रिमा केसी

तिम्रो रगतको कण कण

र पसिनाको थोपा थोपाका

मूल्यको कथा

लेख्न चाहन्छु बा ।

 

तिम्रा हरेक

दुःख, पीडा अनि वेदनाका

महासागरका

अमूल्य छालहरुका

ब्यथा लेख्न चाहन्छु म ।

 

बुढ्यौलीले पाकेका

ती सेताम्मे

केशहरुको

सहनशीलताको

परिभाषा लेख्न चाहन्छु म ।

 

वर्षौ देखि

लाखौं सपना देख्दै

कहिले ननिदाएका

कदापि नथाक्ने

ती चम्किला

नानीहरुको

बिपना लेख्न चाहन्छु म ।

 

तिम्रो त्यो निर्दोष

अनुहारमा

खुम्चिएको

ती नशाका

रेशा रेशाको

आयुको भाषा लेख्न चाहान्छु बा म ।

 

तिम्रा ती कलेटी परेका

ओठहरुको

अद्भूत

मिठो मुस्कानको

उल्लास र उमगंको

आशा लेख्न चाहन्छु म ।

 

तिम्रो त्यो

सत्तरी नाघेको उमेरको

उर्वर जोशिलो

यौवन रुपको

रहर र जुझारुपनाको

उदाहरणको

नवीन उपन्यास लेख्न चाहन्छु म बा !

प्रकाशित मिति: : 2019-08-23 07:33:37

प्रतिकृया दिनुहोस्