पाण्डव देवल हेर्न जाने कि? (भिडियो सहित)

भिजिट नेपाल २०२० श्रृङखला–४

जुम्ला सदरमुकामबाट हिडेर जाँदा ४० मिनेट। अटो समाए १० मिनेट।  चन्दननाथ नगरपालिका–७ मिचा गाउँमा रहेको सुन्दर पाण्डव देवल। जसलाई धेरैले पञ्चदेवलको रूपमा चिन्ने गर्छन्। 

पञ्चदेवल साहसिक पर्यटकीय गन्तव्य होइन। न यसको चर्चा नै त्यति चुलिएको छ। तर, यसको अवलोकन गर्नु सीपसँगको सन्निकटता हो, झण्डै सात शताब्दी अघिको कला र संस्कृतिसँगको सामिप्यता।

नगरपालिका भित्र रहेर पनि धेरैको ध्यान जान नसकेको आकर्षक  पर्यटकीय गन्तव्य हो, पाण्डव देवल। जुन नजिकको तिर्थ हेला  झैं बनेको छ। यति बेला संरक्षणको पर्खाइमा छ। सरोकारवालाको ध्यान अझै पुग्न सकेको छैन। 

यी देवल १४०४ मा निर्माण गरिएको शिलालेखले दर्शाउँछ। महाभारतका पौराणिक पात्र पाँच पाण्डव वनबास जाँदा मिचा गाउँमा बसेको र तत्कालीन मिचा गाउँका टाकुरे राजा हितु चितु रावलको पालामा पञ्चदेवल निर्माण गरिएको शिलालेखमा उल्लेख छ।  

महाभारत महाकाव्य रचनाको तिथिबारे अहिलेपनि एकमत छैन। निश्चित तिथि थाहा नभएपनि यसलाई सामान्यतया वैदिक युगमा लगभग १४०० ईसा पूर्वको मानिन्छ। विद्वानहरु यसलाई ३१औं शताब्दी इसा पूर्वको मान्छन् भने पौराणिकहरु ५०७८ वर्ष पूर्व लेखनकार्य प्रारम्भ गरी ५०८१ पूर्व लेखनकार्य सम्पन्न भएको भन्छन्। 

त्यस्तै कतिपयको मतमा महाभारतको मूल रचनाकार कृष्ण द्वैपायन वेदव्यास जन्मेको ई.पू. ६५०को हाराहारीमा मान्छन् भने  महाभारत ६५० ई.पू. भन्दा पछिकै रचना मान्छन्। तर,मतभेद भने अझै पनि जारी छ। त्यसैले मिचाका देवलमा भएको मिति १४०४ र महाभारतका पात्र पाण्डवहरुको वनबासको समय मिल्दैन। यो कथ्यमात्र हो।

२०४७ सम्म गाउँमा देवल भएको स्थानीयलाई पनि उति साह्रौ थाहा थिएन। यद्यपि देवलका टुप्पाका ढुंगा भने देखिन्थे। त्यसको मुनितिर के छ? भन्ने कसैलाई हेक्का थिएन। त्यसैले त्यहाँका स्थानीय बारी बनाएर खुर्सानी खेति गर्ने गर्थे। 

२०४७ मा मिचा गाउँका माष्टर रामदत्त रावलले गाउँलेलाई उत्खनन् गर्न लगाए। उनले गाउँलेसँग पर्यटकीय महत्व उजागर गरे। संरक्षणका लागि सबैलाई ‘कन्भिन्स’ गराए। उनको आग्रहकै कारण गाउँलेले खेत खन्दै जाँदा देवल भेटियो। 

माटोमा पुरिएको अवस्थामा यति सुन्दर देवल भेटिएपछि गाउँले पनि दंग परे। सबै खुसी भए। नजिकै रहेका ‘कवा मस्ट’ का देउता पनि खुसी भए। पुजाआजा गरियो। कतिपय ढुंगा छरपस्ट थिए। सिपालु मिस्त्रीले तिनलाई मिलाए। १३ वटा देवल ठडिएका थिए। एउटा देवलका ढुंगा छरपस्ट थिए। तिनलाई मिलाएर १४ वटा देवल ठड्याइएको स्थानीय नरेन्द्र रावल प्यासी बताउँछन्। 

‘नगरपालिका भित्रकै देवलको प्रचारप्रसार, संरक्षण र प्रवर्द्धनमा आजसम्म कसैले ध्यान पुर्‍याएको छैन,’ उनले भने, ‘यति सुन्दर कालाकृतिको बारेमा अध्ययन, अनुसन्धान र पहिचान हुन सक्यो भने नयाँ पुस्ताले केही सिक्ने थियो।’

देवल संरक्षणमा सरोकारवालाको ध्यान जान नसकेकोमा गुनासो गर्छन् स्थानीय गोबी रावल। उनका अनुसार गाउँबासीले पनि उचित संरक्षण गर्ने प्रयास गरेका छैनन्। 

ज्ञानको अभाव हुनु। पुरातात्त्विक महत्त्व बुझ्न नसक्नुले पनि यी समस्या देखिएको स्थानीय रामबहादुर नेपाली बताउँछन्। उनी भन्छन्, ‘स्थानीयबासीको घरका चौघेरा भित्र देवल छन्। निजी स्वामित्व भएको जमिनमा देवल रहनुले नै प्रष्ट हुन्छ कि संरक्षणमा स्थानीय कतिको सचेत छन्? भन्ने कुरा।’ 

उत्खनन् गरेको तीन दशक पुग्न लाग्दा देवल हेर्न आउने पर्यटकको संख्या बढेको छैन। नगन्य मात्रामा पर्यटक आउने गरेका छन्। त्यसमा पनि आन्तरिक पर्यटक मात्र। 

पहिला पर्यटन पदमार्ग थिएन। अहिले गाउँले मिलेर गोरेटो बाटो बनाएका छन्। पहिला जथाभावी फोहोर फाल्नेसम्म भइरहेको थियो। पछिल्लो समय घेराबार लगाइएको छ।  

महत्त्वपूर्ण सांस्कृतिक सम्पदाको रुपमा रहेको देवललाई पर्यटक आगमनको केन्द्र बनाउन सकिने भएपनि तालमेल मिल्न नसकेको प्यासीले बताए। उनले भने, ‘उत्खनन् भएदेखि पर्यटक खाली नभए पनि पर्यटक बढेका छैनन्। प्रचारप्रसारको कमि तथा यातायातको अभाव हुनुले पनि पर्यटकको संख्या आशा गरे अनुसार बढ्न सकेको छैन।’

पुरातात्त्विक महत्त्व बोकेका देवल भएकाले यिनको संरक्षणमा पुरातत्व विभागले चासो दिनुपर्ने उनले बताए। पञ्चदेवल नजिकै सफा पानीको नाउलो छ। गाउँमा अरु धेरै देवल हुन सक्छन्। १४ वटा उत्खनन गरेपछि देखिएका छन्। 

प्यासी भन्छन्, ‘तीनवटा हाम्रा घरनजिकै छुट्टै छन्। जहाँ सुरुङ्ग मार्ग जस्तो पनि देखिन्छ। पानीको नाउलो (पानीको मुहान वा कुवा जस्तो पानी भर्न मिल्ने ठाउँ) का ढुंगा पनि कलात्मक रुपमा कुँदिएका छन्। यसले पनि संरक्षण र उत्खननको आवश्यकता खड्किएको छ।’

गाउँ माथि रहेको डाडामा साना साना गुफा छन्। जसलाई गाउँलेहरु पाण्डव बस्ने गरेको भनिरहेका छन्। गुफादेखि देवलसम्म सुरुङ्ग मार्ग रहेको हुनसक्ने स्थानीय चेतन रावल बताउँछन्। ‘खासमा के हो? यसबारे पुरातत्त्व विभागले नै आधिकारिक धारणा बनाइदिएको भए मिचा पर्यटकीय क्षेत्र बन्न सक्ने थियो,’ उनले भने। 

सदरमुकाम खलंगा नजिकै रहेका सांस्कृतिक तथा पुरातात्त्विक सम्पदाको प्रचारप्रसार र संरक्षणमा कसैको ध्यान नपुग्नु दुखद भएको स्थानीय हिक्मत केसीले बताए। 

‘यहाँको देवललाई विश्व सामु चिनाउन सरकारले सक्दो प्रयास गर्नुपर्ने देखिन्छ,’ उनले भने, ‘भ्रमण वर्षमा यस क्षेत्रले पनि पर्यटन भित्र्याउन सके फाइदा सबैलाई पुग्ने थियो।’ 

हामी भ्रमण वर्षलाई स्वागत गर्न फुलमाला अबिर लिएर बसैका छौं। तर हाम्रा नजिकै के के छन्, भनेर प्रचार गर्न  सकिरहेको छैनौं। मिचा गाउँको बीचमा रहेका देवल न संघीय सरकारका सय पर्यटकीय गन्तव्यमा पर्छन्, न त प्रदेश सरकारका गन्तव्यमा नै। स्थानीय सरकारले एउटा पम्प्लेटसम्म बनाउन सकेको छैन। 

देवल नजिकै कुवा छ। पानी नजिकैका घरहरुले उपयोग गर्छन्। पर्यटक भित्र्याउने गरि प्रचारप्रसार गर्न सके थोरै भएपनि रोजगारी सृजना हुने थियो। ऐतिहासिक सम्पदाको संरक्षण हुने थियो। फाइदा आखिर देशलाई नै हो। 

अरु कुरा जे होस् भए पनि हामीले थाहा पाइसकेका छौं, नजिकै मन लोभ्याउने दृश्य छ। जसले सबैलाई आकर्षित गर्छ। भ्रमण वर्षमा तपाईंले पनि एक पटक मिचा गाउँमा रहेको पाण्डव देवल पुग्ने सोच बनाउनु भएको छ कि? स्वागत छ तपाईंलाई पाण्डव देवलमा!

प्रकाशित मिति: : 2020-01-01 21:25:00

प्रतिकृया दिनुहोस्