रहेनन् ‘छेक्यो छेक्यो देउराली डाँडा‍…’ गीतका सर्जक गुरुङ

गाीतकार शुक गुरुङको निधन भएको छ। लामो समयदेखि मृगौला र आँखाको समस्याका कारण थलिएका गुरुङको आइतबार निधन भएको हो।

संगीतकार एवं रचनाकार गुरुङ लामो समय नेपथ्य सांगीतकि समुहमा आवद्ध थिए। चर्चित गीतहरु ‘छेक्यो छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले’, ‘आँखैमा झल्झली’, ‘भाइटीकामा भेट्न आउँला’, अरुणा लामाको स्वरमा रहेको ‘दोष कसैलाई दिन चाहन्न’ लगायतका उनका दर्जनौँ गीतहरु चर्चित छन्।

गुरुङका ईशारा भाग १, भाग २ लगायतका गीती एल्बमहरु प्रकाशित भएका छन् भने उनको ‘यी मेरा अन्तर्वेदनाहरु’ गीत संग्रह २०७२ असारमा प्रकाशित भएको थियो।

गुरुङको मृत्युप्रति यतिबेला समाजिक सञ्जालमा नेपाली संगीत प्रेमीहरूले भावपूर्ण श्रद्धान्जली व्यक्त गरिरहेका छन्।

सर्जक गुरुङको निधनप्रति गायक अमृत गुरुङले ट्विट गर्दै दुःख व्यक्त गरेका छन्।

अमृतले ट्विटरमार्फत् गत अगस्ट २६ गते शुक गुरुङसँग भएको भेट नै अन्तिम भेट भएको उल्लेख गर्दै नेपथ्यको प्रारम्भकालमा शुकले ‘छेक्यो छेक्यो’ गीत नेपथ्यलाई दिएर पुर्‍याएको गुन सम्झिएका छन्। 

हार्दिक श्रद्धान्जली - शुक गुरुंग

गत अगस्त २६, मा संगीतकार शुक गुरुंगसँग भएको भेट नै हामीबीचको अन्तिम भेट लेखिएको रहेछ।शुकजीले नेपथ्यको प्रारम्भकालमा ‘छेक्यो छेक्यो’ गीत दिएर हामीलाई ठुलो गुण लगाएका थिए। उनको मृत्युको खबरले म दुखी छु। उनको आत्माको चीर शान्तीको कामना गर्दछु

प्रकाशित मिति: : 2019-12-23 10:26:30

प्रतिकृया दिनुहोस्