भारतमा भ्रमण वर्ष–२०२० काे प्रचारप्रसार तिब्र

भ्रमण वर्ष २०२० नजिकिँदै गर्दा छिमेकी भारतमा यसको व्यापक प्रचारप्रसार सुरु भएको छ।

सुबास बस्नेत

नयाँ दिल्ली

भ्रमण वर्ष २०२० नजिकिँदै गर्दा छिमेकी भारतमा यसको व्यापक प्रचारप्रसार सुरु भएको छ। यसै सन्दर्भमा सोमबार कर्नाटका राज्यको राजधानी बेङ्गलोरमा भ्रमण वर्ष–२०२० कन्क्लेवको आयोजना गरियो। 

नेपालमा व्यापार तथा लगानीको सम्भाव्यता खोजी गर्दै भ्रमण वर्ष २०२० सम्मेलनको  आयोजना गरिएको हो। भारतस्थित नेपाली दूतावासको सहकार्य र  भारत–नेपाल केन्द्र, एसडीएसको सहयोगमा पीएचडी च्याम्बर अफ कमर्श एण्ड इण्डस्ट्रीले सम्मेलनको आयोजना गर्यो। 

समारोहमा भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले नेपाल भ्रमण वर्ष व्यापारीको लागि उचित वातावरण भएको भन्दै नेपालका प्रमुख पर्यटकीय स्थल बारे जानकारी गराएका थिए। 

भ्रमण वर्षमा २० लाख बढी पर्यटकलाई नेपाल भित्र्याउने लक्ष्य लिएको भन्दै राजदूत आचार्यले दक्षिण भारतका बुद्धिजीवि, व्यापारी तथा आम जनतालाई  भ्रमणका लागि निमन्त्रणा दिएका थिए।   

सम्मेलनमा नेपालमा भ्रमण गर्नुका साथै व्यापार र लगानी गर्न आह्वान गरिएको छ। नेपालमा लगानी र व्यापारको सन्दर्भमा बोल्दै राजदूत आचार्यले भने, ‘लगानीकर्तालाई लगानीको प्रस्ताव लिएर आउन आग्रह गर्दछु। उचित वातावाऱण निर्माण गर्न म सक्दो सहयोग गर्नेछु।’ 

दक्षिण भारतका बुद्धिजीवि, व्यापारी, नेपालीमूलका व्यापारी, प्रवासी नेपाली र विद्यार्थी सहभागी कार्यक्रममा भ्रमण वर्षलाई थप प्रचार–प्रसार आवश्यक रहेकोमा जोड दिइएको थियो ।

समारोहमा दूतावासको आर्थिक मामिला हेर्ने निता पोखरेल अर्याल, आर्थिक काउन्सलर तीर्थ पौडेल, भारत–नेपाल केन्द्र, पीएचडी च्याम्बर अफ कमर्श एण्ड इण्डस्ट्रीका अध्यक्ष केवी राजन,  नेपाल एसबीआई लिमिटेडका प्रबन्ध निर्देशक अनुकूल भटनागर, कर्नाटक सरकारका पर्यटन विभागका निर्देशक केएन रमेश,  कर्नाटक च्याम्बर अफ कमर्श एण्ड इण्डस्ट्रीका अध्यक्ष सीआर जनार्धनालगायतको उपस्थिति थियो।

कार्यक्रम विभिन्न प्रवासी संगठनको व्यवस्थापनमा सम्पन्न भएको थियो। अखिल भारत नेपाल एकता मञ्च, प्रवासी नेपाली संघ भारत, मुल प्रवाह एकता समाज लगायतका संघसंस्थाका प्रतिनिधिको  उपस्थिति रहेको थियो।

प्रवासी नेपाली संघ संस्थाद्वारा आयोजना हुने सबै खाले कार्यक्रममा भ्रमण वर्ष–२०२० को लोगोलाई  ब्यानर, पोस्टर होर्डिङमा राखेर विशेष महत्वका साथ प्रचारप्रसार गरिएको छ।

प्रकाशित मिति: : 2019-12-25 07:53:29

प्रतिकृया दिनुहोस्