हराएको पेनड्राइभ भेटियो

हराएको पेनड्राइभ भेट्ने सर्जक - अमृत भण्डारी । तस्बिरः बीएल

कालिपारबाट साइलादाइले दसैंमा घर आउँदा काँधमा हालेर पनि मुस्किलले बोक्न सकिने क्यासेट टेप लिएर आउनुभएको थियो ।

दाइ नेपाल बसुन्जेल मज्जाले त्यसमा गीत, रेडियो सुनियो । दसैं तिहार सकिएपछि त्यो क्यासेटप्लेयर घरमै छोडेर दाइ फेरि कालिपार जानुभयो ।

दाइ कालिपार गएपछि त्यो क्यासेट प्लेयर मेरो हातमा आयो, त्यति बेला कारगिल युद्वका गाइनेदाइले गाएका गीत, नेपाली लोकगीत र पोखरा क्षेत्रीय प्रसारण केन्द्र मलाई निकै मन पर्थ्यो ।

६ वटा ब्याट्री लाग्ने त्यो टेप प्लेयरमा एकपटक नयाँ ब्याट्री हालेपछि ८–१० दिन बज्थ्यो। तर, हप्तैपिच्छे त्यो ब्याट्री किन्ने पैसा मसँग कहाँबाट आउनु ? साइड 'ए' को गीत मन परेन भने टेप प्लेयरबाट री गरी ब्याट्री सक्नु भन्दा म साइड 'बी' मा बजाउन हातैले डटपेन हालेर फनफनि घुमाउने गर्थेँ । यसरी घुमाउँदा कतिपटक रिल चुडिन्थे, कहिलेकाँही बज्दाबज्दै क्यासेटप्लेयरले नै रिल चपाउँथ्यो र कामै नलाग्ने हुन्थे ।

चुडिएर काम नलाग्ने भएका रिल हामी गहुँबारीमा दुम्सी पस्दैन भनेर बारीको वरिपरि लठ्ठी गाडेर त्यसमा बाँध्थ्यौं । यसरी रिललाई लठ्ठीमा बाँध्दा हावा लागेको बेलामा माहुरी कराएजस्तै भुँभुँ आवाज आउँथ्यो ।

राति दुम्सी गहुँबारीमा पस्यो पने त्यही आवाजले डराएर भाग्छ भन्ने मान्यता थियो । आवाजले मात्रै कहाँ दुम्सी भाग्थ्यो र ? ठाँउ ठाँउमा फुटेको घैटोको टाउको र हजुरबाको पुरानो फाटेको कोटबासको लठ्ठीलाई लगाइदिएर पुत्ला पनि बनाउनु पर्थ्यो ।


यो पनि हेर्नुहोस् 
अमेरिकी युवाहरूमा हिन्दु धर्मको देवी देउताहरू प्रतिकाे आकर्षण।

नयाँ ब्यट्री हालेको दिनको सुरूसुरूमा त ठूलो ठूलो आवाजमा गाँउ-छिमेकीले पनि सुन्ने गरी घन्काइन्थ्यो । ब्याट्री सकिन सकिन थाल्यो भने दिनभर घाममा ब्याट्री सुकाएर दातले ब्याट्री टोकेर बेलुका मात्र बजाउँने गरिन्थ्यो।

एकदिन त्यो क्यासेट प्लेयर बिग्रियो । गाँउ नजिकैको बजारमा एकजना घडी-रेडियो मिस्त्री थिए । उनैले खोलेर चुडिएको तार जोडेर बज्ने बनाइदिए । फेरि खै के भयो ?, त्यो नयाँ ब्याट्री राख्दा पनि नबज्ने भयो।

यसपटक भने म आफैं बनाउन कस्सिएँ । बिग्रेको छाताको करङ् भाचेर त्यसलाई ढुङ्गाले थिचेर पेचकस बनाएँ । त्यसैले क्यासेटप्लेयरका नटबोल्ड घुमाएर खोलेँ।  त्यहाँभित्र सबैभन्दा पहिले बाँसुरी भेटियो।

बाँसुरीलाई तामाको कोइलले बेरेको थियो। मैले तामाको कोइललाई हटाएँ र बासुरीमा औंला अड्याउने प्वाल खोजेँ, तर भेटिएनन्।

ससाना मादल र तबला पनि भेटिएका थिए । जति खोतल्दा पनि गीत गाउने गायक भने त्यहाँ भेटिएनन् । अनि, मैले आवाज आउँने त्यो चुम्बकको जाली पनि च्यातेँ । त्यहाँ झन हमपाइपको दुलोजस्तो मात्रै थियो। त्यति खोतली सकेपछि अब त्यसलाई प्याक गरेर बज्ने अबस्था झनै थिएन ।

यसलाई यतिकै घरमा राख्यो भने किन यस्तो बनाएको भनेर आमाबुवाको पिटाइ खाइन्छ भनेर आमा बुवा मेलाबाट आईनपुग्दै अलिपरको गहुँबारीमा सानो खाल्डो खनेर पुरीदिएँ ।

बिग्रेको हुँदा केही दिनसम्म त घरमा कसैले पनि खोजतलास गरेनन् । एकदिन बुवाले बजार जाँदा बनाउन लैजाने भनेर निकै खोजतलास गर्नुभयो । कतै नभेटिए पछि मलाई सोध्नुभयो ।


यो पनि हेर्नुहोस् 
बिएल बिशेष: 'मेक्सिको सीमा पर्खाल स्थलगत रिपोर्ट

 हाम्रो गाँउमा एकजना चोर स्वभावको मान्छे थियो । कसैको घरमा केही हरायो भने सबैले उसैलाई चोरको आराप लगाउँथे। मैलै पनि त्यसै गरिदिएँ। (.........) ले चोर्‍यो कि त?

क्यासेटप्लेयरलाई खाल्डो खनी पुरे पनि क्यासेटका रिल भने घरको खोपा (नोल) मा राखिरहेको थिएँ । म ठूलो हुँदै गएँ । अब कक्षा ६ मा पढ्ने भएँ । गाँउमा नजिक स्कुल थिएन । त्यसैले म अब गाँउदेखि अलि टाढाको बजारमा डेरा गरेर पढ्ने भएँ ।

बेला-बेलामा घर गइन्थ्यो । घर गएर मेरो पहिलो काम भनेकै खोपामा थैलोले बुजो लगाएर राखेका रिल सुरक्षित छन् कि छैनन् भनेर हेर्ने हुन्थ्यो । कुनै दिन कमाउने भएर आफ्नै पैसाले अर्को क्यासेटप्लेयर किनेर ती रिल सुन्ने धोको मरेको थिएन।

म अझै ठूलो हुँदै गएँ । गुणस्तरीय शिक्षाको खोजीमा बुवाले मलाई सल्यानबाट दाङको स्कुलमा कक्षा ९ मा भर्ना गरिदिनु भयो । अब मेरो बेला बेला घर जाले क्रम पातलियो । म दशैं र गर्मी बिदामा दुईपटक मात्र घर जान्थेँ ।

मैले कक्षा १० मा पढ्दापढ्दै बुवाले गाँउको घर अर्कैलाई बेचिदिनुभयो र दाङमा बसाइ सराइ गरेर आउँनु भयो। त्यसपछि मेरो घर जाने बाटो नै बन्द भयो । बर्सौ पछिसम्म पनि गाउँ जाँदा आफ्नो घरको याद आउँथ्यो ।

डिभी परेर पनि पूरा नहुने भयो- धेरै नेपालीको अमेरिकी सपना!

त्यो घरको अगाडि उभिएर फोटो खिचेर फेसबुकमा पनि हलिन्थ्यो । तर, त्यो घरको खोपामा पुरानो थैलोलाई गुटुमुटु पोर कोचेर राखेका रिल भने बिर्सिसकेको थिएँ ।

कहिले पढाई , कहिले तालिम, पेसा व्यबसाय गर्दै अहिले परदेशमा बस्न थालेको पनि ५ वर्ष बितिसकेछ । २०–२२ वर्ष पहिलेका कुरा त अहिलेसम्म सम्झनामा राख्ने झन कुरै भएन ।

यसपटक म गाउँ जाँदा जन्मघर भत्किएको रहेछ । घर भत्किए पनि एउटा झ्याल उभिएकै थियो यसकै आधारमा मैले रिल लुकाएको खोपाको अन्दाज गरेँ र केही ढुङ्गा पल्टाएर हेरेँ । मैले हराएको क्यासेटको रिल भेट्टाएँ ।

अहिले जमाना फेरिएको छ। त्यो बेलाक रिल अहिले पेनड्राइभ युगमा बदलिएका छन् । यो रिल चुडिएको टेप भेटिएसँगै त्यो बालापनका सबै याद, पानी भरिएको बेलुनमा सियोले घोच्दा जसरी छताछुल्ल हुन्छ त्यसरी नै छताछुल्ल भइरहेका छन्।

प्रकाशित मिति: : 2019-08-02 06:52:34

प्रतिकृया दिनुहोस्