चर्चामा नआएका सुदूरपश्चिमका पहिलो गजलकार

देवराज भट्ट शर्मा (बिच)। तस्बिरः बिएल नेपाली सेवा

कञ्चनपुर जिल्लाको रतनपुर गाँउ। जहाँ निकै ठुलो जनघनत्व रहिआएको छ। सरकारले विभिन्न ठाँउका बाढि पीडित, राजनितिक पीडित, शुकुमबासी जस्ता थुप्रैलाई त्यो बस्तीमा बसोबासको व्यवस्था मिलाएको थियो। त्यसैले त्यहाँ हजारौको संख्यामा मानिसहरु बसोबास गर्छन्। त्यत्रो ठुलो जनघनत्व भएको विशाल बस्तीमा साहित्य र अध्यात्मलाई गहिरिएर अँगालेका व्यक्ति थिए देवराज भट्ट शर्मा। मैले उहाँलाई पहिलोपल्ट त्यही भेटेको थिएँ। म संगीत साधक भएकोले उहाँसँग भेटघाट गरिरहन्थे। किनकी उहाँ साहित्यको साथसाथै संगीतको बडो मर्मज्ञ हुनुहुन्थ्यो। म उहाँका रचनाहरु गीत, गजल आदि माग्न गइरहन्थे। उहाँसँग मैले केहि महत्वपूर्ण क्षणहरु बिताएको याद आइरहन्छ अहिले पनि।

साहित्य संगीत र कला भन्नु नै जीवनको एक सुन्दरतम पक्ष हो। यसलाई एकछिन रमाईलोका लागि श्रोता वा पाठक बनेर बुझ्नु, सुन्नु एउटा कुरा हो। यस क्षेत्रमा आफुलाई समर्पित गरी एउटा सर्जकका रुपमा जीवन व्यतित गर्नु भिन्दै कुरा हो। साहित्य, संगीत र कला समाजमा बस्ने सबैले सिर्जना गर्न सक्ने सरल चिज होईनन्। दर्जनौ श्रष्टाहरुले त्यो गोरेटो अपनाउदा दुःख नझेलेका होइनन्। उहाँको पालाको त झन कुरै बेग्लै थियो। औंलामा गन्न सकिने साहित्यिक गोष्ठी, सभा, सम्मेलनहरु हुन्थे।

साहित्यको स्वाद मानव समाजमा फैलाउनको निम्ति कुनै सशक्त माध्यम थिएन। तर पनि उहाँ साधनारत हुनुहुन्थ्यो। उहाँसंग मेरो भेट हँुदा म सत्र अठार वर्षको थिए हुँला, उहाँको उमेर चाहि साठी आसपासको थियो। तर पनि शारीरिक सुगठन र तन्दुरुस्ती बडो गजबको थियो। उहाँसंग भेट्दा उहाँ सधै मुस्कुराएर प्रेमपूर्ण बनिदिनु हुन्थ्यो। मलाई सानै उमेर देखि नै साहित्य संगीत र अध्यात्म जस्ता कुराहरुप्रति लगाव थियो। उहाँ जस्तो व्यक्तिलाई भेटेपछि मलाई छुट्टै आनन्द प्राप्त हुन्थ्यो। त्यो खुशीको वर्णन शब्दबाट गर्न असम्भव छ।

हामी घण्टौसम्म साहित्य, संगीत, अध्यात्म र समाजका प्रसंगहरुमा रमाउँथ्यौ। उहाँको घरमा हार्मोनियम र तबला पनि थिएँ। उहाँले बाल्यकालमै शास्त्रीय संगीत सिक्ने प्रयास गर्नुभएको रहेछ तर गाउने गलाको आन्तरिक क्षमता राम्रो नभएपछि उहाँले गाउने रहरलाई पन्छ्याईदिनु भएछ। उहाँ कापीका पानामा कैद गरेका आफ्ना सिर्जनाहरु सुनाउनु हुन्थ्यो। अरुले सुनाएका हरेक कुराहरु उहाँ मौनतामा आँखा चिम्लेर खूब प्रेमपूर्ण तरिकाले सुन्नु हुन्थ्यो। अरुको हरेक कुरालाई सकारात्मक रुपले हेर्ने उहाँको बानीले मलाई खुबै छुन्थ्यो। म भगवानलाई धन्यवाद दिन्थँे, वास्तवमा त्यस्तो भीडमा उहाँ जस्तो प्रवुद्ध मानिस भेटाउनु मेरो अहोभाग्य नै थियो।

यहाँ म उहाँको सरल व्यक्तित्वको मात्रै कुरा गरिरहेको छु। उहाँसँग बच्चादेखि बुढासम्म सबै जना रमाउँथे। घरमा थुप्रै बच्चाहरु उहाँको बुई चढेर रमाइरहन्थे तर उहाँ साहित्य रचनामा मस्त रहनुहुन्थ्यो। उहाँले नेपाली साहित्यको क्षेत्रमा र विशेष गरी सुदूरपश्चिमेली साहित्यमा दिनु भएको योगदानका बारेमा मैले धेरै कुराहरु लेखिरहनु नपर्ला किनकी, डोटेली भाषा नै मूल भाषा हो भनेर पहिलो पटक आवाज उठाउनुमा उहाँको ठुलो देन छ। पञ्चायती शासनकालमा प्रजातन्त्रको पक्षधर भई ‘अमर शहीद दशरचन्द्र(२०२२)’ गीति नाटक छपाएर जनतालाई सचेत तुल्याउने हिम्मत गर्नु भयो। जुन नाटक उहाँ प्रजातन्त्रको पक्षधर हुनुहुन्थ्यो भन्ने कुराको एउटा ज्वलन्त उदाहरण हो। त्यही नाटकमा दुई वटा गजललाई पनि समावेश गरी सुदूरपश्चिम क्षेत्रबाट आफुलाई पहिलो गजलकारको रुपमा स्थापित गराउनु भयो।

यो पनि हेर्नुहोस्- 

त्यो शनिबार कहिल्यै आएन

भाषाको विकासले समाज र समाजमा बस्ने हरेक व्यक्तिको हित हुन्छ भन्ने उदेश्यले उहाँले डोटेली भाषाको मूल व्याकरण छपाउने र डोटेली भाषामा पत्रिका छपाउने जस्ता कार्यका साथै विभिन्न साहित्यक जमघट र गोष्ठीहरुको पनि शुरुवात गर्नुभयो। यस्तो कार्य जुन आजको समयमा गर्न बडो चुनौतीपूर्ण छ। यस्ता थुप्रै योगदानहरु विशेष गरी सुदूरपश्चिमका साहित्यकार र साहित्य प्रेमीहरुले मनन् गर्नु आवश्यक छ। हामीले उहाँका कार्यलाई विर्सिने हो भने उहाँमाथि ठूलो अन्याय गरेको ठानिनेछ। मलाई लाग्छ, हरेक महान व्यक्तिहरु समयको रफ्तारभन्दा पनि पहिल्यै जन्मिन्छन्। उहाँ पनि समयभन्दा पहिल्यै जन्मिनु भयो। तर समाजले उहाँलाई चिन्न सकेन। त्यसलाई म प्रकृतिकै दोष ठान्दछु किनभने उहाँको जस्तो चेतना समाजका आम व्यक्तिहरुको कसरी हुन सक्थ्यो ?

त्यतिबेला उहाँले आफ्ना सहयात्रीहरु भेटाउन सक्नुभएन। त्यो समयमा रतनपुरदेखी महेन्द्रनगरसम्म पुग्नको लागि यातायातको सुविधा थिएन। उहाँ साईकल चलाएरै चार–पाँच घण्टाको दूरी पार गर्नुहुन्थ्यो। गाडीको सुविधा भैसके पछि पनि उहाँ महेन्द्रनगर, धनगढी, भारतको बनबासा, टनकपुर आदि ठाँउहरुमा साईकलमै यात्रा गरेर पुग्नुहुन्थ्यो। यसबाट उहाँको सादा जीवनको सहजै अनुमान गर्न सकिन्छ। समाजमा सबै व्यक्तिहरुले यसरी आत्मनिर्भर भई बाँच्ने प्रयास गरिदिएको भए नेपाल गरिबीको शिकार बन्ने थिएन होला।

उहाँले सधै भन्ने गर्नुहुन्थ्यो –यो संसार नै हाम्रो घर हो। यसले हामीलाई बस्न, खान, श्वास फेर्न अर्थात प्रेमपूर्ण रुपले बाच्ने अवसर दिएको छ। तर मानिस तेरो र मेरो लगायत एउटा सीमामा बाधिएर संकुचित हँुदै गएको छ। त्यसैले दिन प्रतिदिन हत्या हिसां र कोलाहल मच्चिएको छ। प्रकृतिले हामीबाट केही पनि माग्दिनन्। निः शर्त दिई मात्रै रहन्छिन। त्यसैले यिनको सम्मान गरी यिनीलाई बचाउनु हाम्रो परम कर्तव्य हो। किनभने प्रकृतिका बोटविरुवा, नदिनाला, हिमाल, डाँडाकाँडा, ताल आदि स्वच्छ भएनन् भने हामी पनि स्वच्छ हुँदैनौ। यिनीहरुलाई जोगाउनु नै हाम्रो मूल कर्तव्य हो। शायद त्यसैले यो अमर गीत उहाँको हृदयबाट प्रस्पूmटन भई कपीको छातीमा बास बसेर मसम्म आइपुग्यो जुन मैले २०५६ सालमा रेकर्ड गराएँ।‘

मेरी जनमभूमी विशाल तेरी जय हो।
मेरा प्राण प्यारा हिमाल तेरी जय हो।

उहाँको यो कालजयी रचनामा स्वर र संगीत दिएर आम श्रोतासामु पु¥याउन पाँउदा मलाई छुट्टै सन्तुष्टि मिलेको छ। राम्रो व्यक्तिको संगतले हरेक व्यक्ति र बस्नु समेत पवित्र हुन्छ। शर्मा ज्यूले मलाई सहृदयी मित्र मान्नु हुन्थ्यो। म धेरै समय गाँउमा बस्न पाइनँ, तर जति समय उहाँको सानिध्यमा (संगतमा) बसियो, त्यसको अनुभूति अविष्मरणीय छ।

एकपटक मेरै पहलमा रतनपुरको त्रिभुवन नि.मा.वि. मा एउटा नाटक मञ्चन गर्ने र सांस्कृतिक कार्यक्रम आयोजना गर्ने कुरा भयो। उहाँले मलाई आफुले लेख्नु भएको कृष्ण सुदामा नाटकको पाण्डुलिपी देखाउनु भयो। जुन अप्रकाशित थियो। मैले पढेँ, म धर्मशास्त्रको ज्ञाता नभए पनि त्यो नाटकका दृश्यहरुले मलाई खूब छोयो। मैले उहाँ सामु प्रश्न तेस्र्याएँ – कृष्णका थुप्रै चरित्र र प्रसंगहरु छन्, अरु प्रसंगहरुलाई प्रस्तुत नगरेर यो सुदामासंगको प्रसंगलाई मात्रै नाटकमा उतार्नुको कारण चाहि के हो ?

उहाँले मुस्कुराउँदै भन्नु भयो – ’कृष्ण एक पूर्वअवतार मानिन्छन्। राजनीति, कुटनीति, छलकपट, हँसीमजाक, ध्यान, साधना, मोक्ष अनेकौं कला र गुणले भरीपूर्ण छन्। कृष्णजीको सुदामा सँगको जुन प्रसंग छ त्यो अति मार्मिक छ। सरल र भक्तिपूर्ण छ। सुदामाको भगवानप्रतिको समर्पण भाव र भगवान कृष्णको आफ्नो भक्तप्रतिको सरल, सहज र सर्वस्वीकार्य भाव बडो आनन्दपूर्ण छ। सुदामाको चरम गरिबी कति दर्दनाक छ तर पनि सुदामाको पवित्र भक्ति कति उच्च छ। शरीर नाङ्गो रहँदैमा मानिस भित्रको भावना र व्यवहारमा केहि फरक पर्दैन।

चरम गरिबी र अभावमा पनि भगवानको स्पर्श प्राप्त गर्न सकिन्छ भन्ने कुराको ज्वलन्त उदाहरण त्यस नाटकमा छ। सुदामाको पोकोमा मकै भुटेर कृष्णजीलाई भनेर बोकेको कोसेली आफै खेल्दै, सुदामालाई अंकमाल गर्दै, आफ्नै आसनमा विराजमान गराएर पूर्ण सम्मान गर्न सक्ने हृदय केवल भगवानसंग मात्रै हुन सक्छ। मानिस–मानिसमा ठुलो सानो, ऊँच–नीच आदिका सीमा र भेदभावहरु छन्। भगवानको लागि को ठुलो, को सानो? सबै बराबर..... जो भक्तिमा अगाडि छ उही भगवानको पनि प्रिय पात्र हुनसक्छ। यसरी सुदामालाई सरल व्यवहार गरेर कृष्णजीले आफु वास्तवमै भगवान हुनुको जीवन्त उदाहरण पेश गरेका छन्। किनकी भगवानले आफ्नो भक्तलाई कहिल्यै पनि निराश पार्न सक्दैन। रामले पनि रामायणमा शबरीको जूठो बयर खाएर विशाल हृदयको परिचय दिएका छन्।‘

यसरी उहाँसंग वार्तालाप गर्दा जहिले पनि समय कम नै भए जस्तो लाग्थ्यो। घण्टौसम्म बिताएको पत्तै हुँदैनथ्यो। उँहा संस्कृत व्याकरणको ठुलो विद्वान् हुनुहुन्थ्यो। ज्योतिष शास्त्रका साथै वास्तुशास्त्र आदिको पनि उहाँले राम्रो अध्ययन गर्नु भएको थियो। उहाँ समाजमा हुने विवाह, ब्रतवन्ध, पूजापाठ आदि सबै कुराहरुमा सक्रिय रहनुहुन्थ्यो। तर उहाँको विचार जड परम्परावादी र संकुचित थिएन। ’सत्य नै सबै धर्महरुको सार हा‘े भन्ने धारणमा उँहा अडिक हुनुहुन्थ्यो। वास्तवमा उहाँको भनाई अनुसार धर्म संस्कृति जे जस्तो अपनाए पनि प्राप्त हुने र गर्नुपर्ने चीज एउटै हो –“सत्य ” ।

सत्य नै मानव जीवनको मूल लक्ष्य हो र हुनुपर्छ। मैले उँहालाई सोधेको थिएँ– “हजुर मूर्ति पूजापनि गर्नुहुन्छ। परम्परागत क्रियाकलापहरुमा पनि सक्रिय रहनु हुन्छ। यसरी मूर्ति पूजा आदिमा सामाजिक व्यक्तिहरुलाई अल्झाई राख्नु भन्दा सिधै सत्यको अनुसरण गर्नको निम्ति प्रेरित किन नगर्नु भएको?” उहाँको जवाफ थियो – ‘कुरा के हो भने कुनै प्रकृयाको विरोधको भावले सत्यसम्म पुग्न सकिन्न। सहज स्वीकार भाव नै सत्य प्राप्तिको प्रथम सिढी हो। फेरी समाजमा जति पनि व्यक्तिहरु छन् सबैको चेतनाको स्तर पनि त विकसित भएको हँुदैन। सबैभन्दा पहिलो कुरा त भगवान र सत्यप्रति आस्थावान हुनुले मात्रै पनि समाजलाई फाईदा गर्छ। एउटा मन्दिरमा पूजागर्न जादा एकछिनको लागि मात्रै भए पनि मान्छेले भगवानलाई याद गर्छ। यो एउटा प्रतीकात्मक हो।’

यस्ता अनेकोै घटना र प्रसंगहरु छन् उहाँसंग बस्दाका। म उहाँलाई गुरुज्यू भनेर सम्बोध गर्थे, उहाँले मलाई आफ्नो मित्र सम्झिनु हुन्थ्यो। म आफ्नो साङ्गीतिक यात्रालाई अगाडि बढाउनको निम्ति काठमाडौं आइपुगे। त्यो समयमा उहाँ पनि दुई पटक काठमाडौं आउनु भयो र दुबै पटक मसँग भेट गर्नु भयो। लामो समयपछिको भेट। पुरानै शैलीका वार्तालापहरु। मैले काठमाडौंको वनस्थलीस्थित श्रीकृष्ण गुरुकुल सङ्गीत पाठशाला संचालन गरेको देख्दा उहाँ निकै खुसी हुनु भएको थियो।

प्रगतिको कामनाका साथ आशिर्वाद दिनु भयो। मेरो सङ्गीतिक साधनामा उहाँको ठुलो योगदान छ। उहाँ एउटा असल श्रोता पनि हुनुहुन्थ्यो। एउटा सङ्गीत साधकको भावना एउटा साहित्यकारले राम्रैसँग बुझ्न सक्दछ। जव सङ्गीतको धुनमा जीवन्त साहित्यको मिश्रण हुन्छ अनि मात्र सङ्गीतले पूर्णता प्राप्त गर्दछ। हामी एकअर्काबाट टाढारहे पनि गाउँतिरका मित्रहरुसँग भेटघाट हुँदा एकअर्काको बारेमा सोधपुछ र सम्झनाको सन्देश आदानप्रदान गरि नै रहन्थ्यौं।

२०६४ साल जेठ ९ गते उहाँलाई महाराजगंजस्थित शिक्षण अस्पतालमा भर्ना गरिएको रहेछ। खवर सुन्ने बित्तिक्कै दिउँसो म पनि असपताल पुगेँ। हेरचाहामा हुनुहुन्थ्यो उहाँका सुपुत्र महेश दाइ। उहाँ हाम्रो सहयोगमा बिस्तारै बेडमा अडेस गाउँदै बस्नु भयो। त्यही पुरानो बानी, मुसुक्क मुस्कुराउनु भयो र मलाई सञ्चो बिसञ्चो सोधेर केहीबेर हेरि मात्र रहनु भयो। बिस्तारै भन्नु भयो – असल मित्रले जसरी पनि सुख दुःखमा भेटघाट गर्छ।

तपाई भेट्न आउनु भयो मलाई साह्रै खुसी लाग्यो। मैले तपाईलाई सम्झिरहेको थिएँ। बिमारी अवस्थामा पनि उहाँको अनुहारमा कुनै नैरश्यता, उदासीनता केही थिएन। त्यति बेला पनि केही आध्यात्म र प्रेमका कुराहरु नै भए। डिस्चार्ज भएको दिन डाक्टरको सल्लाह अनुसार उहाँका सुपुत्रले ल्याउनुभएको एक महिनाको औषधी देख्दा उहाँले भन्नु भएको रहेछ – अहिले यति धेरै किन किनि हालेको। आठ दस दिनको लागि मात्र ल्याए भैहाल्थ्यो नि। त्यसको ठिक आठ दिन पछि उहाँले प्राण त्याग्नु भएछ। उहाँको त्यो भाषा महेश दाइले पछि मात्रै बुझ्नु भयो। त्यो घटना सम्झदा लाग्छ आध्यात्मिक मनहरुहरुले मृत्युको दिन पनि थाहा पाइसकेका हुँदारहे छन्।

महेशदाईले मलाई सधै भन्नु हुन्थ्यो – ’बुवाले मलाई जीवनभरी धेरै दुःख गरेर पढाउनु भयो। विद्यार्थी जीवनमा पढाईको कारणले बुवासँग टाढा बस्नु प¥यो। बुवा बृद्धावस्थामा प्रवेश गरिसक्दा समेत नौकरीको कारण सेवा गर्न पाइरहेको छैन।‘ महेश दाईले बुवाको अन्तिम अवस्थामा उहाँलाई सेवा गर्ने अवसर पाउनु भयो। जीवनका केही दिन उहाँले छोराको सेवाभाव ग्रहण गर्नको लागि अस्पतालमा बिताउनु भयो। उहाँ अस्पतालको सैयामा बेहोस अवस्थामा कहिल्यै पनि सुत्नु भएन बरु त्यो अवधीभरी छोरालाई ज्ञान गुनका कुरादेखि व्यवहारिक जीवन सम्बन्धी शिक्षा दिनुभयो।

त्यतिमात्र हैन, छोराकै सामु अस्पतालमै अन्तिम श्वास लिई छोराको सेवाभावको अति पवित्र उपहारलाई स्वीकार गर्दै बिदा हुनुभयो। उहाँसँग मैले बिताएका ती क्षणहरु सम्झनामा ताजै छन्। उँहाको बारेमा जति लेखे पनि, जति भने पनि अझै भन्न र लेख्न बाकी नै रहन्छ, तसर्थ उहाँको बारेमा धेरै भन्नु र लेख्नुभन्दा पनि उहाँलाई आभाष गर्नु र उहाँको जस्तो जीवनशैलीमा बाँच्ने प्रयत्न गर्नु एउटा प्रेरणा हो।

नश्वर शरीर त एक दिन बिलाउने नै हो माटोमा। तर पनि जीवन र मृत्यु रहस्यमय नै छन्। बुझ्न त्यति सजिलो कहाँ हुनु। मलाई लाग्छ, जसलाई हामी जीवन भन्छौ त्यो पनि मृत्युसम्मको यात्रा नै त हो। मृत्यु हाम्रो जन्मदिनदेखि नै शुरु हुन्छ। मृत्युलाई एकदिन हरेक प्राणीले स्वीकार गर्नुपर्छ। आज पनि उहाँका रचनाभित्र उहाँलाई भेटाइरहन्छ यो मन । हार्दिकतापूर्वक उहाँप्रति श्रद्धाका अञ्जुली सजिन्छन् मन मस्तिष्कमा। उहाँ यतै कतै हुनुहुन्छ। मात्र उहाँको शारीरिक उपस्थितिको अभाव छ। त्यो उपस्तिति असम्भब पनि छ। उहाँका रचनाहरुको खोजनीति गरिदिने मनहरुको अभाव छ। ती खोजनीति गरिदिने मनहरु भेटिने छन् कुनै दिन।

प्रकाशित मिति: : 2019-12-01 11:07:06

प्रतिकृया दिनुहोस्