बोलिभियामा राष्ट्रपतिको निर्वाचन: मोरालेसको पहिलो चरणमा अग्रता

तस्बिरः एजेन्सी

राष्ट्रपतिको चौथो कार्यकालका लागि प्रतिस्पर्धामा उत्रिएका इभो मोरालेस अरु उम्मेदवारभन्दा झिनो मतले अगाडि रहेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले सार्वजनिक गरेको प्रारम्भिक मतगणनामा मोरालेस र उनका मुख्य प्रतिस्पर्धी कार्लोस मेसाबीच करिब ७ प्रतिशत मतान्तर देखिएको छ ।मोरालेसले कूल गणना गरिएको मतको करिब ४५ प्रतिशत र मेसाले ३८ प्रतिशत मत प्राप्त गरेका छन्।

सन् २००५ मा पहिलो पटक मुलुकको राष्ट्रपतिमा निर्वाचित भएका मोरालेसले त्यसपछिका कुनै पनि प्रतिस्पर्धामा दोस्रो चरणको मतदानको सामना गर्नु परेको थिएन ।

पूर्व कोका कृषक एवं वामपन्थी युनियनका नेता मोरालेसले स्रोतसाधन सम्पन्न तर अति गरिब मुलुक बोलिभियामा १३ वर्ष शासन गरिसकेका छन् । तर पछिल्लो समय भ्रष्टाचार र अधिनायकवादी शैलीका कारण उनि विरुद्धको जनमत बढ्दै गएको छ ।

मोरालेस विरुद्ध ६६ वर्षीय पूर्व राष्ट्रपति मेसाले कडा टक्कर दिएका छन् । मेसा सन् २००१ देखि २००५ सम्म बोलिभियाको राष्ट्रपति थिए । मेसाले मोरालेसको बामपन्थी सरकार भ्रष्टाचारमा अल्झिएको भन्दै निरन्तर आलोचना गर्दै आएका छन् ।

दक्षिण कोरियामा जन्मेका पादरी ची ह्यून चुङले पनि अप्रत्यासित रुपमा ८.७ प्रतिशत मत प्राप्त गरेका छन् । आगामी डिसेम्बर १५ मा हुने दोस्रो चरणको चुनावमा चुङको समर्थनले पनि चुनावी परिणामलाई प्रभावित तुल्याउन सक्नेछ ।

मोरालेसलाई चौथो कार्यकालका लागि उम्मेदवार हुन बोलिभियाको संवैधानिक अदालतले सन् २०१७ मा बाटो खोलिदिएको थियो । बोलिभियाको संविधानमा लगातार दुई कार्यकाल मात्र राष्ट्रपति हुन पाइने व्यवस्था छ ।

अदालतको नयाँ आदेशबाट उहाँ आगामी सन् २०२५ सम्म शक्तिमा रहन पाउनेछन् ।ला पाजमा मतदान पछि आफ्ना समर्थकलाई सम्बोधन गर्दै विपक्षी नेता मेसाले चुनावमा धाँधलीको सम्भावना रहेको बताएका थिए ।

प्रकाशित मिति: : 2019-10-21 14:08:56

प्रतिकृया दिनुहोस्