ट्रम्पलाई अर्को झट्का : अमेरिका आउँदा स्वास्थ्य विमा लिनैपर्ने नियम रोक्का

अमेरिका आँउदा नचाहिने भयो स्वास्थ्य विमा । एक प्रतिकात्मक तस्बिर : एजेन्सी ।

अमेरिकी राष्ट्रपति ट्रम्पलाई अर्को एक अदालती  झट्का लागेको छ । 

यसपटक झड्का दिने अदालत बनेको छ- पोर्टल्याण्ड राज्यको ओरेगन डिस्ट्रिक कोर्ट । र, झड्का दिने न्यायाधीश बनेका छन्, माईक सिमोन । 

उनले अमेरिका आउने पर्यटकले स्वास्थ्य विमा सेवा अनिवार्यरुपमा लिनैपर्ने राष्ट्रपति ट्रम्पको नियमलाई अस्थायीरुपमा अमान्य घोषित गरिदिएका छन । उनले अकस्मात लागु गरिएको यस्तो नियमले पारिवारिक आप्रवासनलाई हानी गर्ने कुरा आफ्नो फैसलामा उल्लेख गरेका छन ।

यो नियम नोभेम्बर ३ मध्यरातबाटै लागु हुने थियो । तर, लागु हुनुअघि नै अस्थायीरुपमा रोक लागेपछि तत्कालका लागि यो कार्यान्वयनमा नआउने भएको छ ।

यसबाट एकपछि अर्को कडा नियम ल्याएर पारिवारिक आप्रवासनलाई निस्तेज पार्न लागेका अमेरिकी राष्ट्रपति ट्रम्पलाई अर्को एक गम्भीर नीतिगत झड्का लागेको छ । 

अनुदारवादी अमेरिकी राष्ट्रपति ट्रम्प र उदारवादी अमेरिकी न्यायालयबीच भएको यो पहिलो जम्काभेट भएको हैन । यसअघि पनि पटकपटक जम्काभेट हुँदा राष्ट्रपति ट्रम्प तल्ला अदालतमा हार्दै आएका छन् । तर, पनि उनले अपिद गर्दै मुद्दालाई सर्वोच्च अदालतमा पुर्याएर त्यहाँ रहेको अनुदारवादी न्यायाधीशको बहुमतको सहयोगले केही मुद्दामा सफलता हात पार्न सकेका छन् ।

अदालतको यो फैसलाबाट पर्यटक भिसामा अमेरिका आउन चाहनेलाई ठूलो राहत मिलेको छ । यसबाट नेपाली पर्यटकलाई ठूलो राहत मिलेको छ । यो प्रावधान लागु हुँदा खासगरी अमेरिकामा स्थायी बसोबास गरिरहेका नेपालीले आफ्ना आमाबाबुलाई पर्यटक भिसामा ल्याउन नसक्ने अवस्था थियो । 

अमेरिकाका स्वास्थ्य विमा कम्पनीहरूसँग यस प्रावधानलाई सम्बोधन गर्ने खालका विमा पोलिसी नै छैनन् ।

प्रकाशित मिति: : 2019-11-04 02:03:30

प्रतिकृया दिनुहोस्