प्रचण्ड–सीता प्लेन संवाद

तस्बिरः बिएल

 मनोसंवाद

‘म घरमै झोक्राएर बसिरहेको थिएँ। लावालस्करसहित उहाँ साइरन बजाउँदै आएको थाहा पाएँ। ढोका त गेटपालेले खोलिसकेको थियो। उहाँका अघिपछि ५९ जना सुरक्षाकर्मीहरु थिए। उहाँ सरासर भित्र आउनुभयो। मैले त्यो दिन मार्सी चामलको भात पकाएको थिएँ। उहाँले फटाफट त्यो भात खानुभयो र मेरो अनुहार हेर्नुभयो। मेरो अनुहार त्यो दिन अलि खस्किएको थियो।’

‘के भयो तिमीलाई?’ उहाँले सोध्नुभयो।

‘मलाई सञ्चो छैन। तपाईंले देखिरहनुभएको छ, म कमजोर हुँदै गएकी छु। यो हात झम्झमाउन बन्दै भएको होइन। ‘तर .......म बाँच्न चाहन्छु।’

‘म बचाइहाल्छु नि। तिमी कति पीर मात्रै मने गरिरहन्छ्यौ?’

‘खै त बचाएको? बचाएको भए म यस्तो हालतमा हुन्थेँ?’

‘तिमीलाई बचाउनका लागि मैले तिमीलाई कहाँ लगिनँ र? दिल्ली लगेँ, सिंगापुर लगेँ। त्यतिले नपुगेर म्याग्दीको तातोपानी कुण्डमा समेत नुहाउन लगेँ। अब तिमीलाई लग्ने भनेको एउटा अमेरिका मात्रै बाँकी छ। त्यहाँ त सबै रोगको उपचार हुन्छ रे।’

‘त्यसो भए त्यतै जाउँ न त। यी झारेझुरे ठाउँमा उपचार गर्दा त मेरो रोग बीसको उन्नाइस पनि भा होइन।’

‘जान त जाने। तर, भिसा पो दिन्छन् कि दिँदैनन्। मुख्य समस्या त त्यहाँ पो छ त।’

‘विचार गरौँ न त के भयो त? दियो भने दियो, उतै उपचार गरेर आउँला दिएन भने दिएन। सिंगापुर त छँदैछ नि। आए आपँ गए झटारो। त्यो उखाने प्रधानमन्त्री छ नि, हो त्यसलाई भनेर उपचारका लागि रकम निकासा गर्न भन्नुस् न।’

‘मने तिम्रो आग्रहलाई मैले कहिले पो नकारेको छु र? म एकपटक उखानेसँग नि सरसल्लाह गर्छु। अमेरिकाको राजदूतसँग नि कुरा गर्नुपर्‍यो। मने अमेरिकन एम्वेसीमा पनि कुरा गर्न पर्‍यो। मेरो फरमानमा १७ हजार मानिस मरेको रेकर्ड पक्कै पनि अमेरिकासँग होला। त्यसैको निहुँमा युद्व अपराधी घोषित गरेर समाउने पो हो कि कताकता डर पनि लागिरहेको छ। मान्छेहरु हेग पठाउन पर्छ पनि भनेको सुन्दै छु। के हो, के हो? जिन्दगीभर यही अमेरिकी विस्तारवाददेखि साम्राज्यवादी र उपनिवेशवादी भनेर श्राप दिइयो, गाली गरियो। फेरि अस्ति भर्खरै पनि अमेरिकाको सट्टा भेनेजुएलाको पक्षमा विज्ञप्ति जारी गरियो। खै, के हो के हो? एकपटक नबुझिकन त्यसै हाम्फाल्नु पनि त भएन।’

‘तपाईंको कुरा म त्यति बुझ्दिनँ। के गर्नुपर्छ आफैं मिलाउनुहोस्। तर मेरो रोग निको हुनुपर्छ। मलाई बाँच्ने रहर छ। यो मानवचोला म वित्थैमा बिताउन चाहन्नँ। मलाई मेरो जीवन महत्वपूर्ण छ।’

‘जीवन त सबैको महत्वपूर्ण हो नि। अहिले सम्झिँदा पनि कहिलेकाँही त कहाली पो लागेर आउँछ। त्यत्रा मान्छेको होली खेलेर ल्याएको यो गणतन्त्र पनि आफूले सोचेजस्तो भएन। हुन त दुई दुई पटक प्रधानमन्त्री भएँ, छोरी मेयर छे, अरू छोरी ज्वाइँ, भाइभतिजा पनि सबैलाई राम्रो राम्रो पदमा स्थापना गरेको छु। बुहारी त मन्त्री नै छन्। अब मने मैले यो भन्दा बढ्ता के गर्ने त? मलाई सबै कुरा थाहा त छ नि। मेरो सबैभन्दा नजिकको भनेकै तिमी त हौ नि। आफ्नो वंश धान्ने एउटा छोरो थियो, त्यसले पनि अकालमै जीवन गुमायो। मलाई लाग्छ, यो प्रारब्धको खेल होइन, यो त कर्मको खेल हो। तिमीलाई बचाउन सकिन भने त म पनि कसरी बाँच्न सक्छु होला र? त्यसैले अब अमेरिकाको लागि तयार हुनुपर्छ। म त्यही काममा लागेँ।’’

***

लावालस्करसहित बिदाबारी भएका प्रचण्ड विमानभित्र पसे। विजनेस क्लासको कक्षमा पुग्दासम्म उनले श्रीमतीको हात समाइरहेका थिए। पहिले श्रीमतीलाई झ्यालपट्टि बसाए र आफू थचक्क बसे। छोरी ज्वाइँ अर्को सिटमा थिए। सीताको आँखामा अझै आँसु थिए।

‘नरोउ। अब तिम्रो रोग निको हुन्छ। अमेरिकाले सब ठीक गर्छ।’

‘भयो भने त राम्रो भयो। भएन र म यो संसारबाट बिदा भएँ भने .....तपाईं कसरी बस्नुहुन्छ होला भन्ने लागिरहन्छ।’

‘त्यस्तो हुँदैन लाटी। हात झम्झमाउँदैमा मान्छे मर्छ र? कस्ता कस्ता रोगका मानिसहरु त बाँचिरहेका छन्। तिमीले त अझै बाँच्नुपर्छ। हामीले त्यति दुःखले त्यत्रो सम्पत्ति जोडेका छौँ। स्वीस बैंकमा त्यत्रो खाता छ। एनसेलको अजय सुमार्गीसँग मिलेर कर छलेर कमाएको ५४ अर्ब रूपियाँ छ। त्यसको भोगका लागि पनि तिमी बाँच्नैपर्छ। नत्र त त्यत्रो सम्पत्ति के गर्ने?’

‘तपाईंले त अस्ति सम्पत्ति छैन भन्नुभएको थियो त। जम्मा तीन तोला सम्पत्ति भर्नुभएको होइन? सर्वहाराको नेताले त्यति धेरै पैसा राख्नुहुन्छ त? लोकलाज पनि त हुनुपर्ने होइन र?’

‘हो नि त्यो त। हात्तीका दुइटा दाँत हुन्छन्। एउटा देखाउने र अर्को चपाउने। मेरो प्रवृत्ति पनि त्यस्तै त छ। द्धैध। यो त तिमीलाई थाहा भएकै कुरा हो नि।’

‘भो श्रीमान् मलाई त्यो सम्पत्तिको के काम? मलाई त यो ज्यान पो प्यारो छ त। त्यो सम्पत्ति चपाएर हुने भए त हुन्थ्यो नि। हुँदैन के गर्नु?’

‘त्यही भएर त हामी अमेरिका जाँदैछौँ। त्यहाँ सबै रोग निको हुन्छ। तिम्रो ज्यान मेरा लागि पनि त प्यारो छ। म बाँच्नका लागि पनि त तिमी बाँच्नुपर्छ।’

‘‘सर, चिया कफी केही ल्याउँ कि?’ एयर होस्टेसले सोधिन्।

‘मने मलाई एक पेग अमेरिकन ह्वीस्की ज्याक ड्यानिएल्स। यो ह्वीस्की मतलब मैले भूमिगत कालमा पनि पिउँथेँ। त्यसैले मलाई यो मन पर्छ। उनलाई एपलको जुस।’ प्रचण्डले एकैपटक दुई तीर हाने।

‘उनको माग बमोजिम ह्वीस्की र एपल जुस तुरून्तै आयो।

प्रचण्डले एक पेग ताने। सीताले पनि एपल जुस तानिन्।

‘के सोच्दै छ्यौ?’

‘के सोच्नु? मलाई त यो जीवनकै पीर लागिराछ।’

‘पीर मानेर समस्याको समाधान हुन्छ त? पीर नमान। जे हुनु छ त्यो त हुन्छ नि।’

‘मलाई त लाग्छ, हामी जनताद्धारा श्रापित छौं। त्यतिका मानिसका परिवारले हामीलाई कति श्राप दिइरहेका होलान्? त्यसैले मेरो यो रोग पनि निको होला जस्तो लाग्दैन। म पनि अकालमै मर्छु होला। जनयुद्धका पीडितहरु कति छट्पटाइरहेका छन्। यो देश ध्वस्त हुनुमा हामी पनि त जिम्मेवार छौ।’

‘तिमी त्यसो भन्छ्यौ। हामीलाई जनताले आशीर्वाद पनि त दिएकै छन् नि। लाग्ने भए त आशीर्वाद पनि त लाग्छ। तिमी ढुक्क हौ, जनताको श्रापले केही हुँदैन। जहाँसम्म मानिसहरु मरेको, मारेको कुरा छ, त्यो त तिनीहरुले प्रारब्धबाटै ल्याएको कर्म हो। तिनीहरुको नियति नै यस्तै थियो त। तिनीहरु अकालमै मर्न लेखेको थियो त। हामी त केबल निमित्त मात्र हौ। गीता तिमीले पनि पढेकै कुरा हो, जे हुन्छ त्यो नि ठीक हुन्छ, जे भयो त्यो पनि ठीकै भयो।’

मैले स्वीकारोक्ति दिएँ।

‘यो अमेरिका भन्ने देश त कति टाढा रैछ’ मैले भनेँ।

टाढा त छ नि। मलाई पनि जीवनभर आफूले गाली गरेको देश कस्तो होला, यहाँका मानिसहरु कस्ता होलान् भन्ने लागिरहेको थियो। तिम्लाई ल्याउने यो एउटा बहाना पनि थियो वस्।’

‘मेरो वहानाले तपाईं पनि आउनपाउनुभयो भन्दै म हाँसेँ। उहाँ पनि मुस्कुराउनुभयो। मलाई निद्रादेवीले पनि च्याप्दै थियो। कहाँ पुगिएछ भनेर एकपटक झ्याल पनि खोलेर हेरेँ। के थाहा पाउनु र? विमान बादलमाथि माथि दौडिदै थियो। तलपट्टि बादका सेता थुप्राहरु गुजुमुज्ज परेर बसिरहेका थिए। झ्याल बन्द गरेँ र उहाँको अनुहार पुलुक्क हेरेँ।

उहाँको अनुहार उज्यालो थियो। एकपेग फेरि मज्जाले रक्सी हो कि के जाति हो, त्यो तान्नुभयो। कुम हल्लाएर हल्का हाँस्नुभयो। त्यो घटनासम्म थाहा छ, म त भुसुक्कै भएँछु। त्यसपछि एकैचोटि अमेरिकाको राजधानीतिर हो कि कता हो? एयरपोर्टमा पुगेपछि मलाई उहाँले घच्घच्याउनुभयो। म हत्तपत्त उठेर उहाँलाई पुलुक्क हेरेँ। आयो, तिम्रो उपचार गर्ने ठाउँ, उठ अब। तिम्रा रोगहरु सबै भाग्छन्। उहाँले भन्नुभयो। मैले विमानको झ्याल खोलेँ। बाहिर ठूलाठूला जहाजहरु बास बसिरहेका थिए।

हामी एयरपोर्टबाट बाहिर निस्कँदा चिसो सिरेटो चलिरहेको थियो।

नोटः यो अमेरिकामा उपचार गराउन आउनु भएका पूर्व प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उनकी पत्नी सीताबीचको काल्पनिक मनोसंवादलाई संवादका रूपमा उतारिएको हो।

प्रकाशित मिति: : 2019-03-20 10:00:41

प्रतिकृया दिनुहोस्