पुटिनको विरोध गर्दा एक युवा आर्मी बेस क्याम्पमा

प्रहरीमाथि उनको घरमा तोडफोड गरेको र सिम कार्डलाई ‘डिसेबल’ बनाएको आरोप छ।  

रुसी राष्ट्रपति ब्लादिमिर पुटिनको विरोधमा उभिएको भन्दै २३ वर्षीय एक युवालाई प्रहरीले जबरदस्ती आर्र्मीको आर्कटिक बेस क्याम्पमा पठाइएको आरोप विपक्षीहरूले लगाएका छन्। 

यो विरूद्ध बुधबार मस्कोमा प्रदर्शन भएको थियो। जसमा युवालाई छोड्ने माग प्रतिपक्षीले गरेका छन्। केहीले प्रहरी मुख्यालय अगाडि नै प्रदर्शन गरे। रुसको विपक्षी नेता एलेक्सी नवलनीले भने– ‘आर्कटिक बेस क्याम्प पठाइएका युवाको स्वास्थ्यस्थिति ठिक छैन। उनलाई जबरदस्ती पठाइएको हो।’

एक रिपोर्ट अनुसार रुस्लान स्वेद्धिनोव नाम गरेका युवा गत सोमबारदेखि हराइरहेका छन्। उनी नवलनीले सञ्चालन गरेको भ्रष्टाचार विरोधी अभियानका प्रोजेक्ट म्यानेजर हुन्। प्रहरीमाथि उनको घरमा तोडफोड गरेको र सिम कार्डलाई ‘डिसेबल’ बनाएको आरोप छ।  

नवलनीले आफ्नो कर्मचारीलाई सरकारले अपहरण शैलीमा जबरदस्ती आर्मी बेस क्याम्पमा लगेको आरोप लगाए। 
‘रुस्लानलाई गैरकानुनी तरिकाले कैदी बनाइएको छ। उनलाई एक वर्षको सैन्य सेवामा पनि टेलिफोन प्रयोग गर्न दिइएको छैन।’ 

बेपत्ता भनिएका रुस्लान मंगलबार आर्कटिक महासागरको उत्तर मस्कोबाट करिब २ हजार किमी टाढा नोवाया जमल्या सैन्य अड्डामा देखा परेका थिए। रुसमा १८ देखि २७ वर्ष उमेरसमूहका युवाले एक वर्ष सैन्य सेवामा बिताएको हुनैपर्छ। 

केही मानिस यसबाट जोगिने उपायको खोजीमा हुने गर्छन्। रुसी सेनाले पनि रुस्लानमाथि सैन्य सेवाबाट जोगिने प्रयास स्वरुप विरोधी शैली अपनाएको बताएको छ। क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोवले भने, ‘उसले सेनामा भर्ती नहुने उपाय खोजेको हो। उसले रुसको कानुनको अवज्ञा गरेको छ।’

तर, विपक्षी नेता नवलनीले सेनामा सेवा दिने नाममा नागरिकलाई सरकार विरोधी काममा प्रतिबन्ध लगाउने उपाय खोजिएको बताए। रुस्लानसँग काम गरेकी किरा यर्मिशले न्युज एजेन्सी एएफपीलाई दिएको जानकारी अनुसार उनले हालै संसदमा विपक्षी सासदका लागि काम गरेका थिए। ‘यही कारण पनि हुन सक्छ, उसलाई आर्कटिक बेसमा पठाइएको हो,’ किरा यर्मिशले बताइन्। 


 

प्रकाशित मिति: : 2019-12-28 00:45:56

प्रतिकृया दिनुहोस्