साइँला बाको प्रश्न- कस्ले लग्यो नयाँ नेपाल?

तस्बिरः बिएल

समयका तीन स्तम्भमा

साक्षी बनेका साइँला बा

सुनाउँछन् प्रजातन्त्र, राजतन्त्र, लाेकतन्त्र

जनताको रगत पसिनामा जरा हालेर

फुलेको सत्ताको अजम्बरी वृक्षको

मुकुन्डो परिवर्तनको लागि।

 

जन्नयुद्धको नाम

फलाकी रहेका आन्दोलनकारी

सर्वहाराका सपना

नयाँ नेपालको परिकल्पना

नयाँ सरकारको श्रीपेच

नयाँ संविधानको दस्तावेजमा

रगतको होली खेलिरहेका

भाइबन्धुहरुलाई रक्तपातमा धकेलिरहेका काम्रेडहरु

जनताका झुपडीमा गोलीको बर्षात गरिरहेकाे मुकुन्डे

बीचको रक्तपात, रणभूमि, रगतको पूर्णबिरामको लागि

 

दन्नकिरहेको युद्धको आगो निभाउँन

कपालमा कफन बाँधेर

निस्केका नाैजवान युवाहरु

शान्तिको प्रतीक बनेर

सडकमा गुन्जिएका सडकगीत

सडकमा जन्मिएका कविता

घर-घरबाट उठेका मसालहरुबाट

परिवर्तनका लागि

सडकमा आहूति दिएका सहिदहरुको

सपना थियो नयाँ नेपाल।।

 

धेरै चोटि नव मुकुन्डेहरुको गद्दिआरोहण

भैसक्यो। कस्ले के पायो ?

हिजोको एक मुकुन्दे, आज हजार

हिजो चिलेेेर खान्थे।

आज मिलेर खान्छन्।

 

हात खुट्टा घुमाई फर्केका हर्के, बिर्खे

छोरा गुमाएकी गंगामाया, फुलमाया, चमेली

बाबु गुमाएकी हरिमाया, सन्ते

सिउँदो पुछिएकी चमेली, सुन्तली

घरको आगनमा पर्खिदा पर्खिदै

१२ बसन्त गैसके,

साइँला बा फुलेर सेताम्मे भैसके,

खै कस्ले पायो नयाँ नेपाल ??

 

का. लालधोजलाई

सिंहदरवार पुर्‍याउन, योग्य सिपाही रामे

अयोग्य भएपछि ....

मगजमा हत्कडी लगाई

देश निकाला गरेछ सरकारले,

आशाको किरणमा कालो वादल

मडारिएपछि,

खाडीमा पसिना चुवाई रहेछन्।

सरकार चामल कुवाई रहेछ ।

 

दाइजोको नाम जिउँदै जलेकी ....

छाउगोठमा मेरेकी अछामकी सरिता..

बलात्कृत भई ज्यान गुमाएकी निर्मलाको

न्यायको लागि काकाकुल भएका जनता

माथि बलात्कार गर्ने सरकार....

मुगुमा रक्तस्राव भई ज्यान गुमाउने, हरिमाया...

खै कस्ले पायो नयाँ नेपाल ?

कस्ले बुझ्यो लोकतन्त्र ??

 

हातमा प्वाँख जोडेर उडिरहेकी सरकार प्रमुख

हाँछिउ आउँदा विदेशिने नेताका शरिर

सुनका बाेरा लुकाउने सरकार

राष्ट्रिय माटो आफ्नो नामसारी गर्ने ...

जनताको घरको भाले चाेर्ने स्थानीय सरकार

विकासको नाममा कार्यकर्ताको

भरणपोषण गर्ने नेताहरु

जनताको भोटबाट जितेको पद

बाउको बिर्ता सम्झी,

बाजझैं झम्टिने प्रतिनिधि,

खै कस्ले पायो नयाँ नेपाल ??

 

बाजले परेवा लिसकेपछि झैं

हेरिरहेका,

साइँला बा भन्छन्

नेताको यात्रा जनताको साहारा

सडकको आवाज बाजको आहारा

नत्र कस्ले लग्यो त नयाँ नेपाल ???

प्रकाशित मिति: : 2019-04-24 10:47:49

प्रतिकृया दिनुहोस्