थोरै अँध्यारोको पर्दा सर्न
के आटेथ्यो हेर
एक हूल नाङ्गै अग्नि जुलुसहरू
मेरो नजिक नजिक आए
सगरलाई पेवा बनाए
आगोको लप्का निल्दै
बैसको आँधीतुफानमा उड्दै डुव्दै
मृत्युको बेसुरा धून बजाउँदै
फूलहरूको हंगामामा
ताराहरूको जन्ती बनेर
मान्छेहरूको मलामी भएर
बालुवा खाँदै आगो ओकल्दै
उल्टो बगेको नदीको बहावमा
उल्टै बहेको जीवनको लय खोज्दै
किशोरी बताससँग मस्किदै
बूढो साँझसँग हस्किदै
मौनताको बिगुल फुकिरहे
मृत्युको साइरन बजाइरहे
पोल्ने हिउँको राप जस्तै
पगाल्ने मनको तापमा
पग्लिदै जम्दै अग्लिदै
बीच सड़कमा ठिंग उभिएर
ठूलो होडिङ बोर्डतिर
ङिच्च दाँत देखाइ हाँस्दै
एक हूल नाङ्गै अग्नि जुलुसहरू
मेरो नजिक नजिक आए
अलिकति उज्यालोको पर्दा सर्दै गर्दा
फूलको अस्मिता लुटिँदा
देउरालीको बूढो वर ढालिदा
दोवाटोमा माइलो साइंलो मारिदा
साना शिशु पोथ्राहरूमा सलाई कोरिदा
धूलामा रहेका पूर्खाका पदचापमा
आफ्नै पदचापका छाया खोजिरहदा
शोकधूनसहित
सौग़ातमा हुरी लिएर आए
सौग़ातमै छुरी दिएर गए
उज्यालो पारि
अँध्यारो वारि हुदा पनि
मृत्युलाई जिब्रोले चाट्दै
एक हूल नाङ्गै अग्नि जुलुसहरू
आवाजको गोली सहित
मेरो नजिक नजिक आए
आखिरी चूपचाप चुपचाप फर्किए
जमुना आ.सी.
पोखरा