लामो समयसम्म नेपाली कामदार मलेशिया जान नपाउनु र विदेशमा रहेका नेपाली कामदारले अनौपचारिक माध्यमबाट रकम पठाउने क्रम बढ्नुले पछिल्ला महिनाहरूमा नेपाल भित्रिने रेमिट्यान्समा कमी आएको हुनसक्ने आशङ्का विज्ञहरूले व्यक्त गरेका छन्।
तर यसबारे थप स्पष्ट हुन र मुलुकको ढुकुटीमा रेमिट्यान्सको योगदान कम हुँदै जाने जोखिम कम गर्न सरकारीस्तरबाट विस्तृत अनुसन्धान हुनुपर्ने उनीहरूको ठम्याइ छ।
सरकारी अधिकारीहरूले भने विदेशबाट अनौपचारिक माध्यमबाट रकम पठाउने क्रम बढेको भन्ने तर्कप्रति असहमति जनाएका छन्।
नेपाल राष्ट्र ब्याङ्कका अनुसार विदेशमा कार्यरत नेपालीहरूले स्वदेश पठाउने रकम अर्थात् रेमिट्यान्स पछिल्ला तीन महिनामा अघिल्लो आर्थिक वर्षका ती तीन महिनाहरूको तुलनामा कम भएको देखिएको छ।
तीन महिनाअघि भने रेमिट्यान्स बढ्ने क्रममा कमी आए पनि पनि रेमिट्यान्स नै घटेको थिएन।
चालु आर्थिक वर्षको कात्तिक महिनासम्ममा कुल तीन खर्ब चार अर्ब सन्ताउन्न करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ।
यो गत वर्षको यसै अवधिको तुलनामा २.३ प्रतिशत कम हो।
कारणबारे श्रम मामिलाविज्ञ गणेश गुरूङ भन्छन्, "लामो समय मलेशियामा कामदार जान नपाउनु, हुन्डी र सुनको प्रयोग हुनु यसको मुख्य कारण जस्तो देखिन्छ।"
उनी हुन्डी र सुनको प्रयोग लामो समयदेखि हुँदै आएको बताउँछन्।