‘दुवै खुट्टा भाँचियो, आठ वटा करङ्ग भाचिए। शरीर भरी चोटै चोट थियो। हामीले जति बेला दुर्घटनाको खबर पायौं। लाग्यो, नाती हाम्रो बीचमा रहेन्’ यति भनिरहँदा सुकदेवका हजुरआमाका आँखा रसाइरहेका थिए।
यतिकैमा हजुरबुवा चुमबहादुरले आफ्नी श्रीमतिको भक्कानीन लागेको स्थितिलाई सम्हाल्दैं भने, ‘नातिले गज्जब गर्यो।’ यसो भनिरहँदा चुमबहादुर भने हाँसिरहेका थिए।
यो सानो दृश्यको संवाद मैले कार्की परिवारबाट लिएको हो। यसको मुख्य पात्र हुन्, सुकदेव कार्की। ३० वर्षे लक्का जवान। जो २०७२ सालको असोज महिनामा ठूलो मोटरसाइकल दुर्घटनाबाट जोगिएका थिए।
दशैंको मुखैमा भएको दुर्घटनाले पुरै कार्की परिवारलाई स्तब्ध पारेको थियो। बुवा व्यास कार्की र आमा स्वस्थानी कार्कीले पनि लगभग आशा मारिसकेका थिए।
दुर्घटनामा झण्डै ज्यान गुमाइसकेका सुकदेव कालान्तरमा देशकै नामुद बडीबिल्डर बन्छन् भन्ने कल्पना पनि गरेका थिएनन्।
सुकदेव धेरै युवाका बीच प्रेरणादायी पात्र हुन्। दुर्घटनाको बेला खिचिएको उनको यु–ट्युबमा भिडियो निकै भाइरल भएको थियो।
भक्तपुरको गोठाटारस्थित त्रिभुवन विमानस्थलको पछाडिको बाटोमा उनले कुदाएको मोटरसाइकल एउटा जीपमा दुर्घटनाग्रस्त भएको विभत्स दुश्य हेर्दा जो कोहीलाई लाग्नु स्वभाविक हो, त्यो दुर्घटनाबाट कुनै मानिस जीवित उठ्नै सक्दैन्।
तर, यो करिश्मा उनीसँग भयो। सुकदेव किशोर अवस्थादेखि नै क्यामेरामा दृश्य कैद गर्न, मोटरसाइकल तीब्र गतिमा चलाउन र ज्यान बनाउन एकदमै रूची राख्थे।
सन् २००९ मा बेलायत गएको बेला उनी विदेशमा पनि विभिन्न प्रतियोगितामा भाग लिइरहेका हुन्थे।
२०७२ सालमा उनी नेपालमा आयोजना भएको ‘मिष्टर नेपाल’ मा भाग लिन पहिलो पल्ट देश फर्किए। त्यति बेला उनले आफूलाई मनपर्ने मोटरबाइक ७ लाखमा खरिद गरेका थिए।
नयाँ बाइकको सवारीका लागि हेलमेटमा ‘गोप्रो’ फिट गरेका सुकदेव तीब्र गतिमा भाइसँगै गोठाटारको बाटोतर्फ हानिँदै गइरहेका थिए। भाई भिडियो खिच्न मस्त थिए। त्यति नै बेला मोटरसाइकल जिपसँग नमज्जाले ठोकियो। दुर्घटनाको सबै दृष्य क्यामरामा कैद भयो।
सुकदेवलाई उपचारका लागि प्रहरीले तत्कालै अस्पताल पुर्यायो। दुर्घटनाको एक सातापछि अपरेसन गर्नु अगाडि उनको छातीका ८ वटा करङ्ग भाँचिएको रिपोर्ट आयो। जतात्यतै रगत जमेको। खुट्टाको अवस्था उस्तै।
केही समयको उपचारपछि उनी घर फर्किए। घरपरिवार सबैको मुहारमा निराशा मात्र थियो।
सुकदेवलाई ओछ्यानबाट सलबलाउन करिब चार महिना लाग्यो। उनले जीवन देखि हार मान्नु भन्दा केही गर्ने प्रण गरे। र, शारीरिक व्यायाम र आहारमा विशेष ध्यान दिए।
यस बीचमा उनी मानसिक समस्याबाट नगुज्रिएका होइनन्। भन्छन्, ‘हामी संयुक्त परिवारमा बस्छौं। त्यही भएर एक्लो महसुस भएन। मेरो स्याहारमा कहिले कमी भएन। सायद एकल परिवार भएको भए म शारिरीक र मानसिक रुपले विक्षिप्त भैसक्थे।’
दुर्घटनामा परेको १९ महिनाभित्रै सुकदेवले लथालिङ्ग भएको ज्यानलाई यति संगठित बनाए, ‘मिस्टर हिमालय राष्ट्रिय बडीबिल्डिङ च्याम्पियनसिप’ अन्तर्गत दुई वटा विधामा उनी दोस्रो स्थान हात पार्न सफल रहे।
गाडीको पाटपुर्जा झैं छरिएको उनको ज्यान एक वर्षभित्र टमक्क मिलेको देखेर सबै चकित परे।
उनले आफ्नो कथा सबैलाई सुनाए। जित पश्चात काठमाडौं मेडिकल कलेज (केएमसी) का डाक्टर, जसले उनको सर्जरी गरेका थिए। उनलाई खुसीको खबर सुनाउन सुकदेव मिठाई बोकेर गएका थिए। उनको परिवर्तन भएको ज्यान देखेर डाक्टरहरु नै चकित परे। सबै खुशी भए।
सुकदेवले सन् २०१८ मा लक्ष्मीसँग प्रेमविवाह गरे। लक्ष्मी उनको जीवनमा आएपछि ज्यान बनाउन अझै सहज भयो सुकदेवलाई।
कुरै कुराको बीच सुकदेवका हजुरबुवा चुमबहादुरले सुनाए, ‘नातिनी बुहारी लक्षिणकी छिन्। उनी सुकदेवको सुख पनि हो। नाती बरु बेलाबेलामा रिसाइरहेको हुन्छ। बुहारी हाँसिरहन्छिन्।’
सुकदेव अहिले आफ्नो दैनिक व्यायामदेखि साना बाल–बालिकालाई शारिरीक व्यायामको फाइदा बारे शिक्षा दिँदै हिड्छन्। उनी समाजिक कार्यमा उत्तिकै व्यस्त छन्।
सुकदेव चुस्तदुरुस्त शरीर कसरी राख्ने? यस विषयमा टिप्स दिनुका साथै विभिन्न सेमिनारमा भाग लिइरहेका हुन्छन्।
साथीभाईसँग मिलेर सुकदेवले छुट्टै समूह पनि बनाएका छन्। जसले उनलाई काम गर्न सहज पनि भएको छ। उनी यतिबेला हजारौं नेपाली युवाहरूको प्रेरणाको श्रोत पनि हुन्।
कहिल्यै हार नमान्ने सुकदेवलाई उनको भविष्यका लागि अग्रिम शुभकामना।
यो पनि हेर्नुहोस्