छोरीको कर्म

तस्बिरः बिएल

‘ओइ पुजा, पुजा उठ त्, डाँडामाथि घाम आइसकेयो कति सुत्छेस के,’ ह्या आमा पनि कति कराइरह्नुहुन्छ, सुत्न पनि नदिने!

‘तँलाई बदमास, घरमाथि घाम आइन्जेल सुतेर पनि अझे सुत्न नदिने भन्छेस्?’ सधै बिहान ५ बजे उठेर क्याम्पस गएको त हो नि,अब पढाई नहुँदा नि सुत्न नदिने आमा पनि! यस्तै भनेर फत्फताउँदै थिएँ!

आमा फेरि कराउन थाल्नुभयो! उठेर तयार भएँस, घर सफा गर! आज तँलाई हेर्न आउँदैछन्!

किन हेर्न आउने मलाई? के भएको छ र मलाई? सबै ठिक त छ! हिँडेको छु, खाएको छु, तपाईंहरुलाई पनि काम गर्न सहयोग गरिराखेको छु।

‘बिहे गर्न नि! अब १८ वर्ष भैहालिस्, १२ पनि पढिहालिस्! अर्काको घर जाने जातलाई बेलैमा बिहे गरेर पठाईदिए आनन्द,’ आमाले भन्नुभयो।

आमा! बिहे गरेर पठाउने भए किन पाउनुभएको, पाल्न नसक्ने भए पाल्न सक्दिनँ भन्नु बरू म आफैं पालिन्छु। तर, म बिहे गर्दिनँ के आमा, अझै पढछु। पढेर टिचर बन्छु अनि हजुरहरुलाई पाल्छु नि आमा! तर म बिहे गर्दिन के!

‘कहाँ त्यसो भनेर हुन्छ, छोरीको जात ढिलो चाँडो हो, तर एक चोटी विवाह गर्नेपर्छ। अब केटो राम्रो छ, खान्दान राम्रो छ, क्याम्पस पढाउँछ, दाइ भाउजु अमेरिकामा बस्छन्, सानो परिवार छ, अरू के चाइयो र तँलाई?’आमा भान्छाबाट एकनासले कराइरह्नुभयो।

कोठामा बसिरहेको थिएँ। शायद बेलुकाको ५ बजेको थियो होला। दुई वटा मोटरसाइकल घरको आँगनमा आएर घ्याच्य रोकियो। यसो झ्यालबाट हेरेको दुई जना आइमाई अनि दुई जना छोरा मान्छे घर भित्र छिरे।

अब कुनै शंका रहेन ती बिहान आमाले भन्नुभएको मान्छे यीनै हुन् भनेर। छोरी चिया पकाएर लैजा त टिभी कोठामा। आमाको यो आवाजसँगै ६ कप चिया लिएर कोठा भित्र छिरेको मात्र के थिएँ। रोहन, रोहनजीको ममी बाबा भनेर चिनाउन लाग्नुभयो माइजुले। ‘रोहन’ कता कता सुनेजस्तो लाग्यो, यसो माइजुको छेल परेर अनुहार हेरेको कता कता देखेजस्तो पनि लाग्यो। तर, कहाँ! मरीगए ठम्याउन सकिन, ह्या। जतासुकै देखेको होस् के मतलब। मन परेन विवाह गर्दिनँ भनिदिन्छु आमालाई।

भोलिपल्ट बिहानै नबिनाले फोने गरि। ‘हेल्लो’ भन्न नपाइकन चिच्चाउन थाली, ‘ओइ तँलाई हेर्न रोहन दाइ आउनु भएको रै’छ। हामीलाई भन्दा पनि नभन्ने।’ हे भगवान हो त रोहन, नविनाको दाइ अशोक दाइको साथी काठमाडौँबाट आउनुभएको नबिनाको घरमा भाइको जन्म दिनमा भेटेको।

‘ओइ कता हराइस्। रोहन दाइको यादमा डुब्न लागिस्,’ नबिना फेरि चिच्चाई। होइन यार मोबाइलमा नेटवर्क राम्रो छैन के। बहाना बनाएर टारिदिएँ। तँलाई थाहा छ पुजा। के कुरा? रोहन दाइले तँलाई माया गर्नुहुन्छ नि। अशोक दाइलाई भन्दिनु भनेर भन्नु भएको थियो रे। काका काकीले थाहा पाउनुभयो भने रिसाउनुहुन्छ कि भनेर भन्नसक्नु भएन रे।! टु टु।।।।।फोन काटियो।

‘त्यो केटाले तँलाई मन पराउँछ रे, माया गर्छ रे। हेर केटी, माया गर्ने मान्छे हतपत भेटिदैन, भेटिए पनि जात भात खान्दान केही मिल्दैन। माया गर्ने मान्छेले कहिले धोका दिदैनन्, मन दुखाँउदैनन ,इच्छा आकांक्षा, अनि चाहानाको सधैं ख्याल राख्छन्। नपत्याए हेरत मलाई र बाबालाई,’ आमा पल्लो कोठाबाट कराउन छोड्नुभएन।

हुन पनि हो, संसारकै आदर्श जोडी लाग्छ मलाई मेरो बाबा आमाको जोडी। बाबा बारीमा गए आमा सँगै जानुहुन्छ। आमा भान्छामा गए बाबा पनि आमालाई सहयोग गर्न भान्छामा नै जानुहुन्छ। घरदेखि बाहिरको सबै काम आमा बाबा मिलेर नै गर्नुहुन्छ। आमालाई कसैले के भने सबभन्दा पहिला बाबाको मन दुख्छ। न बाबाले आमालाई कहिले चर्को स्वरले कराएको सुनेको छु, न आमाले कहिले बाबालाई टारेको देखेको छु। यतिम्म कि कति चोटी त आमा बाबासँगै रोएको पनि देखेको छु मैले।

हेर केटी त जन्मिएपछि मेरो कुनै सन्तान भएन। गाउँका ठूला बडा अनि आफन्तले बाबालाई छोरा पाउनको लागि अर्को बिहे गर्न पनि दबाब दिए। तर बाबा कहिले मान्नु भएन, बरू मेरो अनि तेरो खुसीको लागि भनेर आफू जन्मेको ठाउँ गाउँ आफन्त सबै छोडेर हामी यहाँ बसाईँ सर्‍यौं।

‘आमा म बिहे गर्छु। तर, पढाई चाहिँ छोड्दिनँ नि फेरि। भन्दिनू उनिहरुलाई।’ तैले साँच्चिकै भनेकी होस्? आमाले म तिर हेर्दै सोध्नुभयो। ‘हो आमा म बिहे गर्छु। तर, बिहे चै सामान्य तरिकाले हुनुपर्छ नि।’

कुनै रहर, इच्छा, आकांक्षा बिना धेरै डर र कौतुहलताको बिचमा बेहुली बनेँ म। त्यो पनि आफूलाई माया गर्ने मेरो मान्छे रोहनको।

बाबा आमाको घर छोडेर पराइ घर जाने पक्का भयो। शिक्षक बन्छु , बाबा आमा पाल्छु भन्ने सपना पनि राहुलले लगाइदिएको सिन्दुर र पोतेमा नै कैद भयो। विहेमा खाएको कसम र विहेको विधिले म माथि मेरो आमा बाबाको भन्दा बेसी रोहनजीको हक लाग्ने भयो।

मलाई जन्माउने आमा बाबाभन्दा रोहनजीलाई नै नजिक मान्नुपर्ने भयो अब। पहिलो चोटी धिक्कार लाग्यो आफैंलाई छोरी भएर जन्मेकोमा, एकै पलमा आफ्ना जति सबै पराइ भए। अनि रोहनजीका आफ्ना जो मेरो लागि पराइ छन्। ती पराइलाई आफ्ना बनाउने जिम्मेवारी थपियो।

हिजोसम्म आमा बाबाको काखमा बेपर्वाह भएर हिँडेकी छोरी अब भोलिबाट बुहारी भएर घर गरेर खानुपर्ने भयो।

बिहे सामान्य तरिकाले कुनै तडक भडक बिना नै मन्दिरबाट सम्पन्न भयो। ‘मारे पाप, पाले पुण्य’ यति भन्दै रोहनजीको हातमा आफ्नो मुटुको टुक्रा आफूले जन्माएको छोरीको हात राखेर आमा बाबा बिदा हुनुभयो।

राति ११ बजेको थियो होला। विवाहको पाउना तितरबितर भएपछि सासुले कोठामा लगेर छोडिदिनु भयो। ठूलो कोठा, उस्तै सजावाट, उस्तै फर्निचर अनि ढोकाबाट छिर्ने बितिकै भित्तामा मुस्कुराई रहेको बडेमानको आफ्नै तस्बिर। ‘हेर केटी। माया गर्ने मानिसले आफ्नो मायालुलाई सधै खुसी राख्न चाहन्छन्,’ आमाले भनेको सम्झिएँ।

अब झन् पक्का भयो रोहनजीले मलाई माया गर्नुहुन्छ भनेर। ‘पुजा’ रोहनजीको आवाजसँगै झस्किएँ। ‘तिमीलाई केही भन्नु छ’, मैले भनेँ, ‘हुन्छ भन्नुन। ‘आजबाट हामी नयाँ जिन्दगी सुरु गर्दैछौँ। त्यसैले तिमीसँग कुरा ढाँटेर लुकाएर हाम्रो सम्बन्ध सुरु गर्न चाहन्नँ। म ड्रग्स खान्छु, १६ वर्षको उमेरदेखि साथीहरुको लहलैमा लागेर रमाइलोको लागि सुरु गरेको नशा कहिलेबाट लत बन्यो थाहा नै भएन। नशाको लत पुरा गर्नको लागि के के गरिनँ, ममीको गहना, पैसा, बाबाको पर्सबाट पैसा,घरको सामान चोर्ने,,क्याम्पसको फी तिर्न लागेको पैसा धरी सबै ड्रग्समा सकेँ। केही सिप नलागेपछि ममीले पुर्नस्थापना केन्द्रमा लगेर राखिदिनुभयो। ६ महिना त्यहाँ बस्दा अलिकति त कम भयो तर पूर्णरुपले छोड्न सकिनँ। त्यसपछि घर परिवार, पुर्नस्थापनाको सर अनि डाक्टरको सल्लाह र निगरानीमा घरमा नै बसेर बाँकी रहेको पढाइ त पुरा गरेँ तर ड्रग्स छोडन सकिनँ। तर, पुजा जुन दिन अशोकको घरमा तिमीलाई देखेँ त्यही दिनबाट तिमीलाई मन पराउन माया गर्न थालेँ। मेरो मन, मुटु, मस्तिष्क जतासुकै तिमी नै तिमी छौ। तिमी बिना बाँच्न त के अब तिमी बिनाको जीवन सोच्न पनि सक्दिनँ, तिमीलाई कहिले धोका दिदिनँ।’

धोका त दिइसक्नुभएको छ रोहनजी, यो भन्दा ठूलो धोका त अरू हुनै सक्दैन। त्यही मन मुटुमा बस्ने मान्छेको नि मुटु छ, त्यो मुटु पनि कसैको धोकामा रुन्छ, दुख्छ भनेर किन सोच्न सक्नुभएन भनेर’, भन्न मन लागेको थियो। तर, भन्न सकिनँ, चुपचाप रोहनलाई नै सुनिरहेँ।

अशोकको घरमा तिमीलाई देखेपछि अशोकलाई तिमीसँग भेटाइदेउ भनेको थिएँ। तर, मेरो यो ड्रग्सको लतको बारेमा उसलाई पनि थाहा थियो, केही गरि तिमी र तिम्रो आमा बाबाले थाहा पाउनुभयो भने रिसाउनु हुन्छ भनेर ऊ डरायो र तिमी सामु जान सकिनँ। फेसबुकमा पनि कति खोजेँ तिमीलाई। तर, भेट्न सकिनँ। तर, पछि थाहा भयो तिम्रो माइजु र मेरो माइजु साथी हुनुहुँदोरहेछ। अनि उहाँ बाटै तिमी आज मेरो साथमा छौ।

शरीर भारी भएर आयो, आँखाबाट आँसु कति झरेछ लगाएको सारी भिजेपछि बल्ल थाहा पाएँ। ‘माया गर्ने मानिसले कहिले धोका दिदैनन्,’आमाले भनेको सम्झेँ।

पहिलो चोटी मेरी आमा संसारकै झुट्टी लाग्यो। एकचोटी आमालाई बेस्सरी गाली गर्न मन लाग्यो, रिसाउन मन लाग्यो। ‘आफ्नी छोरीसँग पनि यसरी झुट बोल्छन र आमा?’,सोध्न मन लाग्यो तर कसरी?

मेरी आमाको घर छोडेर रोहनको घरमा आइसकेको थिएँ। कसलाई भनूँ, कोसँग पोखौं मनको बह, यो बिरानो ठाउँमा। कोही आफ्ना छैनन्, सबै पराई। एक चोटी आफ्नो भाग्यलाई धिक्कारेँ, भगवानलाई सम्झिएँ, भगवानलाई गाली गरेँ। तर,‘पिर नगर तेरो लागि म छु नि’, भन्न कोही आएन, शिवाय त्यो भित्तामा बसेर मुस्कुराई रहेको तस्बिर।

हिजोसम्म पण्डितको छोरी थिएँ। आजबाट ड्रगिस्टको श्रीमती भएँ। हिजोसम्म बाबाको पछि लागेर मन्दिरमा जल चढाउन जान्थेँ अब भोलिबाट एउटा हातमा ड्रग्सको धुलो अनि अर्को हातमा चिया लिएर रोहनको अगाडि गएको सम्झेँ। भोलिबाट बाटोमा हिँड्दा ‘ऊ ड्रगिस्टको श्रीमती आइ’ भनेर मानिसले कानेखुसी गरेको सम्झिएँ।

हे भगवान, भोलि आमा बाबालाई के भन्ने, ज्वाँई कस्तो हुनुहुन्छ, के गर्नुहुन्छ भनेर सोध्ने आफन्तलाई के जवाफ दिने, ‘तेरो बुढाको बारेमा भन् न भनेर जिस्क्याउने मेरा साथी संगीलाई के भन्ने? कसरी भन्ने मेरो श्रीमान ड्रगिस्ट हो भनेर, नभने के भन्ने, झुट बोल्ने, अहँ झुट त म कुनै पनि हालतमा बोल्नै सक्दिनँ, साँचो पनि भन्न सक्दिनँ, सबैभन्दा राम्रो त बरु म कसैको अगाडि नै जादिनँ। यसो गर्यो भने झुट पनि बोल्न नपर्ने ,सच्चाई पनि कसैलाई थाहा नहुने,’ यस्तै सोच्दा सोच्दै कतिखेर निदाइँछु,बिउँझिदा रोहनजीलाई सोफामा अनि आफूलाई पलङमा पाएँ।

घरमा सबै राम्रो थियो, सासु ससुराको मायामा कुनै कमि थिएन, ‘पिर नगर तिमीले कोशिश गर्‍यौ भने सब ठिक हुन्छ’, भन्नुहुन्थ्यो। शायद उहाँहरु पनि छोराको लागि अलिकति स्वार्थी हुनुभएछ क्यारे, मेरो आँखाको आँशु देख्न सक्नु भएन।

उसो त रोहनजीको माया पनि कुनै कमि थिएन। हरतरहबाट मलाई खुसी बनाउन खोज्नुहुन्थ्यो। तर, आफू नशामा डुबेर। जुन मलाई कदापी स्वीकार्य भएन।

यस्तैमा १२ को रिजल्ट पनि आयो। प्रथम श्रेणीमा पास भएछु। जान आउन सजिलो होस् भनेर बिएड पढ्नको लागि रोहनजीले पढाउने क्याम्पसमा नै भर्ना भएँ। रोहनजीसँग क्याम्पस जानु आउनु मेरो लागि बाध्यता थियो, कुनै रहर थिएन।

क्याम्पसमा पनि जतिले मलाई चिन्थे रोहनजीको श्रीमतीको रुपमा नै चिन्थे। त्यो भन्दा बेसी परिचय केही भएन या केही बनाउन सकिनँ। रोहनजीको बारेमा थाहा पाउने जतिले मलाई हेरेर ‘कठै’ भन्थे। थाहा नपाउने जति ‘कति राम्रो जोडी राम र सीताको जस्तै’ भन्थे। तर, मलाई न कसैको ‘कठै’ सुन्नु थियो न ‘सीता’ हुनु थियो। मात्रै पुजा हुनु थियो। पुजा भएर बाँच्नु थियो।

पुसको महिना, शनिबारको दिन।रोहनजी बाहिर जानुभएको थियो, म माथि छतमा बसेर घाम तापिरहेको थिएँ। आमाले फोन गर्नुभयो। उठाएको, बिहान मामाघरको हजुरआमा बितेको जानकारी गराउनुभयो।

केहि बोल्नै सकिनँ, आमालाई के भनेर सम्झाउने त्यो पनि सोच्न सकिनँ। परीक्षा नजिकै आएको र घरमा कोही नभएकोले आउन नसक्ने बताएर फोन काटिदिएँ। हजुरआमालाई सम्झिएर बेस्करी रून मन लाग्यो। तर, आँसु आएन, धिक्कार लाग्यो आफैंलाई देखेर, आफन्त गुमाउँदा पनि आँसु नझर्ने गरेर पत्थर दिल भइसकेछु।

रोहनजीको धोकाले मन पनि कसैको हुनु र नहुनुमा केही फरक नपर्ने भइसकेछ। दिनभरी हजुरआमाकोको यादमा नै दिन बित्यो। उहाँले दिनुभएको माया सम्झिएँ। उहाँले सुनाउने राजकुमार राजकुमारी, सति सावित्रीको कथा सम्झिएँ। साबित्रीले कसरी आफ्नो पतिलाई यमराजबाट खोसेर जीवन दिन्छे त्यो सम्झिएँ। बाबालाई सम्झिएँ, उहाँले आमा र मेरो लागि गरेको त्यागलाई सम्झिएँ। ‘मायाले त संसार बदल्न सक्छन्, एउटा मान्छेको त के कुरा हो र छोरी,’ आमाले भनेको सम्झिएँ। संसारको माया गर्ने हरेक जोडीलाई सम्झिएँ। रोहनजीलाई सम्झिएँ, रोहनजीको मायालाई सम्झिएँ। अनि आफ्नो कर्तव्यलाई सम्झिएँ।

समय बित्दै गयो। समयसँगै जीवनका पलहरु पनि बित्दै गए। हिजोसम्म रोहनजीको उपस्थितीले दुख्ने मुटु आजबाट अनुपस्थितिमा दुख्न थाल्ने भएछ। हिजोसम्म रोहनजीको अगाडि जानु मेरो लागि बाध्यता थियो। तर, आज हरपल रोहनजीलाई नै खोज्न थाल्ने भएछ। यो मन पनि थाहा नै नपाइकन उहाँसँग नजिक हुन थालेछु, मायाँ गर्न थालेछु।

रोहनजी पनि क्याम्पसमा बिहानको १ घण्टी लिएर बाबालाई अफिसमा सहयोग गर्न जान थाल्नु भएको थियो। एक दिन साँझ, भान्छामा बसेर खाना पकाउँदै थिए। ‘मेरी पुजाको पूजाको फल आएको छ’, पछाडिबाट आएर हातमा कागज राखिदिनुभयो रोहनजीले। खोलेर हेरेको उहाँको रिपोर्ट रहेछ, सबै नेगेटिभ।

उहाँले त ड्रग्स २ महिना अघि बाटै छोडिसक्नुभएकोरहेछ। घरमा कसैले बिश्वास गर्दैनन् भनेर नभन्नु भएको रे। खुसीको कुनै सीमा रहेन। कता गएर नाचूँ नाचूँ उफ्रूँ उफ्रूँ जस्तो भयो। रोहनजीलाई अगांलो हालेर धरै बेर रोइरहेँ। भनिन्छ नि, हरेक छोरीले आफ्नो श्रीमानमा आफ्नो पिताको छवि खोज्छे। ढिलै भए नी मेरो बाबामा भएको छवि रोहनजीमा पाएँ। अब अरू केही चाहिएन। सबै पुग्यो। कसैसँग केही गुनासो रहेन। न भगवानसँग,न आमा बाबासँग।

‘आज हाम्रो बिहे भएको १ वर्ष भयो, पुजा। धेरै धेरै शुभकामना हामीलाई। जति धन्यवाद दिए नि कम हुन्छ तिमीलाई। तिम्रो अथक प्रयासले आज मैले नयाँ जीवन पाएको छु,’ रोहनजीको आवाजसँगै झस्किएँ।

होत, कस्तो भुसुक्कै बिर्सेको, ठिक आजकै दिन एक वर्ष अगाडि धेरै डर अनि थोरै सपना देखेर रोहनजीसँग विवाह गरेको थिएँ। ती सपना पुरा भयो भएन, तर रोहनजीको आज देखेर ती सपनाको कुनै खोजि नीति गरिनँ।

‘पुजा, म अहिले अफिसको कामले काठमाडौं बाहिर जाँदैछु, भरे चाडै फर्किए भने कतै बाहिर जाउँला है,’ यती भनेर रोहनजी बाहिर निस्कनुभयो। उसो त क्याम्पस छुट्टी थियो चाडै उठ्न त पर्थेन। तर, पनि रोहनजी गए पछि पटक्कै निन्द्रा लागेन। उठ्न खोजेको जीउ भारी भयो, रिंगटा लागेर आयो। एकछिन फेरि बेडमा पल्टेर उठ्न खोजेको सकिनँ अनि ममीलाई बोलाएँ।

दिउँसो १ बजे तिर हस्पिटल गयौं। डाक्टर अञ्जना शाक्यले हेर्नुभयो। ल बधाई छ। आमा बन्दै हुनुहुन्छ। अलिकती कमजोरी भएर गाह्रो भएको हो। यो औषधि खाएर केही दिन रेस्ट गरेपछि सब ठिक हुन्छ।

म आमा बन्दैछु? विश्वास नलागेर फेरि डाक्टरलाई सोधेँ। मेरो र रोहनको मायाँको चिनो। खुसीले ओठबाट हाँसो र आँखाबाट आँसु एकैचोटी निस्के। मानिसले हाँसो, खुसी, सुख केलाई भन्छन्, कुन्नि? तर, मेरो लागि हाँसो र आँसुको सम्मिश्रणबाट निस्कने अनुभूतिनै जीवनको बास्तबिक खुसी भएको महशुश गरेँ।

ममी तिर हेरेँ, उहाँमा पनि त्यही अनुभूती देखेँ। भगवानले संसारका सारा खुसी मेरै पोल्टामा हालिदिए जस्तो लाग्यो। रोहनजीमा पनि त्यही अनुभूति हेर्न चाहन्थेँ, त्यसैले फोनमा नभन्ने निर्णय गरेँ।

बेलुकाको ६ जति बजेको थियो होला। रोहनजीले फोन गरेर ट्राफिक जाम नपरेमा आधा घण्टामा आइपुग्ने बताउनुभयो। तर, त्यो आधा घण्टा मेरो लागि आधा दिन जस्तै भयो। कति खेर आउनु होला र भनौंला भन्दै घडी हेर्दा हेर्दै बल्ल ६:३० भयो।

कहाँनिर आइपुग्नुभयो भनेर सोध्नलाई फोन गर्छु भनेर फोन समातेको मात्र के थिएँ रोहनजीको फोन आयो, उठाएँ तर बोल्ने मानिस रोहन थिएन। ‘हजुरको मानिसको दुर्घटना भएर वीर हस्पिटल लगेको छ,’ आवाज सुन्नासाथ केही सोच्न सकिनँ, एकै चोटी जमिन भासिएको जस्तो भयो।

सरासर हस्पिटल तिर लागेँ। इमर्जेन्सीमा गएर रोहन शर्मा, दुर्घटना केश  भनेर सोधेको बेड न:२ तिर देखाइदिए। रगताम्मे शरीर, छामेको कुनै प्रतिक्रिया थिएन। हस्पिटल ल्याइपुग्नु अगाडिनै रोहनजीले यो संसार छोड्नुभएछ। आधा घण्टामा आइपुग्छु भनेर भन्नु भएको रोहनजी कहिल्यै नआउने गरेर जानुभयो।

‘तिमीलाई सधैभरी माया गर्छु, खुसी दिन्छु’ भन्ने मेरो रोहन मलाई आँसुको सागरमा एक्लै डुबाएर जानुभयो। अब केही बाँकी रहेन। जीवनका रंग, खुसी, चाहना, इच्छा, आकांक्षा सबै रोहनजीसँगै गयो।

प्रकाशित मिति: : 2019-04-17 00:02:07

प्रतिकृया दिनुहोस्