नेपालको 'फुच्चे स्याटलाइट' ले नेपालकै तस्बिर खिच्न सकेन

नेपालीहरूको उत्साह निराशामा परिणत, लगनीको उपादेयतामाथि नै प्रश्नचिन्ह

नेपालले पहिलो पटक प्रक्षेपण गरेको फुच्चे भूउपग्रह नेपाली स्याट-१ ले अहिलेसम्म नेपालको तस्बिर खिच्न नसकेको सार्वजनिक भएको छ।  

ठूलो तामझाम र अपेक्षाका साथ प्रक्षेपण गरिएको नेपाली स्याट १ ले नेपालको तस्बिर खिच्न नसकेको नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट)का प्रविधि सङ्काय प्रमुख रवीन्द्रप्रसाद ढकालले नै स्विकार गरेका छन् । 

नेपाली स्याट-१ नेपाली आकाशमा आएर फर्किसक्यो, तैपनि यसले तस्बिर भने खिच्न सकेन। यसले भुटान, बङ्गलादेशको ढाका तथा भारतका आसाम, दार्जिलिङ र सिक्किमका भूभागको तस्बिर मात्र लिन सक्यो । 

नाष्टका प्रविधि सङ्काय प्रमुख ढकाल भन्छन्,  'नाष्टमा जडान गरिएको रेडियो उपकरणमा समस्या भएका कारण नेपाली स्याट-१ ले तस्बिर खिच्न नसकेको हो। भूउपग्रह नेपाल आएर फर्केर जाँदा हामी  रेडियो उपकरण मिलान गर्न असफल भयौ।’ ्

'नाष्टमा जडान गरिएको रेडियो उपकरणमा समस्या भएका कारण नेपाली स्याट-१ ले तस्बिर खिच्न नसकेको हो। भूउपग्रह नेपाल आएर फर्केर जाँदा हामी  रेडियो उपकरण मिलान गर्न असफल भयौ।’ ्
-रवीन्द्रप्रसाद ढकाल, प्रविधि सङ्काय प्रमुख, नाष्ट

उनका अनुसार नाष्ट नेपाली स्याट-१ अर्को पटक नेपाली आकाशमा आउँदा तस्बिर खिच्न सक्ने बनाउने प्रक्रियामा लागेको छ। यसका लागि नाष्टले आफ्ना प्राविधिक इञ्जिनीयरलाई ग्राउण्ड स्टेशनबारे थप जानकारी हासिल गराउन केही दिनका लागि जापान पठाउने तयारी गरिरहेको छ।

नेपाली स्याट-१  जापानको ‘बर्ड-३’ परियोजनामार्फत गत बैशाख ४ गते प्रक्षेपण गरेको थियो । यस परियोजनाका लागि नेपालले एक करोड ४२ लाख रुपैयाँ जापान पठाएको थियो। यता नेपाल ग्राउण्ड स्टेसन बनाउन र प्रशिक्षणलगायतका लागि करोडौं लगानी गरिसकेको छ।

यतिका रकम लगानी गर्दा यसबाट नेपालको एउटा पनि तस्बिर खिच्न नसकेको समाचारले उत्साहित नेपाली निराश त भएकै छन्, लगानीको उपादेयतामाथि नै प्रश्न उठेको छ।

प्रकाशित मिति: : 2019-12-22 22:01:45

प्रतिकृया दिनुहोस्