रित्तो गाउँ

तस्बिरः बिएल


घर रित्तो हुँदै जाँदा
गाउँ रित्तो हुँदै गयो
अहिले गाउँ रित्तो छ
यसरी गाउँ रित्तिँदै गएपछि
कुनै बेला देश पनि रित्तो नहोला भन्न सकिन्न
आखिर देश भनेको भूगोल मात्रै कहाँ हो र ?

ओ वीर बहादुर दाइ !
जनसङ्ख्या घर धेरै छन् तिम्रो गाउँमा
मान्छे नै नभएपछि यी घरहरूमा
कसरी समृद्धि आउँछ मेरो देशमा ?
बेसीदेखि माथि लेकसम्म पुरै खेत बाँझो छ
चिप्ली खोलाको पानी कहिल्यै सुक्दैन भन्छिन् मनकला भाउजू
पानी नसुकेर के गर्नु मनकला भाउजू ?
यहाँको जवानी खाडीमा सुकेपछि ।

अस्तिजस्तै लाग्छ किस्ने बालाई
मुरीका मुरी धान वनको बाटो हुँदै जैमुरे पठाएको
आज त्यही बाटो पनि बन्द भयो
अहिले जेठाबुढाको चामल सम्झिँदै
कसेरीबाट छोराले पठाएको मन्सुली चामल
कसौँडीमा उमाल्छिन् सानी आमा
सहरका डेरा छोरी बुहारीले भरिएका छन्
छोरा, ज्वाइँहरू परदेशतिर भासिएका छन्
भएको त्यही एउटा स्कुल पनि बन्द छ
सरकार जापानसँग श्रम सम्झौता गर्छ
देशले नयाँ युगमा प्रवेश गरेको घोषणा गर्छ ।

मलाई सम्झना आउँछ नेत्र सरको
सामाजिक पढाउँदा बारम्बार भन्नुहुन्थ्यो सरले
जापानको जन त्यो देशको धन हो बाबुनानी हो !
आज जापानले हाम्रो धन लैजान खोज्दै छ
हामी खुसीले बुरुक्क उफ्रेका छौँ
सहरमा घर बनाउने सपना देखेर ।

 

प्रकाशित मिति: : 2019-09-21 09:43:01

प्रतिकृया दिनुहोस्