तिहारका गीत बजे भने, उफरले सहर थर्कायो भने, एक महिना अघिदेखि नै केटाकेटी भेला भएर तयारी थाले भने, सरहका घर बत्तिले झिलिमिली भए भने वा गाउँमा दियो बाल्यो भने, हाम्रो दिमागमा एउटा चित्र बन्छ देउसी/भैलो आयो। हाम्रो मानसिकता यसरी नै निर्माण भएको छ। तर, तिहारमा खेलिने भैलो हाम्रो होइन भने तिहार भैलो खेल्ने समय पनि होइन। हाम्रो भैलो त पुसे भैलो हो। जो पुसमा खेलिन्थो/खेलिन्छ।
तिहारको भैलोमा अनेक विकृति छन्। मादल विस्थापित भएर क्यासेट आए। त्यसलाई पनि विस्तारै पाखा लगाउँदै र्याप, पप र हिन्दी गीत आए। हिन्दीमा पनि छाडा, ‘मै तो तन्दुरी मुर्गी हुँ,’ ‘सिला की जवानी,’ ‘मुन्नी बदनाम हुई,’ ‘तेरी कुर्ती....’ गीतहरू। तर, पुसे भैलो बरू लोभ हुने स्थितिमा पुग्यो। विकृति आएन।
तिहारको भैलोमा तमाम विकृति भित्रिए पनि कतिपय ठाउँमा सकारात्मक काम पनि भएका छन्। अघिल्लो वर्ष सिंजाको अन्नपूर्ण मावि मष्टमाडुले विद्यालयको तर्फबाट भैलो खेलेर निजी स्रोतबाट तलब पाउने गरी राखेको विज्ञान शिक्षकलाई तलब दिने काम गर्यो। यस्ता अरू थुप्रै राम्रा कामहरु भएका छन्।
जुम्लामा केही मान्छेहरुले मौलिकतामा आधारित भन्दै देउडा खेलेर भैलोको सुरुवात गरे। पञ्चेबाजा प्रदर्शन गरे। यो मौलिकतासँग जोडिएको रचनात्मक कार्य थियो। तिहारको भैलोका सकारात्मक, नकारात्मक पक्षहरु जतिसुकै भए पनि, भैलो खेल्नेहरुको संख्या जतिसुकै बढे पनि, यसले निकै रमाइलो गराए पनि वा नयाँ पुस्ताले सुन्न नमिल्ने खालका हिन्दी गीतहरूमा डान्स गरे पनि वा आम मान्छेको मन जीते पनि जुम्ली माटोमै उब्जिएको भैलो भने होइन। इतिहासको अध्ययनबाट जुम्लीहरूले तिहारको समयमा भैलो खेलेको भेटिँदैन। त्यसैले तिहारको भैलो हाम्रो होइन।
बरू तिहारमा खेल्ने भैलोलाई पछिल्लो पुस्ताले विकृतिको रूपमा भित्र्याएको, अरूको संस्कृति अपनाएको र आफ्नो संस्कृति भुल्न लागेको देखेर बुढापाकाहरुको चित्त बुझेको छैन। जुम्ला चन्दननाथ-५ सुनरगाँ मष्टका धामी पूर्णसिंह कठायत पुसे भैलो बिर्सेर तिहारको भैलो अपनाएकोमा बिएल नेपाली सेवासँग आफ्नो यसरी दुखेसो पोख्छन्, ‘तिहारको भैलो आयातित हो। यसरी आयातित संस्कृतिलाई महत्त्व दिनाले हाम्रो मौलिक संस्कृति लोप हुन्छ।’
जुम्लीहरुले खेल्ने पुसे भैलोको इतिहास ऐतिहासिक सिंजा साम्राज्यको विरासतसँग जोडिएको छ। भैलो पुगाड्दा (भट्याउँदा) सिंजा साम्राज्य भित्रका अधिकतम स्थानका नाम छुट्दैनन्। भैलोको इतिहासलाई कतिपयले युद्वसँग जोडेका छन्। उनीहरुका अनुसार सिंजा साम्राज्य भित्रका राजा बलिराजलाई युद्धको सामग्री जुटाउन गाह्रो भयो। उनले सेनालाई आदेश दिए घर घर पुगेर रितु जनाउनु, मोहर पैसा माग्नु, अन्न माग्नु भनेर पठाए त्यसपछि त्यो हरेक वर्ष खेलिने भैलो भयो।
केहीले भैलोको सुरुवातलाई फुर्सदसँग जोडेका छन्। उनीहरुका अनुसार यस क्षेत्रका महिलाहरु वर्षभरि काम गर्छन्। पुस, माघमा मात्र फुर्सद हुन्छ। फुर्सदमा के गर्ने भनेर राजा बलिराजलाई सोध्दा उनले यसरी गाउँगाउँ, घर घर गएर खेल्नु, रमाइलो गर्नु भनेर आदेश दिए। त्यसलाई भैलो भन्नु भने। त्यसपछि भैलोको सुरु भयो।
जुन मंसिर पूर्णिमा र पुसे औंसीको दिनदेखि पाँच दिनसम्म खेलिन्छ। त्यसको एक दुई दिन पछि नजिकैको चउर वा सार्वजनिक जग्गामा गएर सामुहिक भोज आयोजना गरिन्छ। जसलाई पाठेभात भनिन्छ। मंसिर पूर्णिमाको दिन खेलीने भैलोलाई सानी भैलो भनिन्छ। सानी भैलो यसरी पुगाड्ने (भट्याउने) गरिन्छ।
आइपुनिका वा औंसी बार – भैलो
दर बुधबार – भैलो
दरम्या खोली – भैलो
बाँसैन झोली – भैलो
बाँसैन भित्त – भैलो
आर्या न तार्या – भैलो
पीपल डाल्या – भैलो
पीपल पाती – भैलो
रायाकी छाती – भैलो
रायो जुमाउनु – भैलो
बाखरी खानु – भैलो
भैलो गयो दाङ – भैलो
अरु क्यै नमाग – भैलो
मोहर पैसा माग – भैलो
भैलो सुवाल – भैलो
डोड्ने हैनौं, माग्न्या हैनौं – भैलो
ऋतु जनाउन्या – भैलो
ऋतुका बात – भैलो
आकाश सिला – भैलो
पातल जडा – भैलो
दूबोजुन जेलिया – भैलो
पाथाजन भरिया – भैलो
यसरी आफू भैलो खेल्न आउनाको कारण बताउँछन्। हामी दरा खोलाका मानिसहरु असल कपडाका झोला बोकी बाँस झाँगिएझै हुल बाँधेर आयौं। ऋतु जनायौं भन्दै मोहोर पैसा माग्छन्। (मोहार भनेको पचास पैसा हो।) तिमी पिपलका पात र हाँगाजस्तै शुद्ध र लक्षिनका छौं। तिम्रो असल होस्, भलो होस्। तिमी बढेर आकाश जतिको हुनु। तिमीले दुबोजस्तै जेलिएको (फैलिएको) सम्बन्ध बनाउनू। अन्न भरिएको पाथीजस्तै भरिपूर्ण हुनु भनि आशिर्वाद दिने गर्छन्। तिहारको भैलमा ‘आहै... यसै घरका जेठा छोरा...’ भन्दै आशिस दिने चलन भन्दा कयौं गुणा साहित्यिक, भाव बोकेको, विम्ब र प्रतिकहरु सहितको मर्मस्पर्षी अनि अतिरञ्जनायुक्त छ पुसे भैलोको आशिर्वाद।
घरघरमा खेल्नुपर्ने भएकाले यस्तो प्रकारले पुगाड्ने गरिन्छ। यो पूर्ण अंश होइन। त्यसैले यसमा सबै कुरा समेटिएको हुँदैन। यदि समय धेरै भयो भने पूर्ण पाठ पुगाडेर (भट्याएर) भैलो खेल्ने गरिन्छ। यसको पूर्ण पाठमा त्यसबेलाको सिंजा साम्राज्यको विभिन्न स्थानहरुको महत्वलाई ‘यो खान्की पायो’ भन्दै दर्शाइएको छ। अन्तमा दाङ देउखुरी हुँदै भैलोलाई नेपाल (हालको काठमाडौं उपत्यका) सम्म पनि पुर्याइएको छ ।
सानी भैलोको ठिक १५ दिनपछि औँसीको प्रतिपदादेखि पाँच दिनसम्म सिंजा र जुम्ला उपत्यकामा ठूली भैलो खेलिन्छ। यसमा भैलोको उत्पत्तिदेखि पुग्ने ठाउँसम्मको वर्णन गरिएको हुन्छ। जसका शब्दहरुले उतिबेलाको शक्तिशाली सिंजा साम्रज्यको यथार्तता झल्काउँछ।
बान्की मिलाएर निकै लामो र मिठो लयमा गाउने भैलोको सुरुवात यस्तो हुन्छ।
काँ र जन्म्यो भैलो ? मानसरोवर कविलास – भैलो
ऐंर दखि भैलो ताक्लाखार आयो – भैलो
ताक्लाखार भैलाले क्या को खान्की पायो ? – भैलो
ताक्लाखार भैलोले सुन खान्की पायो – भैलो
त्यस्तै क्रमशः भैलो खोचेर आएर मूर्ति, हिल्सा आएर राज्य, हुम्ला आएर फेरूवा (भेडाको उनबाट बनेको ओछ्याउने बस्त्र), सोरू गल्ब आएर मास गराउँस, मुगु करान आएर नुन/उन, गमदरा (गमगडी) आएर मच्चा (खुर्सानी), घुच्ची आएर बयाल (बतास), बोता आएर चोतो/कोइरो (सलगम जस्तो मिठो फल। अचार र तिउन, तरकारी बनाउन मिल्ने), सिंजा गडी आएर राजधानी पायो, लामथाडो हल्लायो, सिउबाघ जुधायो, लुड्कु आएर राजगुरु, लाहर्ज आएर जम्वुबाली, ओडार आएर पाँचै पाण्डव, देआरपाटा आएर पुजा पालो, जाँच आएर धान खानी, नराकोट आएर केदारनाथ, जुम्ला चौधान आएर चन्दननाथ पायो, मार्सी धान रोपायो, श्रीढुस्का आएर सत्र खम्बा, पाँच सया दरा आएर बाइस पाटन, रकाल खोला आएर बयाल (बतास), बारबीस आएर ओडार, दुल्लु दैलेख आएर पञ्चकोशी, सुर्खेत आएर काँक्रेविहार खान्की पाएको उल्लेख छ।
त्यसैगरी दाङ देउखुरी आएर भैलोले संसारै फिजायो, नेपालै पुर्यायो भन्ने छ। यसरी जुम्लामा खेलिने भैलो मानसरोवरबाट जुम्ला आएको र जुम्लाबाट दैलेख, सुर्खेत दाङ हुँदै नेपाल (उतिबेलाको काठमाडौं उपत्यका) सम्म पनि पुगेको उल्लेख छ।
सिंजातिर खेलीने भैलोले ऐतिहासिक सिंजा साम्राज्यको विरासतसँग संस्कृतिलाई जोडेको देखिन्छ। कुनै पनि क्षेत्रको भुगोल, इतिहास, कला कौशलसँग जोडिएको हुन्छ, साहित्य। यसले संस्कृति निर्माणमा सहयोग मिल्छ। यसरी कर्णाली क्षेत्रमा विकास भएको भैलोले यहाँको संस्कृति र सभ्यताको उच्चतम विकासलाई प्रष्ट्याउँछ। एउटा स्थिर राज्यको अभ्यास सिंजा साम्राज्यले गरेको प्रमाण दिन्छ।
त्यस्तै जुम्ला उपत्यकामा खेलीने भैलो पनि मावसरोवरमा जन्मेको कुरा बुझ्न सकिन्छ। उक्त भैलोमा मानसरोवर तीर्थ खान्की पाएको कुरा छ। अहिले पनि मस्टो मान्ने भक्तजनहरू आफ्नो देउता ल्याउन मानसरोवर जान्छन्। जुम्ला उपत्यकामा खेलिने भैलो यसरी सुरू हुन्छ।
पैल्हा(पहिला)को भैलो काँबाट उब्ज्यो ? – भैलो
पैल्हाको भैलो मानसरोवर उब्ज्यो – भैलो
सरोवरका भैलोले क्या कै खान्की पायो ? – भैलो
सरोवरका भैलाले यै यै खान्की पायो – भैलो
हाँस खेल्न्या, पुली पाड्न्या तीर्थ खान्की पायो – भैलो
जुम्ला उपत्यका लगायत जिल्लाका अरु स्थानमा खेलिने भैलोको सुरुवात लगभग उस्तै भए पनि पछाडिका अनुप्रास फरक फरक छन्। तर, सबै ठाउँमा खेलीने भैलोमा ऐतिहासिक सिंजा साम्राज्यको चर्चा छुटेको छैन। यसरी सबै क्षेत्रमा खेलीने भैलो लगभग उस्तै हुनुले पनि सिंजा साम्राज्य समकालिन अवस्थामा अथाह शक्तिशाली भएको बुझ्न सकिन्छ।
कतिपयले सिधै पुगाड्ने भैलोलाई केटाकेटीले खेल्ने भैलो भन्छन् भने ‘खान्की पायो’ भनेर खेलिने भैलोलाई पाका उमेरकाले खेल्ने भन्छन्। भाषा तथा संस्कृति सम्बन्धका जानकार रमानन्द आचार्य केटाकेटीले खेल्ने भैलो तथा वयस्कले खेल्नेलाई देउसी भन्छन्। भैलो र देउसी दुबै उही समयमा खेलिन्छ। सामान्य तरिकाले पुगाड्न्या भैलो हो। जुन केटाकेटी खेल्छन्।
‘खान्की पायो’ भन्ने वयस्क र महिलाहरुले खेल्छन्। जसलाई दुउसी भनिन्छ। यो मानसरोवर बाट सुरु भएर नेपाल (काठमाडौं) सम्म पुग्छ। तर उताकोले केही फेरेर तिहारमा खेल्ने भैलो बनाए र त्यसैलाई देउसी भने।
पुसको महिना खेलिने सानी र ठूली भैलो यस क्षेत्रका गौरवशाली सांस्कृतिक पर्व हुन्। तर, यतिबेला पुसे भैलो छोडेर तिहारको आयातित भैलोमा सबैको ध्यान गएको छ। इतिहास र विरासतसँग जोडिएको भैलोको सुमधुर गीत गाउन छोडेर ‘लौंडिया पटाएगें मिस कल से’ लगायत बेअर्थ र बेसुरका गीतमा नाच्नु हाम्रो संस्कृति मास्ने काम हो।
हामीलाई निकै मनोरञ्जन प्रदान गरेका यी क्रियाकलापहरु झट्ट हेर्दा सामान्य लागे पनि पछि गएर गम्भिर प्रकृतिको भुल हुन सक्ने सम्भावना रहन्छ। यसले हाम्रो मानसिकतामा हमला गर्छ। मानसिक हार सबैभन्दा खतरनाक हुन्छ। जसको कुनै प्रतिरोध हुन्न । संस्कृतिमाथि हमलाको प्रतिरोध निकै कठिन र कष्टसाध्य हुन्छ।
चर्चित टिप्पणीकार सौरभ भन्छन्, ‘नेपालका हलहरुमा भारतीय चलचित्रहरु चलाइनुको पछाडि नाफा होइन नेपालीहरुको मानसिकतामा भारतीय संस्कृति पसाउन हो।’ त्यही प्रयोग गरेको थियो बेलायतले सन् १८३२ मा भारतमाथि। त्यसबेला लर्ड म्याकलेले बेलायतको संसदमा ‘माइनुट अफ इन्डियन एजुकेसन’ भन्ने कार्यपत्र पेश गरे। उनले भारतमा अंग्रेजी शिक्षा दिएर संस्कृतिमाथि हमला गर्न सुझाएका थिए।
उनले भनेजस्तै भारतमा अंग्रेजी शिक्षा लागू भयो। भारतको आफ्नो अंग्रेजी साहित्य थिएन। परिणाम उनीहरुको साहित्यबाट प्रभावित भारतमा अंग्रेजी बोल्ने जान्ने मध्यम वर्ग तयार भयो। जसलाई आम भारतीय भन्दा माथि रहेको सोच्न सिकाइयो। उसैले बेलायतीहरुको सेवक भई आफ्नै भारतीयलाई दबाउन थाल्यो। त्यही हतियार प्रयोग गरेर बेलायत आफ्नो उपनिवेस विस्तार गर्न सफल भयो। आज हामीमाथि यस्तो संकेत देखिन थालेको छ।
पुस्तौंदेखि खेल्दै आएको भैलो खेल्नेहरु भेटिन छोडेका छन्। नयाँ पुस्ता पुसे भैलोबाट बेखबर छ। केही फाट्टफुट्ट अघिल्लो पुस्ताका महिलाहरुले खेलिरहेका भएपनि अब पूर्ण रुपमा लोभ हुने अवस्थामा पुगेको छ। अरुको संस्कृतिलाई आँखा चिम्लेर अंगाल्नाले कुनै दिन थाहै नपाइ हामीले पहिचान गुमाइसकेका हुनेछौं। कहाँ गयो पुसे भैलो? कृपाया खोजी गर्ने कि!