छोरी, ऊ तिम्रो बाबा !

छोरी, ऊ तिम्रो बाबा ! एक प्रतिकात्मक तस्बिर ।

सधैझैं फेसबुकमा टहल्दै थिएँ । मेसेञ्जरमा मेसेज रिक्वेष्टको रातो रंग देखापर्यो, क्लिक गरेको चिरपरिचित नाम रहेछ- सन्ध्या श्रेष्ठ । प्रोफाइलमा धमिलो फोटो तर मेरो मष्तिकमा गाढा भएर बसेको एक प्रतिबिम्ब र साथमा केही शब्दहरु पनि,,,

प्रिय सन्देश,

कुशलताको कामना । सन्देश, भन्नुपर्ने त धेरै छ, मुटुभरि कुरा तछाडमछाड गर्दा मुटु नै फुट्ला जस्तो हुन्छ तर पनि भन्न सक्दिन । नसम्झेको पनि त कुनै पल छैन । हुन् पनि हो बिर्सनलाई त्यस्तो धुन्धान कारण पनि त थिएन । अलिकति यो मन नै दुखेको न हो । तर पनि तिम्रो यादमा बग्ने यी आसुले ती सबै पीडा बगाइसक्यो । हुन त तिमीलाई सम्झनु भनेको ती पीडा फेरि बल्झ्नु हो तर पनि बिर्सन सकिँन । बिर्सुं पनि कसरी तिमीसँगै पुगेको गल्लिचौर अनि ती भगवानको घर सबै सबैले हरेक पल तिमी मसँगै हुनुको आभाष दिलाइरह्यो । हुन् त मान्छेले चाहेर के नै हुन्छ र ? हुने भएको भय त तिमी मसँगै हुन्थ्यौ नि होइन र ? यी बगेका आसु तिमीसँगको बिछोडमा नभई खुशीमा बग्थे होला। तिमी सम्झनामा, यादमा नभई यथार्थमा मसँगै यी हातमा हात राखेर हिडिरहेका हुन्थ्यौ होला । त्यो पनि श्रीमान मात्र नभएर बाबाको रुपमा पनि ।

हो, सन्देश तिमी श्रीमान् मात्र होइन, बाबा पनि हौ एक छोरीको । तिमी हरेक पल मसँगै छौ, तिम्रो अंश हाम्रो छोरीको रुपमा ।

तिमीले घर छोडेको दिन नै मेरो प्रेग्नेंसी को रिपोर्ट आएको थियो । रिपोर्ट आएपछि तिमीलाई सर्प्राइज दिन्छु भनेर पहिला नभनी बसेको थिए तर भन्नुभन्दा पहिले नै तिमीले हामीलाई छोडेर गयौ । म बिना यिनीहरुको के होला कसरी बाँच्लान्, किन सोचेनौ  ? यसको उत्तर अहिलेसम्म भेटेकी छैन मैले । न छोरीलाई नै भन्न सकेकी छु तिमीले हामीलाई छोडेर गएको कुरा ।

हो सन्देश, १५ बर्षकी भई छोरी । तर, उनीमा कहीँ कतै आफू भेट्दिन । नखोजेको पनि होइन मेरो प्रतिबिम्ब उनीमा तर म असफल भएँ ।जति जति उनी ठुली हुदै गइन्, मेरो हैन तिम्रै प्रतिबिम्ब हावी हुदै गयो । त्यही अनुहार, त्यही चुच्चेनाक ठुलो निधार सबै काटीकुटी तिमी नै आएर बसेको जस्तो लाग्छ अनि तिमीजस्तै रहस्यमयी ।

साह्रै ज्ञानी छिन् ,गुनासो गर्ने ठाउ कहीँ कतै दिएकी छैनन् । कुनै दिन कसैले तेरी छोरी यस्तो उस्तो भन्ने सुनेको छैन । बर्षौ तपस्या गरेपछि भगवानले प्रशन्न भएर आशीर्वादको रुपमा दिए जस्तो लाग्छ । त्यसैले त सधैँ ऋणी छु भगवानको अनि तिम्रो पनि । यति राम्री असल छोरीलाई मेरो कोखमा राखिदियौ । मेरो कोख भरिदियौ । 

समय सधै एउटै हुदैन यो सत्यलाई स्वीकारेको छु  । तर समय यति निष्ठुरी हुन्छ यसलाई स्वीकार्न सकेको छैन मैले । समयको बाङ्गा टिङ्गा धर्को ले जीवनमा यतिबिध्न उथुल्पुथल ल्याउछ जो मेरो कल्पना भन्दा बाहिर छ । 

मलाई थाहा छ-  तिमी भाग्यमानी छौ, खुशी छौ । म पनि यही चाहन्छु तिमी सँधैभरि यसरी नै खुशी रहनु , सुखी रहनु ।  सोचेकी थिएँ तिम्रो जीवनमा कहिल्यै फर्कने छैन । तिम्रो खुशी कहिल्यै धमिल्याउने छैन तर सोचेको जस्तो हुदो रहेनछ जीवन । लाग्थ्यो म धेरै बलियो छु, कहिल्यै टुट्दिन तर भाग्यले फेरि ममाथि खेल खेल्यो । त्यसैले त तिम्रो परिवारको खुशीमा आँखा लगाउान बाध्य भएँ । तर, त्यो मेरो लागि हैन, छोरीको खुशीको लागि । सक्छौ भने अलिकति खुशी हामी आमा छोरीको पोल्टामा पनि हालिदेउ । तिमीलाई पाप होइन, पुण्य हात लाग्ने छ ।

हो, सन्देश तिमीबिना बिताएको १५ बर्ष चाहिदैन । मलाई थाहा छ,  तिमी मेरो जीवनमा आउँनु भनेको त्यो पीडा फेरि फर्किनु हो, तर पनि मलाई मञ्जुर छ ती सब सहन । तिम्रो जीवनमा हाम्रो कुनै भ्यालु छैन, हामी बिना पनि तिमी धेरै अगाडि बढेका छौ  । तर, तिमीबिना त हाम्रो समय मात्र अगाडि बढेको रहेछ वास्तवमा । हामी त त्यही रहेछ्यौ जहाँ तिमीले छोडेका थियौ । तिमीले कल्पना पनि गर्न सक्दैनौ तिमीबिना हामी कसरी बाँच्यौ । तिमीबिना छोरी कसरी हुर्काएँ । कहिल्यै जान्न चाहेनौ । या भनु तिमीभित्रको अभिमानले यसो गर्न दिएँन । तैपनि छोरीलाई त्यसरी नै हुर्काएको छु जसरी तिमी भएको भए हुर्काउथ्यौ । केहीको कमी हुन दिएको छैन, न माया, न कुनै सुख सुबिधा ।

तर,  सन्देश बाँच्नको लागि माया, सुख-सुबिधाबाहेक अरु पनि चाहिँदो रहेछ । छोरी मेरी हो मैले नौ महिना कोखमा राखेर जन्माएको, आफ्नो दुध चुसाएको सत्यभन्दा बेसी सत्य आमाले चिनाइदिएको बाबुको हुदो रैछ नागरिक हुनको लागि । हुन् त तिम्रो सबै कुरा छोरीलाई भने, भने उनी अनागरिक नै भएर बस्न राजी हुन्छे तर तिम्रो नाम लिएर हिड्न मन्जुर हुने छैन । तर, पनि एउटी आमा आफ्नी छोरी अनागरिक् भएर बाँचेको कसरी देख्न सक्छे र ? शायद तिमी पनि त आफ्नो रगत अनागरिक भएको पक्कै देख्न सक्दैनौ । न हाम्रो सम्बन्धलाई कसैले गाली गरेको । त्यसैले त ती सब पीडा फेरि सहन तयार छु म ।

के तिमी मेरो निर्णयमा सहमत छौ ? के फेरि मसँग पाइलाहरु संगै मिसाएर हिड्न सक्छौ ? सक्छौ भने आउ मेरा यी हात केही पलहरुको लागि थामी देऊ । यो फाटेको मनलाई फेरि मायाले सिलाइ देऊ। तिम्रो त्यो काखमा निदाउँन देऊ । त्यो पनि कहिल्यै नउठ्ने गरी । यो  सिउँदो रंगाउने बेलामा तिमीले खाएका कसम पूरा गर्न सकेनौ, यो गुनासो कहिले हुने छैन । तर, मेरो मनको यी ईच्छालाई नमारी देऊ । अब उप्रान्त कहिल्यै गुनासो गर्नेछैन तिमीप्रति । राम्रो श्रीमान हुन सकेनौ, छोरीको लागि आदर्श बाबु हुन् सकेनौ यो गुनासो मसँग राख्न चाहन्न । न म सँगै लिएर जान नै चाहन्छु । कि त म गलत हुँ यो प्रमाणित गरिदेऊ या त तिमी साँचो हौ यो बताइदेऊ । जुन दिन तिमी र मेरोबिचको सच्चाई मेरो सामु आयो त्यही दिन तिम्रो सामु जान चाहेको थिएँ तर तिमी अरु कसैको भैसकेको थियौ । तर पनि तिम्रो बारेमा केही नराम्रो बताइन् छोरीलाई । तिम्रो आदर्शलाई कहिल्यै मर्न दिंन उनको अगाडि । हुन त तिमी नराम्रो नै पो कहिल्यै थियौ र ? जे भयो परिस्थितिले बनायो । तर, ममाथि अलिकति विश्वास गरेको भए अहिले यो दिन आउँथेन कि ? यो कुराले तिमीलाई कहिल्यै नपिरलोस् ।

..................

योभन्दा अगाडि पढनै सकिँन, आँखा भरिएर आयो, कम्पुटरको स्क्रिन धमिलो हुदैँ गयो । आँखामा बादल लाग्यो । एकैछिनमा बादल पनि फाट्यो  । अनि फाटेको बादलबाट आसुको वर्षा भैरह्यो । कम्प्युटरको स्क्रिनमा अहिलेकी सन्ध्या र झरिरहेको प्रत्येक आशुको थोपामा १६ बर्षअघिकी सन्ध्याबाहेक अरु केही देखिँन । 

क्याम्पसको व्यक्तित्व कला विकासको तालिममा भेट भएको थिएको सन्ध्यासँग । सुन्दरता केलाई भनिन्छ ?, उनलाई भेटेपछि घाम र पानी जस्तै छर्लंङ्ग भएको थियो । मान्छेको बाहिरी सुन्दरतालाई भित्री सुन्दरताले कति फिक्का बनाइदिन्छ, त्यसपछि मात्र थाहा भएको थियो । 

बिहान कलेज पढ्ने अनि दिउँसो एउटा एनजीओमा गर्थिन् उनी । आफ्नो लागि आफै केही गर्नुपर्छ भन्ने मात्र होइन, अरुको लागि पनि केही गर्नुपर्छ भन्ने बिचार राख्ने मात्रै होइन आफ्नो जिम्मेवारीको बहन पनि राम्रोसँग गर्थिन् उनी । 

सायद उनको यही बानीले होला नचाँहदा नचाँहदै पनि म उनीप्रति खिचिदै गैरहेको थिएँ । उनको सफलता देखेर आफैलाई गर्व लाग्थ्यो । उनलाई देखेर त्यसै त्यसै लोभिन्थ्यो यो मन । एकदम अपुरो-अधुरो लाग्थ्यो उनीबिना । सायद छुट्टै आकर्षण थियो उनीप्रति । युवा अवस्थामा हुने आकर्षणभन्दा भिन्न, सम्मान र जिम्मेवारीपूर्ण । यही आकर्षणलाइ हामीले सम्बन्धको नाम दियौ । 

बिहे हुनभन्दा अगाडि जसरी उनीप्रति गर्व हुन्थ्यो । तर, श्रीमान् भएपछि त्यो हुनुको अभिमानले मलाई कतै पोलिरह्यो । जलिरहेँ उनको सफलतामा । जति नै पढे/लेखेको बुझ्ने भए पनि मेरो पुरुषत्व ममाथि हावी भयो। प्रेमी हुँदा उनको अगाडि सानो हुदा, उनीसँग हार्दा एउटा युद्ध जिते जस्तो हुने मलाई बिहेपछि उनको श्रीमान् भएर उनको नामबाट चिनिन मन्जुर भएन । उनले सुरु गरेको सामाजिक अभियानलाई जसरी सपोर्ट गर्थें पहिला, अहिले पहिलो तगारो म नै बन्न पुगें । पहिला जो सुकैसँग बोले पनि जहाँ गए पनि सधैँ सम्मान र विश्वासको नजरले हेर्ने मेरा यी नयनले अब कसैसँग बोले पनि शंकाको दृष्टिले हेर्न थाले।

सायद मान्छेको सोच बदलिएपछि नजर पनि बदलिन्छ क्या रे । म पनि बदलिएँ तर दोष उनीमाथि थोपारिदिएँ ।  झिना-मसिना  कुरामा अल्झिएर सम्बन्धको मिठास पनि हरायो । केही समय अगाडिको हाम्रो त्यो प्रेम एकादेशको कथा भयो । आँखाले देखेको त सधै सत्य हुदैँन तर मलाई सुनेको कुरामा झन् बेची विश्वास लाग्न थाल्यो । उनलाई पाउँन, उनको विश्वास जित्न जति गाह्रो भएको थियो त्योभन्दा कयै गुना सजिलो उनलाई छोड्न भयो । उनीबाहेक अरु सबै सच्चा र उनि एक्ली झुट लाग्न थाल्यो । अविश्वास र अहमताले यसरी गाँज्यो कि उनको पेटमा हुर्कदै गरेको आफ्नो रगतलाई पनि चिन्न सकिन । आफ्नो प्रेमलाई बुझ्न सकिँन ।

म सधैँको लागि उनलाई छोडेर बेलायत आएँ । त्यसको केही समयपछि उनले पनि घर छोडिन रे । कहाँ गईन्, के खाइन्, बच्चा जन्मियो जन्मिएँन ? कसरी हुर्काइन् ?  यी सब कुराले मेरो अहमतालाई तोडन सकेन । अहँ कति पनि अटस मटस भएन यो मन । आफुले माया गरेको, दु:ख-सुख जे भए पनि साथ् निभाउछु भनेर सिउँदो हालेर घर भित्राएकी जीवनसंगिनी र संसारै नदेखेको बच्चालाई त्यस्तो अबस्थामा छोड्दा पनि मलाई केही जस्तै लागेन । सायद म मान्छेको रुपमा मन क्षत-बिक्षत भैसकेको राक्षस पो भैसकेको थिएँ कि ? शायद यसैले हुनसक्छ, एउटा फुल्दै गरेको फूललाई लुछन चुड्नको लागि समाजलाई नै छोडी दिएँ । मिल्काइ दिएँ कतै ।

नेपाल छोडेको केही बर्ष पछि उनको अन्तरवार्ता देखेको थिएँ टिभीमा । महिला तथा बालबालिकासम्बन्धी कार्यक्रमको को-अर्डिनेटर गर्ने रहिछिन् । साँच्चै ठूली मान्छे भएकी रहिछन् उनी । आफू र समाजप्रति मात्रै होइन, देशप्रतिको जिम्मेवारी पनि पूरा गरिछिन् । खुशी लाग्यो, गर्वले छाति फुल्यो । तर पनि न पश्चातापले यो मन गल्यो, न आफ्नो रगतलाई नै खोज्ने चेष्टा नै गर्यो । सायद कतै जलन पो थियो कि आफूभन्दा धेरै अगाडि गइन् भन्ने । 

त्यसपछि आज नै हो उनीलाई सम्झिएको यो मनले । आफैँले आफैँलाई देखेर घिन लाग्यो, घृणा लाग्यो आफुले गरेको ब्यबहार सम्झिदा । आफ्नो मान्छेलाई सम्झिन पनि केही कारण चाहिने, आफ्नो मान्छेसँगको दूरीमा त् हरेक पल रुन्छन मान्छे तर मैले भने आजै हो उनको लागि आसु बगाएको त्यो पनि उनको मेसेज देखेर। आजभन्दा १६ बर्षअघि उनलाई पाएको दिन पनि यसरी नै आसु झरेको थियो आज पनि त्यसरी नै झर्यो । सायद पश्चतापको आसु हुनुपर्छ र सबै बगाएर लग्यो उनिप्रतिको जलन । रिक्ततामा बाँचेको रहेछु म  त, जति जति उनको यादमा रोएँ त्यति नै पूर्ण हुदै गएँ । उनीबिना त छरपष्ट भएर पोखिएको रहेछु, उनीबिना खुशी छु भन्ने कति ठुलो भ्रममा रहेछ म भ्रम पनि टुट्यो । अब यो मन न ढुङ्गाजस्तै कडा रह्यो न माटोजस्तै मैलो । फूलजस्तै चङ्गा भयो, धपक्क फुल्यो मन मुटु । यही फूलजस्तै मनले न यता हेर्न दियो न उता । तन यतै भए पनि मन उडेर कतिखेर सन्ध्यामा पुग्यो, पत्तै पाइँन । आफैं पनि १६ बर्षअघिको सन्देश भएँ । उही प्रेम, उही जोश; उही आकर्षण, उही समर्पण । केही त कमी छैन, सबै यही मनले खोजेजस्तै पूर्ण । यही पूर्ण मनसँगै औला किबॉर्डमा खेल्न थाले । नेपाल जाने टिकट पनि तुरून्तै हात पर्यो ।

.............

हतार हतार अलिकति  कपडा सुटकेसमा कोचेर एयरपोर्टतिर लागेँ । ट्रान्जिटमा प्लेन फेर्न बाहेक अरु कसरी कताबाट नेपाल आइपुगेँ, काठमाडौँमा झरेपछि बल्ल थाहा पाएँ । बेहोसीमै लण्डनदेखि नेपालसम्मको यात्रा तय गरेछु । तर,  काठमाडौँदेखि  घरसम्मको यात्रा मेरो लागि लण्डनदेखि काठमाडौँभन्दा टाढा भयो । मनको दूरीलाई मापन गर्न सकिदैन, मात्र महसुस गर्न सकिन्छ । यो दूरीले कहीँ कतै एक्लिएको म फेरि बाँच्न लागेँ, हाँस्न थालेँ, नाँच्न थाले मिलनको मिठो कल्पनामा । यसै भरिदै गएँ म उनको स्पर्शको कल्पनामा । कतिखेर उनीलाई भेटेर आफुले गरेका एक-एक गल्तीको माफी मागुँ, बेचैनीले मन घेर्न छोडेन । १५ बर्षसम्म उनीबाट टाढा भएर बाँच्दा नरोएको मन १५ मिनेटको दूरीले नराम्ररी रूवाइ दियो ।

त्योभन्दा धेरै अस्पतालको बेडमा पल्टेकी सन्ध्यालाई देखेर रोएँ । क्यान्सरको अन्तिम चरणमा जीवन र मुर्त्युसँग सघर्ष गरिरहेकी रैछन् । मबिना एक्लै जीवनदेखि मृत्युसम्मको यात्रा तय गरिन् सन्ध्याले । त्यसैले त हारेर पनि जितिन् उनी । अनि म भने यसपटक पनि हारें । उनीभन्दा अगाडि म कहिलै हुन सकिँन यसपटक पनि पछाडि  नै रहेँ । त्यो पनि आफ्नै आफ्नाको बिचमा नितान्त एक्लो भएर ।

सन्ध्याको आँखामा हिम्मत गरेर आँखा जुधाउन सकिरहेको थिइन् । न केही बोल्नै सकिरहेको थिएँ ।आँसुले जीवनको हरबाटो रोकिरहेको थियो ।

यतिकैमा हातमा पानीको गिलास लिएर एक अवोध किशोरी कोठामा पसिन् । म उनको पदचापले झसङ्ग भएँ । 

अनायाश सन्ध्याले भनिन्- छोरी, ऊ तिम्रो बाबा ।

सन्ध्याको यो अप्रत्यासित भनाइले उनी झसङ्ग भइन् । हातको गिलास भुइँमा खसेर फुट्यो । उनी चिप्लेर लडिन् । उनको मुखबाट निस्केको पहिलो शव्द थियो एया बाबा । 

मैले उनलाई उठाएँ । 

हामीले सन्ध्यालाई हेर्यौ । तर, उनी त हामी दुबैलाई छक्याएर सदाका लागि गैसकेकी रहिछन् । 

अलविदा सन्ध्या ।

 

प्रकाशित मिति: : 2019-06-30 05:39:36

प्रतिकृया दिनुहोस्