८४ रोपनी जग्गामा सञ्चालन गरिएको सो फार्ममा होमस्टे, रेस्टुरान्ट र चिल्ड्रेन पार्क समावेश छ। जहाँ बच्चादेखि बुढापाकासम्मको मन लोभ्याउँछ।
पोखराको लामाचौरबाट अलि अगाडि बढ्दा आकला मन्दिर भेटिन्छ। मन्दिरबाट १० किलाेमिटर थप अगाडि बढेपछि भुजुङ खोला पुगिन्छ। यही खोलाको आडमै एउटा ठूलो पहाड छ। र फेदमा रहेकाे छ, गण्डकी ट्राउट फार्म।
आज हामी यही ट्राउट फार्मको विषयमा चर्चा गर्देछौं। जहाँ गुरुङ दाजुभाई आगन्तुकहरूको स्वागतमा हरपल मुस्कुराउँदै बसेका हुन्छन्।
अमृत र लक्ष्मी गुरुङ।
लामाचौरबाट १२ किलोमिटर अगाडि पर्ने पहाडको फेदीमा रहेको गण्डकी ट्राउट फार्म ग्रासकार्प, फेन्सी कार्प, कमन कार्पलगायत विभिन्न प्रजातिका माछाका कारण चर्चित छ।
८४ रोपनी जग्गामा सञ्चालन गरिएको सो फार्ममा होमस्टे, रेस्टुरान्ट र चिल्ड्रेन पार्क समावेश छ। जहाँ बच्चादेखि बुढापाकासम्मको मन लोभ्याउँछ।
डाँडापाखा वरिपरि बनेका स–साना घर अनि बीचमा रहेको पार्कले गर्दा माछा पोखरीको सौन्दर्यता नै फरक देखिन्छ।
दैनिक २ सयको हाराहारीमा मानिसहरू परिवार बोकेर समय बिताउन गण्डकी ट्राउट हाउसमा पुग्ने गरेका छन्। फार्ममा रहेको विभिन्न मनोरम दृश्यलाई अनुभूत गर्न दिनभरी घुमेर पुग्दैन। यहाँ आइसकेपछि १–२ रात नबसि फर्कने मानिस कमै भेटिन्छन्।
नेपालको सबैभन्दा ठूलो ट्राउट फर्म सञ्चालन गर्ने यी दाजुभाई आखिर हुन को त?
अमृत गुरुङ र लक्ष्मी गुरुङ दुवैको जन्म पोखरामै भएको हो। नाताले उनीहरू साढु हुन्।
भारतीय आर्मीका अवकाश प्राप्त जवान अमृत ऋण लागेपछि घर फर्किएका थिए। घर बनाएको १४ लाख ऋण तिर्ने कुनै उपाय नभएपछि उनी ११ महिनाको छोरी छाडेर श्रीमतिसहित टुरिस्ट भिसामा सन् १९९८ मा जापान पसेका थिए।
न भाषाको ज्ञान, न त कुनै सिप। धेरै दुःख भोगे उनले जापानमा हुँदा। उनको पढाई पनि कमजोर थियो।
जापानमा पनि उनले खासै पैसा कमाउन सकेनन्। कहिले काहीँ ट्रेन चढ्ने पैसा नहुँदा उनी हिडेरै काम गर्ने ठाउँ पुग्थे। लामा संघर्षपछि उनले जापानमा बल्लतल्ल माछा समात्ने र मासु काट्ने काम पाए।
उनलाई भाषाको त्यति ज्ञान थिएन। त्यसैले रातदिन काम गर्दा पनि उनले तोकिएको तलबभन्दा कम पैसा पाउँथे। तर, उनलाई त्यहाँ माछा पोखरीमा काम गरेको अनुभवले व्यवसायी बनाउन ठूलो भूमिका निर्वाह गर्यो।
विगत सम्झिँदा उनी अहिले पनि हाँस्ने गर्छन्, ‘नपढेको मुन्छे। एकपटक माथि उक्लिनु पर्ने बेला तल झर्ने ‘एल्भिलेटर’ मा चढेछु। झन्डै मरिएको।’
८ वर्ष जापान बसाईंका क्रममा त्यहाँको अनुभव सिकेर उनले आफ्नै साढु भाईसँग माछा पालन व्यवसाय सुरु गरे।
२०६७ सालमा एउटा टेबल र कुर्चि राखेर डेढ लाख लगानी गर्दै सुरु गरेको व्यापार अहिले ८४ रोपनी जग्गामा फैलिसकेको छ।
भन्छन्–‘जापानमा कमाउने पैसा यतै बसेर सजिलै कमाएको छु।’ उनी आफू सफल हुनुको पछाडि मिहिनेत महत्वपूर्ण भएको बताउँछन्। ‘जापानमा सिकेको सीपलाई मैले नेपालमा प्रयोग गरेँ,’ उनले भने।
माछा पाल्नको लागि कस्तो वातावरण र कति तापक्रम चाहिन्छ? यसको आधारभूत जानकारी उनले जापानबाटै सिकेका थिए। तर पनि नेपाल फर्किएर उनले धेरै तालिम लिए।
आत्मविश्वास बढेपछि मात्र उनी व्यवसायमा हाम्फालेका हुन्। भन्छन्,‘सफल हुन मिहिनेत मात्र होइन, धैर्यता पनि चाहिन्छ।’
नेपालमा अझै पनि ‘अफ सिजन’ मा माछाको अण्डा उत्पादन गर्ने प्रविधि छैन। विदेशबाट मगाउनुपर्ने बाध्यता छ। तापक्रमको व्यवस्थापन गर्न कठिनाई हँुदा लाखौंको नोक्सानी व्यहोर्नुपर्ने बाध्यता रहेको उनी बताउँछन्।
‘सरकारले माछाको अण्डा उत्पादन गर्ने आधुनिक प्रविधि भित्र्याउन सहयोग गरे हामी जस्ता व्यापारीलाई मात्र सहज हुदैन, यसले राज्यको आर्थिक उपार्जनमा पनि सहयोग पुग्छ,’ उनले भने।
गण्डकी ट्राउट फार्मको व्यापार अहिले दिन दुई गुणा र रात चौगुणको हिसाबले बृद्धि भएको छ। आफ्नो उत्पादनले मात्र नपुगेर अन्य माछा फार्मबाट समेत माछा खरिद गरिरहेको छ। माछा व्यवसाय गर्न चाहानेलाई तालिम समेत प्रदान गर्ने गरेको फार्मका सञ्चालक अमृत गुरुङ बताउँछन्।
अमृतका साढु दाई लक्ष्मी गुरुङसँग पनि हङ्गकङ्ग बेलायत लगायत थुप्रै मुलुकमा बसेर काम गरेको अनुभव छ।
विदेशको लामो बसाईंपछि नेपालमै केही गर्छु भनेर उनी फर्किएका हुन्।
‘श्रीमति र आफ्नो सल्लाहअनुसार साढु भाईले जापानमा सिकेको सीप र विदेशको कामको अनुभवले आफ्नै देशमा केही गर्न सकिन्छ भन्ने सोच पलायो,’ उनी भन्छन्।
अहिले पोखरा घुम्न आउने जो कोही गण्डकी ट्राउट फर्ममा नपुगी फर्किदैनन्। स्कुल तथा कलेजका विद्यार्थी छुट्टिको समय पारेर यहाँ आउँछन् र माछासँग रमाउँछन्।
फर्ममा पारिवारीक जमघट गरि होमस्टेको मजा लिन आउने स्वदेशी तथा विदेशीको भिड उत्तिकै हुन्छ। नेपालमा माछा पालन कसरी गर्न सकिन्छ? भनेर विदेशबाट आउने जो कोही नेपाल आएपछि गण्डकी ट्राउटसम्म पुगेरै फर्किन्छन्।
यी दाजुभाईको अबको सपना छ, व्यक्तिगत प्रयासमा पोखरामा नेपालको एकमात्र माछा अनुसन्धान केन्द्र खोल्ने। यसका लागि उनीहरू अनवरत प्रयासरत छन्।