गायिका अनुराधा पौडवाल आमा भएको दावी गर्दै अदालतमा मुद्धा

एजेन्सी

काठमाडाैं
करमाला र अनुराधा पाैडवाल।

तिरुवनंतपुरम (केरल) मा बसोबास गर्ने ४५ वर्षीय एक युवती करमाला मोडेक्सले बलिउडकी चर्चित गायिका अनुराधा पौडवाल आफ्नो आमा भएको दावी गरेकी छिन्। 

उनले जिल्ला अदालतमा ६७ वर्षीय गायिकाविरूद्ध मुद्धा दर्ता गर्दै ५० करोड क्षतिपूर्ति समेत माग गरेकी छिन्। 

करमालाले आफू ४ दिनको हुँदा अनुराधाले छोडेको दावी गरेकी छिन्। उनले आफूलाई पालनपोषण गर्न पोनाचन र अगनेसलाई सुम्पिएको बताइन्। 

आफूलाई छोड्दा अनुराधाको करिअर चुलीमा रहेको र उनी आफ्नो पालनपोषण गर्न अनिच्छुक रहेको करमालाले दावी गरिन्।

करमालाका वकिल अनिल प्रसादले सानोमा आमासँग बस्न पाउनु पर्ने अधिकारबाट बञ्चित गरिएको बताए। वकिल अनिलले अदालतमा अनुराधाले करमालालाई छोरी मान्न अस्विकार गरे डिएनए टेस्टका लागि अपील गरिने बताए। 

पद्मश्री र राष्ट्रिय अवार्डबाट सम्मानित अनुराधा विगत ४ दशकदेखि बलिउडको गीत र भजनमार्फत सबैसँग जोडिएकी छिन्। उनले संगीत कम्पोजर अरुण पौडवालसँग विवाह गरेकी थिइन, जसबाट दुई सन्तान आदित्य र कविता छन्। 

करमालाले इन्डियन एक्सप्रेसलाई दिएको अन्तर्वार्तामा भनेकी छिन्, ‘५ वर्षअगाडि मलाई पालेका बुवाले मर्नुअघि सत्यतथ्य बताएका थिए। उहाँले मेरो बायोलोजिकल आमा अनुराधा पौडवाल भएको बताउनु भयो। मलाई छोड्दा मेरो उमेर ४ दिनको मात्र थियो रे।’

उनले पोनाचनसँगको संसर्गमा आफू जन्मिएको पनि बताइन्। ‘पोनाचन आर्मीमा हुँदा महाराष्ट्रमा कार्यरत थिए। उहाँ अनुराधाको साथी हुनुहुन्थ्यो। पछि मात्र उहाँको ट्रान्सफर केरलमा भएको हो,’ उनले भनिन्।

करमालाका अनुसार यो सत्यता उनलाई पालनपोषण गर्ने आमा अगनेसलाई पनि थाहा थिएन। पोनाचन र अगनेसका तीन छोरा छन्। उनीहरूले करमालालाई आफ्नो चौथो सन्तानको रुपमा पालनपोषण गरेका थिए। ८२ वर्षकी अगनेस अल्जाइमरका कारण हाल ओछ्यानमा छिन्। 

करमालाका तीन सन्तान छन्। उनले बुवाबाट सत्यता थाहा पाएपछि पटकपटक अनुराधालाई फोन गरेको बताइन्। तर, अनुराधाबाट कुनै किसिमको प्रतिक्रिया नआएपछि बाध्य भएर मुद्धा दर्ता गर्नु परेको उनको भनाई थियो। ‘मेरो नम्बर ब्लक गरियो,’ उनले भनिन्। अनुराधाविरूद्ध मुद्धाको प्रारम्भिक बहस २७ जनवरीबाट हुदैछ। 
 

प्रकाशित मिति: : 2020-01-03 08:58:08

प्रतिकृया दिनुहोस्