सरकारको मूल्याङ्कन गर्ने बेला भइसकेको छैन: मन्त्री बस्नेत

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले पाँचवर्षे सरकारको कामको अहिल्यै मूल्याङ्कन गर्ने समय भइनसकेको बताएका छन।

गणेश हिमाल पर्यटन समाजले आज यहाँ आयोजना गरेको कार्यक्रममा बस्नेतले संविधान जारी भएपछि बनेको वर्तमान सरकारलाई संक्रमणकाल व्यवस्थापनको समेत जिम्मेवारी आएका कारण तत्काल देखिने गरी काम हुन नसकेको उल्लेख गरेका थिए।

संक्रमणकालमा गर्नुपर्ने प्रशासनिक पुनःसंरचना, वित्तीय व्यवस्थापन तथा नयाँ संविधानअनुसारका ऐन÷कानून निर्माणका कामसमेत सरकारले गर्नुपरेकाले एक वर्षको समय त्यसैमा बितेको मन्त्री बस्नेतको भनाइ थियो।

आगामी फागुन २१ गतेभित्रै ती सबै काम सक्नुपर्ने संवैधानिक सीमा रहेकाले मन्त्री बस्नेतले सरकार नीति निर्माणसँगै विकास निर्माण, आर्थिक समृद्धि र जनताका अपेक्षाअनुसारका काममा केन्द्रित भएको बताए।

दुई तिहाइ बहुमतको वर्तमान सरकारबाट जनताले उच्च अपेक्षा राख्नुलाई गलत भन्न नहुने उनको धारणा थियो। जनअपेक्षाअनुसार काम अघि बढाउन आवश्यक कानून र संरचना निर्माण भइसकेकाले अब तीव्र गतिमा सरकार अघि बढ्ने मन्त्री बस्नेतले बताए।

प्रकाशित मिति: : 2019-01-24 22:58:41

प्रतिकृया दिनुहोस्