पर्सामा एक वर्षमा ६९ वटा मानव अधिकार उलङ्घनका घटना,प्रहरी भन्छ: अपराध ९४ प्रतिशत घट्याे

पर्सा जिल्लामा मानव अधिकार उलङ्घनका घटना ह्वातै बढेकाे तथ्याङ्क सार्वजनिक भएकाे छ। अनौपचारिक सेवा केन्द्र इन्सेक, पर्साकाे बिहिबार आयोजित नेपाल मानवअधिकार वर्ष पुस्तक २०२० को बार्षिक पूर्वसमीक्षा गोष्ठीमा जिल्लामा एक वर्षमा ६९ वटा मानव अधिकार उलङ्घनका घटना भएको तथ्य सार्वजनिक भएकाे हाे। 

इन्सेकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार २०७५ पौष १८ गतेदेखि २०७६ पुस १० गतेसम्म बलात्कारका ४४ वटा उजुरी प्रहरी कार्यालयमा दर्ता भएका छन्। बलात्कार प्रयासका ३ वटा उजुरी छन्।

पर्सामा १८ वर्ष मुनिका बालिका बलात्कारको १८ वटा घटना सहित २३ वटा बलात्कारका उजुरी प्रहरीकोमा परेको छ।  

जबकी मुलुकी अपराध संहिताले अठार वर्षभन्दा कम उमेरका बालिकासँग सहमतिमै हुने करणीलाई जबर्जस्ती करणी मानेको छ। उमेर समूहका आधारमा करणी गर्नेविरुद्ध ५ वर्षदेखि आजिवन काराबासको सजाय तोकेको छ।  

त्यसैगरि हत्याका ८, बहुविवाहका ६, मानव बेचविखनका ४, बालविवाहका २, बाल यौन दुराचारका २ वटा घटना छन्। एक वर्षमा बलात्कार, बलात्कार प्रयास, हत्या, हत्या प्रयास, अपहरण, मानव बेचविखन, बहुविवाह, बालविवाह, लगायतका ६९ वटा दर्ता भएको इन्सेकका पर्सा प्रतिनिधि केसी लामिछानेले बताए।

यो वर्ष पर्सामा बलात्कारका घटना ह्वात्तै बढेको अभिलेखबाट देखिएको छ। त्यसैगरी बाल यौन दुर्वबहार, एसिड प्रहार, बोक्सी आरोपमा अमानवीय व्यवहारका घटना भने घटेका छन्।

समीक्षा गोष्ठीमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले प्रहरी अपराध नियन्त्रणमा नेपाल प्रहरी ९४ प्रतिशत सफल रहेको बताए।  

खुल्ला सीमा भएका कारण सुरक्षा व्यवस्थामा केही चुनौतीपूर्ण रहेको र  प्रहरी सक्रियता बढाएर अपराध नियन्त्रणको निरन्तर प्रयास भइरहेको प्रहरी उपरीक्षक राठौरले दावी गरे।  कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का अध्यक्ष दिपेन्द्र चौहान, तवरेज अहमदको उपस्थिति थियो।

प्रकाशित मिति: : 2019-12-27 10:24:12

प्रतिकृया दिनुहोस्