प्रचण्डलाई न्युयोर्कस्थित नेपालको स्थायी नियोगमा स्वागत

तस्वीर सौजन्य: गंगा दाहाल

नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डलाई अमेरिका भ्रमणको अन्तिम दिन न्युयोर्कस्थित  संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगको कार्यालयमा  स्वागत गरिएको छ। मंगलबार अपरान्ह नियोगको कार्यालय पुग्दा उनलाई संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर  राईले स्वागत गरे। 

स्वागत  कार्यक्रममा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूताबासका महावाणिज्यदूत पुष्पराज भट्टराईलगायत दुबै नियोगका कर्मचारीहरूको उपस्थिति थियो। न्युयोर्कमा रहेका नेकपाका केही अगुवा शुभेच्छुकहरू पनि समारोहमा सहभागी भए।

स्वागत कार्यक्रममा नियोग प्रमुख राईले नियोगका पछिल्ला गतिविधिहरूका बारेमा प्रकाश पारेका थिए। अध्यक्ष प्रचण्डले समृद्ध नेपाल सुखी नेपालीको नारा लिएर अघि बढेको नेपाल र नेपालीलाई सही प्रतिनिधित्व गर्नुपर्ने दायित्व सम्झाएका थिए।

अध्यक्ष प्रचण्ड सोमबार साँझ बास बस्न संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर  राईको सरकारी निवास पुगेका थिए।नियोग प्रमुख राईले प्रचण्ड उनको सरकारी पाहुना भएको बारेमा मुख खोल्न नचाहे पनि हाम्रो समाचार स्रोतले त्यसको पुष्टी गरेको छ।अध्यक्ष प्रचण्ड वासिङ्टन डीसीबाट मेरिल्याण्डको राजधानी एनापोलिस हुँदै स्थलमार्गबाट न्युयोर्क पुगेका थिए।

अध्यक्ष प्रचण्ड मंगलबार साँंझ नेपाल फर्कने कार्यक्रम रहेको छ। उनीसँग भ्रमणदलमा रहेका सबै सदस्य पनि सँगै नेपाल फर्कदैछन् । 

प्रकाशित मिति: : 2019-03-27 07:09:31

प्रतिकृया दिनुहोस्