ब्रेक टाइम सकिने जनाउ घण्टी बज्ने समय भएकै थिएन। कक्षामा कोही पनि आइपुगेका थिएनन्। कोही मैदानतिर खेल्न गएका थिए, कोही खाजा खान गएका थिए।
बिष्णी र म भने आ-आफ्नो किताबको झोला बोकेर कसैले थाहा नपाउने गरी बिरालोको चालमा भाग्यौँ।
स्कुलबाट हिम्मत गरेर हामी भागेको त्यो नै पहिलोपटक थियो। हाम्रो अनुहारमा धेरै खुशी र अलिकति भयको रङ पोतिएको थियो।
फूलबारी हाम्रो स्कुलको नाम। स्कुल वरिपरि आँपै आँपका रुखहरुले भरिएको थियो। केही वर र पिपलका रूख पनि थिए। फूलबारी मुनि लमतन्न फैलिएको खेतको फराकिलो फाँट थियो। मास्तिर मुलबाटो थियो।
मूलबाटो भएर गयो भने कसै न कसैले देख्ने डर। कसैले देखेर स्कुलमा कुरा लाइदेला भन्ने कत्रो ठूलो पिर। त्यो भन्दा पनि ठूलो डर थियो आमाको।
स्कुलबाट भागेको कुरा आमाको कानमा पर्यो भने त घर नपुग्दै सिस्नोपानीको चुटाइ मज्जाले भेटिन्थ्यो। त्यसैले तल्लो बाटो लाग्यौं हामी।
कहिले खेतको आलिबाट त कहिले कुलोको डिलबाट धानको बीचैबीच लुक्दैछिप्दै कति ठाउँ लड्दै पड्दै बल्लतल्ल झिम्रुक खोलाको पुलमा आइपुग्यौं।
वरपर कोही आए नआएको हेर्यौ। धन्न कोही पनि थिएनन् त्यहाँ। निकै ठूलो कुरा जितेझैं खुसीले लामो स्वास फेर्यौं।
एकअर्काको अनुहारमा हेरेर मुसुक्क हाँस्यौँ दुबै। पुलमाथि बसेर पालैपालो भएभरको बल लगाएर पुल हल्लाउँदै चिच्यायौं। सन्जोग नै भनौं त्यो दिन खेतमा पनि कोही रहेनछ। खोलामा समेत कोही नआएको।
खेतीपातीको बेला पनि त भएको थिएन नि। धानका पातहरु भर्खरै सुनौलो रंगमा रंगीन बन्दै थिए। करिब करिब २० मिनेट पुलमा मस्तले फुक्काफाल खेल्यौं अनि कुलै कुलाको बाटो हुँदै घर तिर लाग्यौँ।
ओठ तालु सुकाउने टण्टलापुर घाम। गर्मी महिना त्यस माथि सर्पको डर। तै पनि भट्टमासका झ्याङ्ग हेर्दै हिँडीरह्यौँ। बिच बाटो तिर पुगे पछि (बेला र ) एउटा ठूलो दह आउँथ्यो। खेतको डिल अर्थात कुलाको छेउमा एउटा ठूलो बेलको रुख छ। त्यस्को तल एउटा दह छ। गर्मीको बेला त्यहाँ बच्चा बच्चीदेखि बुढा बुढीसम्मका मानिसहरुको भीड लाग्ने गर्दछ। हामी त्यही दहमा झर्यो।
पौडी खेल्यौं धीत मरून्जेल धेरै बेरसम्म। बालुवामा सियोधागो रोप्ने खेल खेल्यौँ अनि बयर र ऐँसलू पनि टिपेर खायौँ। हातहरु बयर र ऐँसलूको काँडाले चिथोरेर रगतपच्छे भएका थिए। माटो लगाएपछि रगत आउन बन्द भयो। थाकेर मस्तसँग ढुङ्गामाथि सुतेर घामको स्पर्शमा डुबिरहेका थियौं। माथिबाट उसको र मेरा भाइ बहिनीहरुले बोलाए पछि बल्ल पो थाहा भयो स्कुल छुट्टी भएर घर जाने बेला भइसकेछ। उनीहरु आइपुगिसकेछ्न्। हत्त न पत्त लुगा लाएर झोला टिपेर घर तिर भाग्यौँ हामी पनि।
स्कुलबाट आउने बेला। पहिला हाम्रो घर आउँथ्यो। घरमा आमा हुनुहुन्थेन त्यो दिन। चाबी झ्यालको चेपमा कपडामा बेरेर लुकाएर राख्दिनुहुन्थ्यो आमाले सधै जसो आफू घरमा नहुँदा। झटपट गरेर ढोका खोलेँ!
लुगा फेरेँ अनि किचनमा गएर हेरेँ -आज खाजामा के छ ? प्रायः आमाले भोकाएर आउँछ्न भनेर दाल, भात, तरकारी अनि अचार बनाएर राख्दिनुहुन्थ्यो कहिले सिलामको कि त भांगोको। उनिहरु दिदिभाइ अनि हामी दिदी बहिनी मिलेर त्यो भात खान्थ्यौं। बिष्णीलाई मेरी आमाले पकाएको खाना असाध्यै मन पर्थ्यो।
थाल चाटी चाटी खान्थी अनि भन्थी- हेर त सफा भयो मेरो थाल माझ्नु पर्दैन। नपत्याए हेर न मेरो अनुहार देखिन्छ थालमा। हाँस्दै ढोका लगाएर उसको घर तिर लाग्थ्यौँ हामी पनि। उसको घर एक तले थियो। खरको छानोले छाएको थियो। कमेरो र रातो माटोले लिपेको। ठूलो ढिकी पनि थियो। हामी सेल पकाउने पिठो कुट्न जान्थ्यौँ कहिलेकाही त्यही ढिकीमा। घर अगाडि आँगन।
आँगन नजिक गोठ। गोठ् भरी गाई, गोरु र बाख्रा थिए। भिरालो बारीका पाटाहरु थिए। तल खेतै खेत। एकान्तमा जङ्गल नजिकै उस्को घर थियो। घर मुनि आरु, बखडा, अनार अनि आँपका रुखहरु थिए। ती मौसममा लटरम्म फल्थे। उस्को बाको अनुमति बिना कसैको छुने पनि हिम्म्त हुँदैन्थ्यो। बारूला, माहुरी र चराले खान्थे पेट्भरी अनि भुँइमा झर्थे।
त्यस पछि मात्र टिपेर खान्थे उनिहरु। गोठ छेउ (अमिलो) निबुवाको ठूलो बोट थियो। गोठ माथी बेलका २/३ वटा अग्ला अग्ला रुख थिए। रुखमा सधै जसो एक जोडी काग बसिरहेका हुन्थे। मलाई उस्को घर साह्रै मन पर्थ्यो वरिपरिको वातावरण रमाइलो लाग्थ्यो। फलफूल पाकेको देख्दा त झन दिनहुँ गइरहुँ जस्तो हुन्थ्यो। तर उस्का बाको चाहिँ साह्रै डर लाग्थो मलाई।
माया त गर्नु हुन्थ्यो उस्का बाले तर किन किन मनभित्र डर लाग्थ्यो सधैं। उसंगै जान्थेँ म जानलाई त। घर नजिक पुग्ने बेला म अलिक वर कान्लानेर लुकेर बस्थेँ। उ गएर हेरेर आउँथि अनि छैनन भन्ने इसारा पाएपछि डराइ डराइ जान्थेँ म। अंगेनाको छेउमा ठूलो पित्तलको कसौंडी हुन्थ्यो सँगै कालो कराइ धेरै जसो ती भाँडामा मकैको आटो र सुकासागको झोल तरकारी हुन्थ्यो अनि साना गोलभेंडाको अचार ! हामी फेरि सबैले बाँडेर खान्थ्यौँ।
यति मिठो लाग्थ्यो मलाई उस्को घरको त्यो खानेकुरा कि जिब्रोमा त्यसको स्वादको स्मृति अझै ताजा छ। मिठो मानेर मजासँग खाइरहेका बेला उस्का बा टुप्लुक्क आइपुग्थे कताबाट कराउँदै ! बिस्नी ! ओ बिस्नी ! कता छेस ? तँ आइस स्कुलबाट भन्दै ! मेरो त सातोपुत्लो उड्थ्यो आवाज सुन्दा।
कती पटक उस्को भाइलाई लौरोले कुटेको देखेकी थिएँ। उसकी आमा र बाको कति पटक झगडा परेको देखेकी थिएँ। बिस्निले नि कति गाली खाएको सुनेकी थिएँ। बिस्नीको बाको यस्तो भयानक रुप मेरो दिमागमा बनेको थियो कि उहाँको स्वर सुन्नासाथ मभित्र कम्पन छुट्थ्यो। सायद त्यसैले होला मेरो होस हवास उड्ने गर्थ्यो। अनि बिस्नीले डरले हत्तपत्त भन्थी उ बाख्रालाई घाँस काट्न आएकी हो के बा मसँग। मेरो लामो सास आउँथ्यो। छिटो छिटो निस्केर उकालो लाग्थ्यौँ हामी।
जंगल पस्थ्यौँ साँझपख उस्को घर नजिक खरबारिको। उस्को भाइले कहिले अमिलो, कहिले आरु त कहिले बेल टिपेर ल्याउँथ्यो बाका आँखा छलेर। अनि हामी सबै मिले
हामी सबै मिलेर खान्थ्यौं सके जति ! खान नसकेको कि फ्याँक्थ्यौँ कि घर लिएर जान्थ्यौँ। एकदिन नुनको ढिक्का चुस्दै अमिलोको केसरा चुस्दै खायौँ ! नुनको ढिक्का बाँकी रहे २/३ वटा! अब के गर्नु? पर्यो फसाद! अनि बिस्निले भनी,‘हेर ! मैयाँ यो नुन यहाँ खाल्डो खनेर रोपौँ पछि उम्रन्छ फल्छ अनि हामी टिपेर खाउँला। मैले नि उसको कुरा अनुसार गाडीदिएँ त्यो नुन माटोमा।
३/४ दिन पछि हामी त्यहाँ गयौँ अनि खनेर हेर्यौ कत्रो टुसा उम्रेछ भनेर! तर केको टुसा उम्रनु त्यहाँ त केही अत्तोपत्तो थिएन।
दुबैजना निरास भएर फर्केका थियौँ त्यो दिन।
दिनहरु जन्मिदै मर्दै गर्ने क्रम निरन्तर चल्दै थियो। उमेरमा ३/४ वर्ष ऊ ठूली भए पनि हामी एकदमै मिल्ने साथी थियौँ।
मलाई खुबै माया गर्थी। कुरा कक्षा तिनमा पढ्दाको हो। एक दिन स्कुलमा एउटा केटीले मलाई बेन्चबाट धकेलेर खसाइदी। चुपचाप लागेर उभिरहेँ। उ आइ कतैबाट अनि मलाई उभिएको देखि! उसले सोधी -के भो? किन उभिएकी? म केही बोलिन म त रोएछु पो!
म रोएको देखेर सायद कसैले सुनाइदियो मलाई बेन्चबाट खसाल्दिएको कुरा। उस्ले त रिसाएर आँखा रातो पारी अनि त्यो केटीको कपाल समाउन पुगि उसले पनि कहाँ सहन्थी र? कपाल लुछ्न थाली बिस्निको निकै बेरसम्म त्यसरि नै लुछालुछ चली नै रह्यो दुबैजनाको। लडिबुडी गर्दै कपाल लुछ्न थाली निकै बेर सम्म।
एक छिन पछि त एक एक मुट्ठि कपाल थिए दुबैका हातमा। सर आए पछि दुबैले कुटाइ खाए बेस्सरी।
नुहाउने बेलामा ऊ जहिले मेरो स्याम्पु र साबुनले नुहाउँथी अनि भन्ने गर्थी कति मिठो सुगन्ध आउँछ है तेरो यो साबुन र स्याम्पुबाट त्यसैले होला तेरो कपाल सुनौलो रङ्ग र सलक्क परेको।
म चाहिँ उसको घरबाट लिएर आएको कचौराको (खली) पिनाले नुहाउने गर्थेँ। मलाई उस्को कालो कपाल मन पर्ने। कालो हुन्छ खलीले नुहाए पछि मेरो जस्तै भन्थी अनि म सधैं उस्को खलिले नुहाउने गर्थेँ।
उ र म प्राय सँगसंगै हुन्थ्यौँ घर, स्कुल, वन, जङ्गल जतासुकै पनि। वनमा जान्थ्यौँ बिदाको बेला! स्याउला र दाउरा काटेर घर बनाउँथ्यौ। भातपकाइ खेल्थ्यौँ त्यहिँ घर भित्र बस्थ्यौँ, सुत्थ्यौँ ,सपनाको संसार कोरल्थ्यौं। कहिले काहीँ त उस्को र मेरो आमाहरु खोज्दै आउनुन्थ्यो अनि कुट्दै लिएर जानू हुन्थ्यो।
वनका फलफूल तिँजु, काफल, चौतारी, चुत्रो फुटुके च्याउ, वन मकै टिपेर खान्थ्यौँ। लगाएको टिसर्ट खोलेर अमालाको भारी बनाएर बोकेर ल्याउँथ्यौँ। रङ्गिबिरङ्गी फुलहरु टिपेर ल्याउँथ्यौँ घरमा माला बनाएर झ्याल ढोकामा झुन्डियाउँथ्यौँ, घरी कपालमा सिउरिन्थ्यौँ, केही फुलका पत्रहरु सजाएर पानीमा राख्थ्यौँ।
यसरी रमाइला दिनहरु बितिरहेका थिए। एक दिन ऊ हतारिँदै मेरो घरमा आइ। अलिअलि खुशी देखिन्थी। भनी मेरो घरमा दिदी आउनु भएको छ र अरु पाहुना पनि छ्न्। एक छिन बसि अनि छिट्टै गइहालि।
त्यस पछि ऊ कति दिनसम्म आइन्। आमाले भन्नू भो बिस्निको त बिहे भो रे त थाहा पाइस तैँले? तँलाई त भनी होलि नि! म ठूलो पहाडको टुप्पोबाट खसेर ऐठनले पिरोलेको सपनाबाट ब्यूँझेजस्तै भएँ।
मेरो भोक निद्रा सब हरायो। उसले बिहे गरेर गइ मलाई पो तनाब भो। जिन्दगीका त्यति धेरै आत्मीय पल सँगसँगै बिताएकी उसले आफ्नो बिहेबारे एक शब्द नभनी कसरी जानसकी? यही प्रश्नले मलाई बारम्बार चिमोटिरह्यो।
त्यसपछि उस्को घरको बाटो कहिले हिँडिनँ । फर्केर हेर्दा पनि पीडा हुन्थ्यो मलाई । त्यो दिनदेखि लाग्यो कुनै पनि केटी साथी असल र सच्चा साथी हुँदैनन् बिश्वास र भरोसा गर्न लायक हुँदैनन्। त्यसपछि मेरो साथी भन्नू नै खोलानाला, वनपाखा, वर्षा बादल प्रकृति नै भए।
एकदिन ऊ मेरो घरमा आइ रे म नहुँदा आमालाई भेट्न। मेरो बारेमा सोधिखोजी रे धेरै। आमाले भन्नू भो रे मेरो बारेमा। उसको पनि छोरा र छोरी भै सकेछ्न् थाह पाएँ आमाबाट।
३/४ महिना अघिको कुरा हो, हस्पिटलमा कसैलाई भेट्न गएकी थिएँ। डाक्टरको राउन्ड चलेकोले भित्र जान रोकेको थियो। उभिरहेकी थिएँ। मोबाइल बज्यो! यसो हेरेँ नचिनेको नम्बर रहेछ हेल्लो भनेँ आवाज चिनेको जस्तो थियो तर चिन्न सकिनँ। मैया होइन? म बिस्नी के तेरो बाल्यकालको साथी।
बनजंगल डाँडाकाँडा सँगसँगै चहारेको बिर्सिस्? मेरो त आवाज नै निस्केन निशब्द भए। न खुशी भएँ न त दुःखी नै तर खोइ के भो के थाहा छैन मलाई। आफ्नो र परिवारको बारेमा भनी उसको श्रीमान बिरामी छन् रे काठमाडौं लिएर आउँदै छु आएपछि फोन गर्छु भनेर फोन राखी। आमाले दिनुभएको रहेछ नम्बर।
मैले पछि थाहा पाएँ। उसले फोन त राखी तर त्यसपछि सम्झनाले मलाई एकाएक घिसारेर झ्रिमुक नदीको किनारमा लगेर पछार्यौ भावविह्वल भएर आँखाहरु रसिला भएछन्।
आज आमाको फोन आयो उठाउने बित्तिकै भन्नू भो बिस्निकी आमा बितिन् आज। म त झसङ्ग भएँ अनायास। जिन्दगीको दौडधूपमा सम्झनाबाट ओझेल परेको त्यो मान्छेको अनुहार आँखासामू नाचिरह्यो। सोधेँ कहाँ छे त्यो बिस्नी? आइ कि आइन्?
सबै आए तर त्यो आएकी छैन। किन सोधेँ मैले! आमाले भन्नूभो -ऊ त दिल्लीमा काम गर्न गएकी छ रे। लोग्ने र छोराछोरी आए। ऊ पैसा कमाउन गएकी छ रे। बिरामी लोग्नेको उपचार गराउन, छोराछोरी पढाउन अनि सबलाई पाल्न पर्यो। के गर्नु त्यसको भाग्य भनौं कि के भनौँ। एकाएक मेरो दिमागमा वेदनाको कोलाहल मच्चियो।
एकाएक गहिरो भूमरिजस्ता सम्झनाहरु आँखाभरि छाए कालो बादलले आकाशलाई निलेजस्तै अनि औंसीको रातमा गाउँलाई बगाउँलाझै गरेर बग्ने झिम्रुकजस्तै बगिरहे अविरल ...
सोचिरहें जिन्दगीको रोजाइ एउटा अनि नियतको योजना अर्कै। यही रोजाइ र नियतिको मिलन गराउन खोज्दाखोज्दै हत्केलाबाट चिप्लिदोरहेछ जिन्दगी। यस्तो लाग्छ नियति र रोजाइ एकअर्कालाई हेर्दै गीत गाउँछन् -
हामी नदीका दुई किनारा
हाम्रो मिलन असम्भव छ.....