विप्लवलाई पक्राउ गर्न भारतमा समेत अप्रेशन

तस्बिरः रातोकलम

नेकपाको विप्लव समूहमाथि प्रतिबन्धको घोषणा गरेको सरकारले त्यस समूहका नेता तथा कार्यकर्तालाई पक्राउ गर्ने अभियान नै चलाएको छ। समूहको सुप्रिमो विप्लललाई पक्राउ गर्न भारतमासमेत प्रहरी अपरेसन चलाइएको प्रहरीले पुष्टि गरेको छ।

नेकपा विप्लव समूहका सुप्रिमो विल्लवको खोजीमा जुटेको नेपाल प्रहरीले केही दिनअघि भारतीय प्रहरीको समन्वयमा भारतमा रहेका उनका आफन्त र उनी आउजाउ गर्ने ब्यक्तिको घरमा खानतलासी गरेको छ।

बिप्लव भारतमा रहेको सूचना पाएपछि प्रहरी भारतमै पुगेर उनका आफन्त र योभन्दा अघि आउजाउ गर्नेको घरमा खानतलासी गरेको प्रहरी उच्चस्रोतले जानकारी दियो। स्रोतले भन्यो, ‘बिप्लव भारतमा भएको आशंकामा भारतमै रहेका उनका आफन्त र उनी बस्ने सम्भावित घरमा खोजी गरियो तर केही उपलव्धी हासिल भएन’।

दुई सातामा ७४ जना नेता कार्यकर्ता पक्राउ

यो समाचार तयार पार्दासम्म प्रहरीले बिप्लव समुहका मध्यकमाण्डर तथा पार्टीका केन्द्रीय नेता हेमन्तप्रकाश ओलीसहित ७४ नेता कार्यकर्ता पक्राउ गरिसकिएको प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीले बताएका छन्। उनका अनुसार पक्राउ परेका सबै नेता कार्यकर्तालाई कर्तव्य ज्यानदेखि राज्यबिरूद्धको अपराधमा मुद्दामा अनुसन्धान अघि बढाइएको छ।

बिप्लवलगायत उनका नेता तथा सक्रिय कार्यकताको खोजीमा प्रहरीले देशैभर प्रहरी अप्रेशन थालेको छ। प्रहरीले धमाधम दिनदिनै बिप्लवका जिल्लास्तरका नेता तथा इन्चार्जलाई पक्राउ गर्दैआएको छ।

स्रोतका अनुसार नेपाल प्रहरी भारतमै गएर बिप्लवको खोजी थालेपछि उनले दिनदिनै ठाउँ परिर्वतन गर्न थालेका छन्।

स्रोतका अनुसार बिप्लव भारतीय सिमावर्ती जिल्लामा बस्दै आएका छन्। देशैभर अप्रेशन चलाएपछि उनी भारतीय सीमाक्षेत्रमा रहेको सूचना छ, ‘टेलिफोन प्रयोग नगर्ने गरिहाले पनि सिम परिर्वतन गर्ने भएका कारण पक्राउ गर्न मुस्किल भएको छ’, स्रोतले भन्यो।

प्रकाशित मिति: : 2019-03-26 23:31:45

प्रतिकृया दिनुहोस्