नेपाल मगर पर्यटन समाजको अध्यक्षमा राजकुमार थापा

नेपाल मगर पर्यटन मगर समाजले राजकुमार थापाको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मतले चयन गरेको छ । शनिबार राजधानीमा सम्पन्न आठौं वार्षिक साधारण सभाले थापामगरको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गठन भएको हो।

समितिमा जीवन थापा मगर, प्रथम उपाध्यक्ष, भुपाल मगर द्वितिय उपाध्यक्ष, कर्ण वहादुर राना मगर, महासचिव र चन्दन थापा मगर सचिव नियुक्त भएका छन्।

यस्तै कोषाध्यक्षमा जितेन्द्र झाक्री तथा सहकोषाध्यक्षमा देम पुन मगर चयन भएका छन्।

सदस्यहरूमा भरत थापा मगर, जग बुढा मगर, चीन थापा मगर, जय बुढा मगर, सन्तोष थापा मगर, कृपा राना मगर, र शर्मिला राना मगर चयन भएको अध्यक्ष राजकुमार थापामगरले बिएल नेपाली सेवालाई जानकारी दिए।

यस्तै समाजले पहिलो मगर महिला सगरमाथा आरोही एवं खानेपानी मन्त्री विनामगर, ६ महिना ६ दिनमा ८ हजार मिटर माथिका १४ हिमालको सफल आरोहण गर्ने निर्मल पुर्जा मगर, सञ्चारकर्मी एवं ट्राभल राइटर सुरेन्द्र राना मगर तथा पत्रकार अर्पणा आले मगरलाई विभिन्न क्षेत्रमा योगदान गरेवापत सम्मान गरिएको थियो।
कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले पर्यटन क्षेत्रमा लागेका सम्पूर्ण मगर पर्यटन व्यवसायी र नयाँ नेतृत्वलाई शुभकामना तथा बधाई दिएका थिए।

पूर्व सभामुख तथा प्रतिनिधि सभा सदस्य ओनसरी घर्तिमगरले सांस्कृतिक विविधताले भरिएको मगर समुदायको संस्कार र संस्कृति विश्वभर फैलाउन समाजले गरेको योगदानका लागि खुलेरै प्रशंसा गरिन्।

प्रमुख अतिथिसमेत रहेकी उनले देशको मुख्य मेरूदण्डको रूपमा रहेको पर्यटन क्षेत्रमा लागेर मगर पर्यटन ब्यवसायीले समुदायको आर्थिक उन्नति गरेर देशको समृद्धिमा लाग्नुपर्ने बताइन्।

कार्यक्रममा नव निर्वाचित अध्यक्ष राजकुमार थापाले आगामी दिनमा समाजले सातै प्रदेशमा नमुना होमस्टे सञ्चालन गर्न तालिम सहित प्रवर्धन कार्यक्रम गरिने घोषणा गरे।

नेपाल एक पर्यटनको दृष्टिले विश्वकै एक उत्कृष्ट गन्तव्य हुँदा हुँदै पनि यसको उचित विकास र खोजिको अभावमा अझै थुप्रै सम्भावित क्षेत्र तथा ठाउँहरुको उचित खोज तथा प्रचारप्रसार नभएको भन्दै थापाले उचित प्रचार प्रसार गन्तब्यको विकासका लागि समाजको स्थापना भएको बताए।

‘आन्तरिक तथा वाह्य पर्यटकको लागि नयाँ सम्भावनाको खोजी र त्यसको प्रचार प्रसारमा गर्दै समग्र पर्यटन विकासको लागि भूमिका खेल्ने उद्देश्य स्वरुप नेपाल मगर पर्यटन समाज खोलेका हौ,’ उनले भने,‘ पर्यटन व्यवसायमा संलग्न मगर व्यक्तित्वहरु सम्मिलित समाजले आफ्नो स्थापना सँगै मगर समुदायभित्रको पर्यटन सम्भावना मात्र नभएर समग्र पर्यटनको विकासको लागि आफुलाई क्रियाशील बनाउनेछ।’

नेपाल मगर पर्यटन समाजले पर्यटकीय कार्यलाई अन्य विभिन्न सम्भावित ठाउँमा समेत विस्तार गर्दै लग्ने र सिंगो नेपालको पर्यटन विकासमा सँगसँगै हिड्ने थापाले बताए।

‘हामीले पछि परिरहेको मगर समुदाय र यसका विकासका लागि स्वरोजगारको विकास गर्ने योजना बनाएका छौ,’ राजकुमारले भने,‘हरेक प्रदेशका सम्भावित स्थानमा होमस्टे सहितका नमुना आयोजना ल्याएर हरेक समुदायलाई सक्षम बनाउन हामीले यो संस्थाको स्थापना गरेका हौ।’

समाजले निर्मल पूर्जा मगरलाई डोल्पा- रकुम- रोल्पा - बागलुङ र  म्याग्दी समेटेर बनाईने ग्रेट मगरात ट्रेलको सद्भावना दूतसमेत घोषणा गरेको छ।

किर्तिमानि आरोहि पूर्जाले अत्यन्तै हर्षित हुँदै मगर पर्यटन समाजसँग सहकार्य गर्दै पर्यटन क्षेत्रमा निरन्तर लाग्ने बताए।

त्यसैगरी प्रथम उपाध्यक्ष जीवन थापा मगरले  भिजिट नेपाल २०२० लाई लक्षित गरेर गोरखाको मनकामनामा प्रथम शहिद लखन थापा ट्रेल रेस २०२० आयोजना गरिने बताए।
समाजले आठौं वार्षिक साधारण सभासहित वनभोज कार्यक्रमसमेत गरेको थियो।

कार्यक्रममा पर्यटन व्यवसायी, राजनीतिकर्मी, समाजसेवी र कलाकारको बाक्लो उपस्थिति थियो। कलाकारहरूले विभिन्न सांस्कृतिक कार्यक्रमसमेत देखाएका थिए।

तस्बिरहरू

प्रकाशित मिति: : 2019-12-23 06:39:37

प्रतिकृया दिनुहोस्