चिलीमा प्रदर्शनका क्रममा भएका दमनको छानबिन गर्न राष्ट्रसंघको टोली पठाइँदै

Photo Credit : Reuters

चिलीको राजधानी स्यान्टियागोमा मेट्रोरेलमा बढाइएको भाडा दरबाट सुरु भएको प्रर्दशनमा भएका दमनको छानबिन गर्न संयुक्त राष्ट्रसंघले मानवअधिकार विज्ञहरूको एउटा टोली पठाउने भएको छ।

राजधानी स्यान्टीयागोसहित चिलीका थुप्रै सहरमा गत शुक्रवारदेखि असमानता र मूल्यवृद्धिविरुद्ध विरोध प्रदर्शनहरू भइरहेका छन्।उक्त प्रर्दशनमा १८ जनाको ज्यान गइसकेको छ भने प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबीच पटकपटक दङ्गासमेत भएका छन्।यस्तै सात सय भन्दा बढी प्रर्दशनकारीहरूमाथि आगजनी, लुटपाटलगायतका अभियोग लगाइएको छ।

संयुक्त राष्ट्रसंघकी मानव अधिकार प्रमुख तथा चिलीकी पूर्व राष्ट्रपति मिसेल ब्यासलेटले उक्त टोलीले मानवअधिकार हननसम्बन्धी आरोपहरूको परीक्षण गर्ने बताइन्।

हिंसात्मक प्रदर्शनहरू चर्किएपछि लगाउन सुरु गरिएको रात्रिकालीन सैन्य कर्फ्यु छैठौं रातमा प्रवेश गरेको छ। तर कर्फ्यू लाग्ने समय भने उल्लेख्य रूपमा घटेको छ।

राजधानी स्यान्टियागोमा दशौँ हजार मानिसहरू सहभागी भएको बिहीवारको प्रदर्शन निकै हदसम्म शान्तिपूर्ण रहेको संचार माध्यमहरुले जनाएका छन् ।

प्रकाशित मिति: : 2019-10-25 11:31:31

प्रतिकृया दिनुहोस्