नेपाली किशोरीहरुलाई दिल्लीका निजी अपार्टमेन्टमा बिक्री गर्न थालियाे !

मानव तस्करहरुले यौन शोषणका लागि नेपाली किशोरीलाई दिल्लीका निजी अपार्टमेन्टमा बिक्री गर्न थालेको पाइएको छ।  

पहिले दिल्लीको कोठीमा बेचविखन हुने गरेकामा अहिले दिल्लीका निजी अपार्टमेन्टहरुमा पनि बिक्री गरेको पाइएको माइती नेपालले जनाएको छ। मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै माइती नेपालले मानव बेचबिखन र ओसारपसारले नयाँ रुप लिन थालेको बताएको हो।

मानव तस्करहरुले अपनाउने नयाँ नयाँ तरिकाका कारण हराएका महिला तथा बालबालिकाको अवस्था पहिचान तथा खोजतलास र उद्धारका लागि झनै जटिल अवस्था सिर्जना भएको माइती नेपालको भनाई छ।

कोठीमा सबै गतिविधि देखिने तर अपार्टमेन्टमा प्रहरी तथा उद्धारकर्मी सघंसस्थाहरुले शंका नगर्ने भएकाले निजी अपार्टमेन्टलाई कोठीको रुपमा प्रयोग गर्न थालेको पाइएको माइती नेपाल अध्यक्ष विश्वराम खड्काले बताउनुभयो। भारतको बाटो हुँदै वैदेशिक रोजगारीमा पठाउने भन्दै नेपाली किशोरी तथा युवती बेचिएका खड्काको भनाइ छ। सन् २०१९ को जनवरीदेखि डिसेम्बरसम्म नेपाल भारत सीमानाबाट २२४ सय ८५ जनाको उद्धार गरेको खड्काले बताए।  

बेचबिखनमा परी श्रम तथा यौन शोषणमा परेका ३ सय २२ जनालाई भारतबाट, खाडीबाट १६ जना, आन्तरिक बेचविखनमा परेका ४४ जनाको उद्धार गरिएको माइति नेपालले जनाएको छ।  

प्रकाशित मिति: : 2020-01-01 05:45:32

प्रतिकृया दिनुहोस्