ओ राममाया ! ओ राममाया !
के गरेर बसेकी एक्लै ?
बोल न बोल
किन नबोलेकी ?
यति बिहानै तेरा बा कहाँ गए ?
भन् न भन्, भन्दिनस् ?
ए...! थाहा पाएँ
पारि नियार गाउँमा सरात गर्न गए
सोह्र सरात पनि सुरु भइसकेछ बा !
तेरा बालाई पैसा कमाउन भ्याइनभ्याई छ है ?
तँलाई थाहा छ राममाया ?
तेरा बालाई त अचेल सामन्ती बाहुन बूढो पो भन्दा रै’छन्
अब त तँ पनि सामन्ते बाहुन बूढाकी माहिली छोरी न भइस्
शोषक बाहुन बूढाकी छुच्ची छोरी न भइस्
तिमीहरूको खलकै सामन्त ।
हुन त तेरा बाले कसैलाई ठगेका छैनन्
हुन त तेरा बाले कसैलाई जबरजस्ती गरेका छैनन्
अलिअलि पुख्र्यौली सम्पत्ति तेरा बाको थियो नै
त्यसमाथि
आफ्नै पौरखले
एउटा राम्रो घर न बनाएका हुन्
तेरा हजुरबाले ऊ जमानामा पनि
साँवा अक्षर चिनाइदिएका रै’छन्
आँखा देखाइदिएका रैछन्
र
पुरेत्याइँ गर्न सकेका हुन् ।
तेरो दाइ यही देउथानको पाखामा
गाइभैँसी चराउँथ्यो
मेलापात गथ्र्यो
मेहनत गरेर पढ्थ्यो
दुःख भोगेरै उच्च तहमा पुगेको हो ।
तँलाई थाहा छैन राममाया
तेरी दिदीलाई हुर्काउन
तेरा दाइलाई पढाउन
कम्ती दुःख गरेका छैनन् बूढाले
घाम भनेनन्, पानी भनेनन्
भोक प्यास केही भनेनन्
तेरी आमा मरेपछि त
बूढा एक्लै जोतिए, एक्लै लोतिए
आराम भन्ने शरीरले कहिल्यै पाएन
तिमीहरूको मुखमा चारो पु¥याउँदै ठिक्क भयो
तिमीहरूलाई पढाउँदैमा समय गयो
तिमीहरूको लुगाफाटो जोहो गर्दैमा बुढेसकाल भयो ।
ओहो ! यो त रुन पो थालिच
रोइहाल्न पर्च ?
मैले त तँलाई तेरा बाको सङ्घर्षको कथा पो भनेको
मैले त तँलाई तेरा बाको स्वाभिमानको कथा पो भनेको
कसैले सामन्त भन्यो भन्दैमा
तेरा बा सामन्त हुँदैनन् राममाया ।