चिसोले कठ्याङग्रिएर मोरङको उर्लाबारीमा एक जनाकाे मृत्यु 

चिसोले कठ्याङग्रिएर मृत्यु भएको अवस्थामा मोरङको उर्लाबारी नगरपालिका–१ स्थित बक्राहा खोला किनारमा सोमबार बिहान एक जनाको शव फेला परेको छ।  

उर्लाबारी–४ का ५४ वर्षीय सोमबहादुर रोक्काको शव भेटिएको प्रहरीले जनाएको छ।   प्रहरीकाअनुसार यस वर्ष चिसोले कठ्याङ्ग्रिएर मोरङमा मानिसको मृत्यु भएको यो नै पहिलो घटना हो।  इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक सुवास राईले खोलाको बगरमा शव भेटिएपछि स्थानीय बासिन्दाले प्रहरीलाई खवर गरेको बताए।  उनकाअनुसार उर्लाबारीमा एक्लै बस्दै आएका सोमबहादुरका परिवारका सबै सदस्य काठमाडौंमा छन्।  

उनी आफ्नो घरमा नबस्ने र मदिरा सेवन गरेर बाहिरफेरो डुली हिंड्ने गरेको पाइएको राईले बताए।  त्यही क्रममा आइतबार साँझ अत्यधिक मदिरा सेवन गरेका कारण होस गुमाएर खोला छेउमै ढलेपछि उठेर गन्तब्यसम्म पुग्न नसक्दा रातभर चिसोले कठ्याङ्ग्रिएर त्यहीं मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी प्रहरीले दिएको छ।  शव पोस्टमार्टमका लागि मंगलबारे अस्पतालमा राखिएको छ।  

लगभग दुई सातादेखि दिनदेखिको बाक्लो हुस्सु र शीतलहरका कारण तराईको जनजीवन कष्टकर बनेको छ।  शीतलहरबाट गरिब, वृद्धवृद्धा, सुत्केरी महिला तथा बालबालिका र विद्यार्थीहरु बढी प्रभावित बनेका छन्।  

विराटनगरको न्यूनतम तापक्रम सोमबार ५.६ डिग्री मापन गरिएको छ।  यो तापक्रम यस वर्षकै सबै भन्दा कम रहेको हावापानी फिल्ड कार्यालय विराटनगरका प्रमुख विकास देउजाले जानकारी दिए।  उनकाअनुसार केही दिनदेखि तापक्रम निरन्तर ओरालो झर्ने क्रममा रहेका कारण चिसो अत्यधिक बढ्दै गएकाले जनजीवन कष्टकर बनिरहेको छ।  

प्रकाशित मिति: : 2019-12-31 11:36:34

प्रतिकृया दिनुहोस्