राजधानी काठमाडौंमा १६५० जना बालिका मनोरन्जनको क्षेत्रमा काम गरेको पाईएको एक अध्ययनले जनाएको छ।
द सिटि युनिभर्सिटि अफ न्यूयोर्कले द फ्रिडम फन्डको सहयोगमा यसै वर्ष गरेको अध्ययन अनुसार यतिको थोरै संख्यामा बालिकाहरु मनोरन्जन क्षेत्रमा काम गर्ने गरेको तथ्य सार्वजनिक गरेको हो।
उक्त अध्ययन अनुसार मनोरञ्जन क्षेत्रमा काम गर्ने १७ वर्ष मुनिका बालिकामध्ये ६० प्रतिशत यौन दुर्व्यवहारमा पर्ने गरेका छन्। यसमध्ये पनि १५ देखि १७ वर्ष उमेर समूहका बालिकाहरू प्रत्यक्ष यौन शोषणमा परेको तथ्य सार्वजनिक भएको छ।
यद्यपी नेपालको सन्दर्भमा विदेशबाट आएका अनुसन्धानकर्ताले कुन हदसम्म बुझे र सही तथ्याङ्क बाहिर ल्याउन सके भन्ने प्रश्न आफैंमा सोचनीय बनेको छ।
केही दिनअघिमात्र ठमेलको एक डान्सबारमा काम गर्ने महिलालाई भेटेकी थिएँ। 'हामी त उमेर पुगिसकेका मान्छे, ग्राहकलाई कसरी छक्काएर फकाउँदै विल मात्र बढाउने भन्ने चलाखी गर्न सक्छौं। तर, विचरा ती कलिला नानिलाई ग्राहकले फकाउँदै होटलमा लगेको देख्दा मन निचोरिन्छ', ती महिलाले बिएल नेपाली सेवासँग आँखा भरी आँसु पार्दै भनिन्, 'मैले त अहिले काम छाडेँ। तर, ती मेरा छोरी समानका नानीहरूको हालत के होला?'
रिपोटिङका क्रममा अधिकांश डान्सबारमा काम गर्ने जो कोहीलाई सोधे पनि 'यहाँ बालिका छैनन्,' भन्ने जवाफ कही कतै सुनिएन। बरू सवैको एउटै जवाफ हुन्छ, 'अहिले सरकारले कडा गर्यो। चेकिङ हुन्छ भनेर उमेर बढाएर भन्न लगाँछौं। यसरी यो क्षेत्रमा बालिकाको प्रयोग भाको छैन भन्ने समाचार बाहिर आउँनु सरासर गलत हो।
नेपालको संविधानले बालबालिकालाई श्रममा लगाउनेलाई सजायको व्यवस्था गरेसँगै साहुहरूले बालबालिको उमेर बढाउने गरेका छन्।
मनोरञ्जन क्षेत्रमा काम गर्ने कुनै पनि बालिकालाई साहुले उमेर बढाएर १८ वर्ष भन्दा माथिको भनि राखेकाले हरेक बालिकालाई उमेर सोध्यो भने उनीहरूले आफ्नो उमेर १८ वर्ष भन्दा माथि बताउँछन्।
राष्ट्रिय मानव अधिकार आयोगले हालै सार्वजनिक गरेको प्रतिवेदन अनुसार १५ हजार महिला र ५ हजार बालबालिका यौंनशोषण सहित बेचविखनमा परेका छन् ।
आयोगको प्रतिवेदन अनुसार मनोरन्जन क्षेत्रका सात हजार आठ सय, बैदेशिक रोजगारीमा १२ हजार, निकृष्ट बालश्रममा १२ हजार, हराएका तर, फेला नपरेका गरी ३ हजार २ सय गरी ३५ हजार व्यक्ति यौन व्यवसायजन्य बेचविखनमा पर्ने गरेका छन्।
जसमा १९ वर्ष समूहका किशोरी १२ लाख, मनोरन्जन क्षेत्रबाट २१ हजार, वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका १ लाख ८० हजार तथा १ लाख बालश्रमिक यौन शोषण र बेचविखनको जोखिममा छन्।
नेपालको संविधान २०७२ को मौलिक हकको धारा २९ ले कसैलाई बेचबिखन गर्न, दास वा बाँधा बनाउन र इच्छाविपरीत काम लगाउन निषेध गरेको छ।
धारा ३८ मा महिलाको हकले महिलाविरूद्ध कुनै पनि प्रकारको शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक र अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गर्न नपाइने भनेको छ।
कार्यस्थलमा हुने यौंनजन्य दुर्व्यवहार (निवारण) ऐन २०७१, बालबालिका सम्बन्धी ऐन २०७५, श्रम ऐन २०७४, ले यौनजन्य कार्यलाई निकृष्ट भनेको छ।
वि.सं. २०६२ मा सर्वोच्च अदालतले होटल तथा रेस्टुरेन्ट क्षेत्रमा महिलामाथि यौन शोषण हुने गरेको ठहर गर्दै कानुन बनाएर नियमन गर्न निर्देशन दिएको थियो। जस अनुसार यौन शोषण रोक्न डान्स रेस्टुरेन्ट, डान्सबार जस्ता कार्यस्थलमा हुने यौन उत्पीडन नियन्त्रण निर्देशिका २०६५ जारी भएको थियो तर त्यो व्यवहारमा कार्यान्वयन हुन भने सकेको छैन ।
मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलाहरु जो कोहीसँग बुझ्यो भने त्यहाँ बालिका काम गर्दैनन् भन्ने विरलै सुन्न पाईन्छ। तर, साहुलाई सोध्दा उसको जवाफ हुन्छ हामी बालिकाको प्रयोग गर्दैनौं। यसको बास्तविकता यस क्षेत्रमा गहिरोसँग भिजेर काम गरेका संघ संस्था र व्यक्तिले मात्र थाहा पाउछन्।
यसलाई आधार मानेर भन्नुपर्दा नेपालमा रहेका मनोरन्जनका क्षेत्रहरु आन्तरिक बेचविखनको थलोको रुपमा विकास भईरहेको छ यसमा बालिकाको प्रयोग दिन प्रतिदिन बढ्दै गएको छ भन्दा गलत हुँदैन।
तसर्थ द सिटि युनिर्भसिटि अफ न्यूयोर्कले बाहिर ल्याएको तथ्याङ्कको आधारमा नेपालमा मनोरन्जनको क्षेत्रमा काम गर्ने बालिकाको प्रयोग घट्दै गएको छ भनेर यस क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउने सवालमा यससँग सम्वन्धित गैरसरकारी संघ संस्थाले काम गर्न छाड्ने हो भने भोलिका दिनमा गाँउगाँउमा दलाल पसेर विभिन्न प्रलोभनमा पारी बालिकालाई केही समय आन्तरिक बेचविखन गर्ने र उमेर पुगेपछि तिनै बालिकालाई रोजगारीको बाहानामा विदेश लगेर बेच्ने क्रम खुलेआम रुपमा बढ्दै जानेछ।