झुटो सम्बन्ध

तस्बिरः बिएल

फेरि एकपटक जिन्दगीमा कालो बादल मडारियो जे साचेको थिईनँ त्यहीँ भयो । हुन त सोचे जस्तो जीवन कसको पो हुन्छ र ! तर पनि आफूले सोचेजस्तो नहँुदा सबै तितरवितर हुँदो रहेछ । विगतको पाना पल्टाएर हेर्दा कहाली लाग्छ । जीवनमा कस्तो कस्तो दुःख र पीडाको सामना गरेर आएँ ।

जीन्दगीले भर्खर २० औं बसन्तपार गरेर २१ मा पाइला टेक्दैथ्यो । १२ को परीक्षा दिएपछि युद्ध जितेको सिपाही झै भएकी थिएँ। सुन्दर भविष्यको कल्पना गर्दै दिनहरु बित्दै थिए । मेरो घरमा विवाहको कुरा चल्यो । यसै पनि नेपाली समाजमा छोरीले २० वर्ष काट्ने बित्तिकै विवाह गरिदिन पर्छ भन्ने मानसिकता अधिकाशं नेपालीको हुन्छ । मेरो आमा बुवा शिक्षित भए पनि मेरो विवाह गरिदिन लागिपरेका थिए । घर नजिकैको हजुरबुवा फलाक्दै थिए, “केटो सज्जन छ अहिलेसम्म सुपारी पनि मुखमा हालेको छैन।” विवाहको लमीले बोल्ने चर्चित वाक्य हो यो।

म प्रतिकार गर्दै थिएँ किनकी, मलाई त्यति छिट्टै विवाह गर्नु थिएन। तर, म घरकी जेठी छोरी, परम्परा अनुसार विवाह गर्ने पालो मेरै थियो। मैले जति प्रतिकार गरे पनि मेरो केही लागेन। लगन जुराए सबै मिलेर, म बाध्य भएर विवाहको लागि राजी भएँ।

कुल घरानको केटा हो भनेर हल्ला मच्चिरहेको थियो। मेरो मस्तिष्कले त्यस बेलासम्म पनि बुझेको थिएन के हो कुल अनि के हो घरान। अँ मलाई यति थाहा थियो कि, केटा ईन्जिनियर हो। नाम असिम ढकाल। बाहुनको छोरो अनि म पनि बाहुनकी छोरी। विवाहपछि पढाईदिने सर्तमा विवाह गरेका थिए।

विवाहको दिन घरभरी मान्छे जम्मा भएर नाच्दै थिए। तर, मेरो मनमा ज्वाला दन्किरहेको थियो। आफूले कहिले नदेखेको नभेटेको मान्छेसँग जिन्दगी कसरी बिताउने भन्ने कुरा मैले कहिल्यै सोचेकी थिइनँ। कसरी सम्बन्ध गाँसिन्छ त्यसै?

अनेक रिती रिवाजको साथमा विवाह सम्पन्न भएपछि मलाई बाजा बजाउँदै लिएर गए उनीहरुकै ढकाल निवासमा। मेरो नाम, थर, गोत्र, घर सबै परिवर्तन भयो। नयाँ जीवनको सुरुवात भयो। अब जुन घरमा म बसेको थिएँ, त्यो मेरो माईती कहलियो अनि जहाँ मैले प्रस्थान गरेँ त्यो मेरो घर कहलियो। हाय रे समयको खेल! जुन ठाउँमा हुर्केँ बढेँ त्यही ठाउँ नै मेरा ेलागि विरानो भयो।

ढकाल परिवारको घरमा पुगेर मलाई सबै परिवारलाई ढोगाउन सुरु गरे। म कठपुतली झैं उनीहरुको ईशारामा नाँच्दै गएँ। मेरो सिउँदो रातो रगंले रंगिएको थियो। शिरदेखि पाउसम्म सिंगारिएकी बेहुली हेर्न सबै तछाडमछाड गर्दै थिए। “बेहुलीको निदार ठूलो रहेछ भाग्यमानी रहिछे,” कुन कुनाबाट आवाज आयो ठम्याउन सकिनँ, तर सोचेँ निदार ठूलो हुँदैमा भाग्यमानी हुने भए ठूला निदार हुने जतिले आफ्नै भाग्यले खान पाउँथे होलान् दुःख किन गर्नुपथ्यो?

विवाह भोज खान आएकाहरु विस्तारै विलिन हुन थाले। मेरो श्रीमानको ट्याग पाएका व्यक्ति मेरो आँखा अगाडि देखिएनन्। थकाई र निन्द्राले चुर भएकी म कतिखेर एक्लै निदाएँ पत्तै भएन। रातको दुई बजे ढोका खुल्यो, मसँग कोठामा कोही थिएन। ढोका खोल्ने अरु कोही नभएर मेरो श्रीमान थिए। झसंग भएँ, जमिन भूकम्प आएजसरी हल्लिदैं थियो। त्यो आधा रातमा मेरो सामु उनी मात्रै थिएनन् उनीसँगै रक्सीको गन्ध पनि थियो। सुपारीसमेत खाँदैन भनेको मान्छे रक्सीले हल्लिदै विवाहको पहिलो रात मेरो समिपमा आएर मसँग श्रीमानको हक जताउँदै भने, “सरी ल साथीसँगको जमघटमा हल्का पिएँ।”

कति सजिलै भनिदिए उनले हल्का पिएँ भनेर उनलाई के थाहा उनको त्यो व्यवहारले मेरो मन कति भक्कानियो। मध्य रातमा हल्ला खल्ला गरेर भाडभैलो मचाउन मलाई मेरो संस्कारले दिएन। चुपचाप सुत्ने कोशिश गरेँ। ओल्टेकोल्टे गर्दागर्दै बल्ल बल्ल बिहान भयो। विहान हुनासाथ सोझै सासुसँग गएर कराउन मन लाग्यो। आमाजुसंग झगडा गर्न मनलाग्यो, चिच्याउन मन लाग्यो, तर सकिनँ।

आमाजु, जेठाजु, सासु ससुरा, जेठानी सबैले भरिपूर्ण थियो घर। बिहान भान्सामा चिया पकाउँदै गर्दा मैले साहस बटुलेर सोधें “तपाईको छोराले सबैथोक खानुहुन्छ। खान हुने, नहुने सबै। यति हँुदाहुदै सुपारी पनि खादैंन भनेर किन ढाट्नुभयो?” उमेरले ५० पुगेकी मेरी सासु कड्किदै भनिन् कहाँबाट खान्छ मेरो छोराले नचाहिने कुरा? फेरि अहिलेको जमानामा खायो त के बिग्रियो।” “हो रक्सी पिउँदैमा केही बिग्रिन्न, तर समय हुन्छ जे कुराको पनि, विवाहको रात कुन चाहीँ श्रीमान साथीसँग जमघट गरेर श्रीमतीलाई एक्लै कोठामा छोड्छ मलाई भन्नुस्।” यती भनीसक्दा मेरो आँखाबाट आशुँ झरिसकेको थियो। मनले भन्यो, “छोड्दे आश्मा अब तेरो घर यही हो, तँ जसरी पनि यहाँ बस्नुपर्छ।” मस्तिष्कले भन्यो होइन त बुझ्ने केटी होस्, आफ्नो जीवन जसरी खुशी हुन्छ त्यही गर।” मैले केही निर्णय लिन सकिनँ।

असिम मसँग औपचारिक कुराबाहेक अरु केही कुरा गर्दैनथे। बिहान उठेर उनलाई चिया बनाइदिनु, उनको घरको सम्पूर्ण काम मेसिन जसरी गर्नु मेरो दिनचर्या थियो। न म असिमसँग कतै घुम्न जान पाउथेँ न त उनीसँग मनको कुरा खोल्न नै। पढाई, जिन्दगी सबै बर्बाद भो मेरो।

असिम र उनको परिवारले मसँग बिहे गर्न बोलेका झुट एक एक गरी अगाडि आउन थाल्यो। एसएलसी मात्र उत्तिर्ण गरेको मान्छेले ईन्जिनियर बनेर मसँग विवाह गर्न सक्थे भने अरु जे पनि गर्न सक्थे नि।

उनी र मसँगै हुने मौका कहिल्यै आएन। एउटै छानामुनी बसेर पनि अलग थियौं हामी। हरबखत मोबाईलमै आँखा हुन्थ्यो उनको। उनी घर आईपुग्दा घरका सबैजना सुतिसकेका हुन्थे। म उनको प्रतिक्षामा भोको पेट बसिरहन्थेँ। कहिले उनी बाहिरै खाएर आउथें कहिले आउँदै आउदैन थिए।

नारीले जति सक्षम भए पनि सबैकुरा सहेरै बस्नुपर्ने रहेछ। मैले सहेरै बसेँ। दिन, महिना हुँदैं वर्षौं बित्यो। सबथोक परिवर्तन भयो। मेरो आफ्नो शरीर सुकेर हेर्न लायककै थिएन। यतिसबै हुदा पनि मैले आफ्नो बुवा आमालाई केही भनिनँ। तर, सत्य कतिदिन लुक्छ र? आमाले असिमलाई एकदिन कुनै केटीसँग गाडीमा देख्नुभएछ।

मलाई तुरुन्तै फोन गरेर आमाले त्यो कुरा सुनाउनुभयो। मैले आमाको कुरामा खासै ध्यान दिईनँ। जे जस्तो भए पनि म समाजको अगाडि बाजा बजाएर भित्र्याईएकी उसकी श्रीमती थिएँ। उनले मलाई बेवास्ता गरे पनि अरुसँग सम्बन्ध गाँस्छन् भन्ने अलिकति पनि मेरो मनमा थिएन। ‘एउटी महिलाले सबैकुरा बाड्न सक्छे। तर, आफ्नो श्रीमान अरुसँग बाड्न सक्दिनँ’, आमाको कुरालाई मैले खासै चासो दिइनँ।

असिम र मेरो बिचमा केही कुरा हँुदैंन थियो। उनी कहाँ जान्छन् के काम गर्छन् कोसँग दिनभरी हुन्छन् मैले केही पत्तो पाउँदिन थिएँ। उनले पनि मेरो निजी जिवनमा केही हस्तक्षेप गर्दैनथे र म पनि गर्दिनथेँ। असिम एकदिन मोबाईल कोठामै छोडेर पसल गएका थिए। उनको मोबाईलमा घण्टी बज्यो। उसको फोन उठाउने दुस्साहस मैले गर्न सकिनँ। तर, मोबाईलमा सेभ भएको नामले मेरो मुटु जोडसँग थर्कियो। मुख रातोपिरो भयो। फोनमा सेभ गरेको नाम थियो ‘बेबी’। मैले त्यसैदिन उनको मोबाईल पूरै चेक गरेँ। जुन नामबाट फोन आएको थियो असिमको मोबाईलमा त्यही नामबाट आएको कयौं म्यासेजहरु थिए।

म विश्वस्त भएँ, असिमको अरु कसैसँग सम्बन्ध छ भन्ने कुरामा। यति थाहा हुँदाहुँदै म असिमसँग बस्नु भनेको आफ्नो जीवन ध्वस्त गर्नुझैं थियो मेरो लागि।

मैले निर्णय गरेँ अब मैले असिमलाई छोड्नैपर्छ। जोसँग मेरो एक पल पनि खुसीसाथ बितेन ऊसँग पूरै भविष्य कसरी बित्नसक्छ? मैले अरु केही सोचिनँ। डिभोर्सको निर्णय असिमको कानसम्म पू¥याईदिए। यसै पनि कसैलाई मप्रति कुनै दयाभाव थिएन आखिर सबैको कामदार जस्तै भएर त बसेकी थिएँ म। भित्र कसको मनमा के चल्यो थाहा पाईनँ। तर, असिमको परिवारहरु कसैको आँखामा अलिकति पनि पश्चाताप थिएन। हेर्दा यस्तो लाग्थ्यो—मानौं उनीहरु आफ्नो जीवनमा बसेको काँडालाई सजिलै पन्छाउँदै थिए।

मैले एक पटक पनि कसैको मुख हेरिनँ। सिधै हिँडे आफ्नो बाटो। सोझै अदालत जान मन थियो। तर, गइनँ। आफ्नै माईतीघरमा फेरि पाईला टेकेँ निरिह बनेर।

आफूले घर छोडे पनि असिमले मसँग क्षमा माग्छ कि, भन्ने झिनो आशा पलाएको थियो म भित्र, नभन्दै मोबाईलमा घण्टी बज्यो। असिमले गरेका रहेछन्। अचम्म लाग्यो जुन व्यक्तिले एक बर्षसम्म मसँग अपरिचित जस्तो व्यवहार गरे, उनैले आज मलाई श्रीमती भनेर फोन गरे। उनले बोलाए मलाई भेट्न। तर, म गईनँ। किनकि उनलाई आफ्नो सम्बन्ध बचाउनुभन्दा ईज्जत बचाउनु थियो त्यसकारण बोलाए। तर, उनको मनमा मप्रति अलिकति पनि माया थिएन भन्ने कुरा मैले बुझिसकेकी थिएँ। मैले आफ्नै खुशी दाउमा राखेर कसैको ईज्जत जोगाउन जरुरी पनि ठानिनँ।

डिभोर्सको दिन असिम आफ्नो बुवा र आमाको साथमा अदालत आए अनि म आफ्नो आमा बुवाको साथमा। समयले एक वर्षमै कस्तो कोल्टे फेर्यो। जसले सम्बन्ध गासिदिएका थिए आज उही आमाबाबु निरिह भएर आफ्नो सन्तानको सम्बन्ध विच्छेद गराउँदै थिए।

मलाई अलिकती पनि पछुतो थिएन। जुन व्यक्ति कहिल्यै मेरो श्रीमान बन्न सकेनन् उनीसँग बस्नुभन्दा बरु छुटिनु नै मेरो लागि उत्तम थियो। मैले असिमको आँखामा आँखा जुधाएर हेरेँ। सायद पश्चातापको भूमरीमा जलिरहेका थिए, उनी।

मैले सरासर गएर डिभोर्स पेपरमा सहि गरिदिएँ। अदालतलाई बयान दिन जरुरी ठानिनँ। एक वर्षसम्म बन्न नसकेको सम्बन्धलाई अदालतको १५ मिनेटको बयानले बनाउँछ भन्ने आशा पनि थिएन मलाई। हेर्दा हेर्दै सम्बन्ध विलिन भयो। मेरो र असिमको गन्तव्य परिवर्तन भयो। हामी नदीका दुई किनारा झैं भयौं। जसको भेट यो जुनीमा असम्भव थियो।

हातमा भएको चिया सेलाईसकेछ। सोच्दा सोच्दै कहाँ पुगेछु म। फेरि विगतले एकपटक झक्झकाएर गयो। घडिमा ८ बजिसकेको थियो। अफिसको लागि तयार हुँदै गर्दा पनि किन किन मानसपटलमा असिमसँग गाँसिएका झुटो सम्बन्धका केही झलकहरु घुमिरहे।

प्रकाशित मिति: : 2019-11-30 10:09:44

प्रतिकृया दिनुहोस्