रिजवान हुसैनले काम नगरेको तीन महिना नाघ्यो। प्लास्टरको काम जानेका उनले पाउनु पर्ने ७० हजार रुपैयाँ ठेकेदारले दिएका छैनन्।
आफूसहितका कामदारको पैसा नदिई ठेकेदार भागे। त्यसपछि रिजवानले काम गरेका छैनन्। २१ वर्षका रिजवान नेपाल आएको सात वर्ष भयो।
रोहिंग्या भाषामा आर्कान भनिने म्यानमारको रखाइन राज्यमा बसोबास गर्ने अल्पसंख्यक रोहिंग्या मुलमानमाथि बहुसंख्यक बुद्धिस्ट समुदायबाट भएको हिंसाबाट जोगिनका लागि उनको परिवार त्यहाँबाट पलायन भयो।
सुरुमा बंगलादेश अनि भारत हुँदै उनीहरु नेपाल आइपुगेका छन्। बुढानिलकण्ठ नगरपालिका–११ लसुनेटारमा रहेको रोहिंग्या शरणार्थी शिविर नम्बर दुईमा बस्छन् रिजवान विगत पाँच वर्षदेखि। आमा र चार भाइ छन् उनका। रिजवानका बुवा सैयद हुसैनको उनी ८ वर्षको हुँदा मृत्यु भयो।