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति जफत गर्न पनि माग गरेको छ।
 

प्रकाशित मिति: : 2020-01-04 04:30:23

प्रतिकृया दिनुहोस्