चिलीमा कर्फ्यू, लुटेराहरूले कपडा कारखानामा आगो लगाइदिँदा पाँचजनाको मृत्यु

तस्बिरः एजेन्सी

चिलीको राजधानी स्यान्टिएगोमा विरोध प्रदर्शनको लहर चलिरहेका बेला लुटेराहरूले राजधानी नजिकैको एउटा कपडा कारखानामा आगो लगाइदिँदा पाँचजनाको मृत्यु भएको छ।सार्वजनिक यातायातको भाडादरमा वृद्धि भएको विषयबाट उठेको उक्त अशान्तिमा शुक्रवारयता ८ जनाको ज्यान गइसकेको छ।

मुख्य सहरहरूमा रात्रिकालीन कर्फ्यू लगाइएको छ भने प्रदर्शनकारीविरुद्ध सेना र प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेका छन्।

अवस्था बिग्रँदै गएपछि बढाइएको भाडा दर स्थगित गरिएको छ।राष्ट्रपति सेबास्टियन पीनेराले अधिकारीहरूसँगको आपत्कालीन बैठकपछि बोल्दै उनले भने, “मलाई लाग्छ कि प्रजातन्त्रमा केवल अधिकार मात्रै हुँदैन। प्रजातन्त्रले प्रदान गर्ने सबै साधन प्रयोग गरेर आफ्नो बचाउ गर्नु पनि प्रजातन्त्र हो।”

शुक्रवार उनले देशका पाँचवटा क्षेत्रमा सङ्कटकाल घोषणा गरेपनि देशभर प्रदर्शन जारी छ। उक्त सङ्कटकाल अन्तर्गत मानिसहरूलाई भेला हुन र आवतजावत गर्न रोक लगाइएको छ।

अगस्टो पिनोसेको तानाशाही शासन सकिएपछि सन् १९९० मा चिलीमा प्रजातन्त्रमा पुनर्स्थापना भएयता पहिलोपटक हजारौँ सैनिक र पानीका ट्याङ्करहरू राजधानी र अन्य सहरका सडकहरूमा पठाइएका छन्।

आइतवार लुटपाट र आगजनी निरन्तर भयो र प्रदर्शनकारीहरूले थप बस जलाए, मेट्रो स्टेसनहरूमा तोडफोड गरे र दङ्गा प्रहरीसँग झडप गरे।राजधानी स्यान्टिएगोमा सबैजसो सार्वजनिक यातायात बन्द छन्, अन्तर्राष्ट्रिय विमानस्थलबाहेकका उडानहरू रद्द भए र पसलहरू बन्द रहे।

 

प्रकाशित मिति: : 2019-10-21 08:08:41

प्रतिकृया दिनुहोस्