चञ्चले मनले खोजिरहन्छ कैयौं सुन्दर दृश्यहरू। एकान्तमा प्राकृतिक रमणीयता। सजिन्छन् तिनै दृश्यहरु मुटुको कुनाकाप्चामा। जिन्दगीलाई सार्थक तुल्याउँछ यात्राले नै। यात्राले नै दिलाउँछ एक प्रकारको छुट्टै अनुभव र बटुल्न लगाउँछ भिन्न खालको अनुभूति पनि। थपिदै जान्छन् जिन्दगीमा यादका कैयौं पलहरू । आखिर जिन्दगीका सुखद अनुभूति भन्नु तिनै यादहरु त रहेछन्।
जेठ २४ र २५ मा तय गरिएको थियो वाग्द्वार राष्ट्रिय काव्य गोष्ठीको। राष्ट्रियस्तरका कविहरु भेला पारेर समाजको गतिविधिलाई अरु सामु पु¥याउने हेतुले कार्यक्रम गरिएको कुरा सुनाउदै थिइन कार्यक्रम संयोजक कवि विना थिङ तामाङले। प्रशंसनीय थियो बिना थिङको सक्रियता।
जेठ २४ गते बुढानिलकण्ठ मन्दिर परिसरमा जम्मा हुन पुगेका कविहरुलाई बोकेर अपरान्ह ५ बजेतिर अकालो लाग्यो एउटा बस। गन्तव्य थियो डाँडा गाउँ अर्थात पेन्देल गाउँ जहाँ आफ्नो परम्परागत पहिरनमा सजिएका आमा, दिदी बैनीहरु हातका खादा बोकेर कुरिरहेका थिए पाहुनाको स्वागतका लागि। साँझको बेला शिवपुरीको जंगल छिचोल्दै ग्याल्कर लामाद्वारा संचालित गुम्बा छेउमा रोकिन्छ बस। बसबाट बाहिर निस्कदा देखियो सुन्दर गाउँ अनि गाउँका सुन्दर मनहरु। बिस्तारै आझेल पर्दै थिए सूर्यका किरणहरु। आमा समूहका केही सदस्यहरुले तामाङ संस्कृति अनुसार कोम्हेन्दो (टोटलाको फूल), खादा र सगुनले पाहुनाहरुलाई सत्कार गरिरहदाको दृश्य यादगार थियो।
काठमाडौं त्रिपुरेश्वरबाट ९ किमी पार गरेपछि पुगिन्छ बुढानिलकण्ठ मन्दिर परिसरमा। मन्दिर परिसरबाटै देखिन्छ माथि डाँडातिरको घना जंगल। जुन शिवपुरी राष्ट्रिय आरक्षणको क्षेत्र हो। वाग्द्वार साहित्य समाजका अध्यक्ष श्याम सङ्कल्पका अनुसार उक्त निकुञ्ज राजधानीबाट नजिक पर्नेमा संसारभरिकै पहिलो निकुञ्ज हो।
बुढानिलकण्ठ मन्दिरबाट ४ किमी दूरी पार गरेपछि पुगिन्छ डाँडा गाउँ अर्थात पेन्देल होमस्टेमा। जहाँ तामाङ समुदायको बाहुल्यता रहेको छ। नजिकै छ शिवपुरी आरक्षण क्षेत्र। त्यहाँबाट दृश्यावलोकन गर्दा लाग्छ कतै छुट्टै लोकमा पुगिए जस्तो। गाउँको सिरानीमा पुगेर हेर्दा देखिन्छन् गणेश हिमाल लगायत केही अन्य हिमालहरु। डाँडा मुन्तिर अवस्थित छ टुसाल गाउँ। डाँडाको पश्चिमपट्टी देखिन्छ झोर गाउँ। डाडाँ गाउँबाट ४ घन्टाको पैदल यात्रा पछि वाग्द्वार पुगिन्छ भने ६ घन्टामा पुगिन्छ चिसापानी।
डाँडागाउँबाट १ घन्टाको पैदल यात्रा पछि पुगिन्छ विष्णुद्वार। २ घन्टाको पैदल यात्रा पछि आइ पुग्छ नागी गुम्बा। नागि गुम्बाबाट ५/१० मिनेटको दूरमिा रहेको छ तारे भीर। मुन्तिर देखिन्छ सुन्दर गाउँ तैलुङ। हाइकिङको लागि उपयुक्त ठाउँ मानिन्छ डाँडा गाउँ। जहाँबाट गोकर्ण, सुन्दरीजल, चिसापानी र तारीभीरसम्मको यात्रा समेत गर्न सकिन्छ। तामाङ समुदायको पेन्देल होमस्टेमा खान बस्नको राम्रो सुबिधा छ। होमस्टेमा आतिथ्य सत्कार, गीतसंगीत देखि परम्परागत तामाङ परिकारहरुको स्वादले अझैं १÷२ दिन अरु बस्न पाए हुन्थ्यो भन्ने सोच पैदा गराउछ मनमा।
गुन्द्रुक, ढीडो, सुकाएको मुलाको अचार, मकै र फापरबाट बनेका बिभिन्न परिकारहरु, त्यो क्षेत्रमा उब्जाउ हुने गुलियो आलुका बिभिन्न परिकारहरु, स्पेशल खाजा सेट, सादा रोटी, लोकल कुखुराको मासु जस्ता स्वादिला परिकारहरु खान पाइन्छ पेन्देल होमस्टेमा। काठमाडौबाट नजिकै रहेको सुन्दर दृश्यावलोकन गर्न मिल्ने होमस्टे मध्येको एउटा हो पेन्देल होमस्टे।
साँझपख सुरु भयो सास्कृतिक कार्यक्रम। सुरु भयो तमाङ परिकारसँगै घरमा बनाएको कोदोको बिजुली पानी पिउने कार्यक्रम। रसिक मनहरु बिजुली पानीको चुस्कीसँगै रमाइरहेका देखिन्थे। त्यो अति नै रमाइलो साँझ र अविष्मरणीय साँझ थियो। नाचगान खानपिन अनि सौहाद्रतापूर्ण सत्कार। तलतिर हेर्दा गज्जवको देखिन्थ्यो काठमाडौं खाल्डो। सहरको झिलिमिली देखेर लाग्थ्यो कंकृटको जंगलमा चम्किरहेका छन् जुनकीरीहरु। केही कविहरुले भनिरहेका थिए काठमाडौं त जुनकीरीहरुको सहर जस्तो पो देखिदो रहेछ।
दास्रोदिन अर्थात जेठ २५ गते डाँडागाउँबाट कविहरुका पाइला अगाडि बढ्न थाले हाइकिङका लागि। शिवपुरी आरक्षरणको जंगल। जंगलको बीचमा चौडा बाटो। बाटोमा लाली गुराँस र उत्तिसको प्रेम कथा सुनाउदै हुनुहुन्थ्यो डा संजीव उप्रेती। झुण्ड झुण्डमा बाडिएका थिए कविहरु। चारैतिरको दृश्यावलोकन गर्दै तल्लिन थिए यात्रामा। १ घन्टाको हिँडाइ पछि आइपुग्यो बिष्णुद्वार। कलकल बगिरहेको थियो पहाडको खोचमा सफा अनि चिसो पानी। निकै नै मनमोहक थियो विष्णुमति द्वार क्षेत्र। आआफ्ना क्यामेरामा तस्बिर कैद गर्न होडबाजी नै चलिरह्यो एकछिन। त्यसपछि बिस्तारै पाइला लम्किन थाले ओरालोमा।
स्तुपा जाने बाटो देखाउन कवि शिरीष मगरले यरो दिइएको कागज बाटोमा राखेर चारै कुनामा ढुङ्गाले च्यापे। जसमा एरोसँगै लेखका थिए। कवि विप्लब र साथीहरु। अर्को पट्टिबाट आइरहेका सेनाका जवानले एकछिन घेरबन्दी गरे कागजलाई। पढ्न थाले कागजमा लेखिएको। शायद तिनले विप्लब लेखेको देखेर हेरेका होलान गहिरिएर। सम्झे होलान् द्वन्द्वकालको समय। तिनीहरु गौणरुपले हेरिरहेकै थिए कागजलाई हामी आफ्नो बाटो लाग्यो।
त्यहाँबाट ओरालो झर्दै गर्दा आइपुग्यौं स्तुपामा। स्तुपाबाट आधी घन्टा हिँडेपछि पुगिन्छ तपेश रिसोर्ट। जहाँ त्यो दिनको खानाको व्यवस्थाका साथै आयोजना गरिएको थियो काव्य गोष्ठीको। पूर्वकुलपति कवि बैरागी काइँलाको प्रमुख आतिथ्यमा सुरु भयो कार्यक्रम। कार्यक्रमा उपस्थित वरिष्ठ कवि दुर्गालाल श्रेष्ठ, राष्ट्रगानका लेखक व्याकुल माइला,डा. सञ्जीव उप्रेती, अर्चना थापा लगायतले लोकार्पण गरे वागद्वार साहित्य समाजका अध्यक्ष श्याम संकल्पको मुक्तक संग्रह ‘फाटेको मन’। कार्यक्रममा समालोचक कवि महेश पौडेलको ‘समकालीन नेपाली कविताः प्रवृत्ति र परिलक्षण’ विषयक कार्यपत्र प्रस्तुति र कार्यपत्रमाथि लक्ष्मण श्रेष्ठले रोचक टिप्पणी सँगै सुरु भयो कविता वाचनको कार्यक्रम।
कविहरु थिए सुलोचना मानन्धर, राजेन्द्र पराजुली, रमेश क्षितिज, जसराज किराँती, मनु मञ्जिल, मोमिला जोशी, भुपाल राई, विप्लव ढकाल, डा. बिन्दु शर्मा, राजन मुकारुङ, विप्लप प्रतीक, गीता त्रिपाठी, निमेष निखिल, ज्योति जंगल, हेमन यात्री, फुलमान बल, बिमला तुम्खेवा, तीर्थ गुरुङ, भूपिन खड्का, स्वप्निल स्मृति, गिरी शिरीष मगर, सविता गौतम दाहाल, दिपक सापकोटा, हेमन्त विवश, काशीराम विरश, लक्ष्मी रुम्बा, भूपेन्द्र खड्का, आरके अदिप्त गिरी आदि।
मान्छे स्वभावैले भ्रमणशील प्राणि हो। भ्रमणको त्यो आनन्द पाइँदैन अन्यत्र कतै। झुल्किन्छ मान्छे समयको कुनै कालखण्डमा र समयको बहावसँगै बिलाउछ एक दिन। जिन्दगी त्यही कुनै निश्चित समयको लागि मात्र न हो। जिन्दगीमा सम्झिनयोग्य कतिपय यात्राहरु झैं बन्यो वाग्द्वार साहित्य समाजले आयोजना गरेको उक्त काव्य गोष्ठी, डाँडा गाउँको बसाई अनि त्यहाँबाट देखिएको जुनकीरीको सहरको रात्रीकालीन दृश्य।
हेर्नुहोस् केही तस्बिरहरू