कहिलेसम्म मारिन्छन् पार्वतीहरू?

तस्बिर: बिएल

‘वेँसी जान उठिनन् पार्वती’ भन्ने ठूलो अक्षरको शीर्षक सहितको समाचार छ मेरो अगाडि, मंसिर १७ गतेको समाचार हो यो।

एक राष्ट्रिय दैनिकको प्रथम पृष्ठमा प्रकाशित समाचारकोबीचमा रातो अविरको ठाडो टिका लगाएको उज्यालो अनुहारकी युवतीको फोटो छ। मेरो आँखा पहिले शीर्षकमा पुगे अनि फोटोमा, समाचार पक्कै सुखद् छैन।

तस्वीरमा देखिएकी युवतीले मृत्युवरण गरेकी छिन्। हो वास्तवमै वेंसी जान नउठेकी पार्वती बुढा–२१ कुनै दुर्घटनामा परेकी होईनन् वा भनौं प्रारम्भीक अवस्थामा हेर्दा उनको हत्या भएको पनि हाेइन।

अछाम जिल्लास्थित साँफेबगर नगरपालिका वडा नं. ३ कि २१ वर्षिया पार्वती बुढालाई मार्‍यो वा हत्या गर्‍यो त केवल यही समाजमा रहेको कूसंस्कार, कूरिती र अशिक्षाले।

पार्वती आफैंमा चाहिँ शिक्षित नारी हुन्। अर्थात प्लस टु पास गरेकी तर, सामाजिक कुरितीका अगाडि उनको शिक्षा छायाँमा पर्‍यो। कुरितीले उनको अगाडि सफलता हासिल गर्‍यो, पार्वतीले हारिन् अब कहिल्यै नजित्ने गरि कहिल्यै नउठ्ने गरी।

केही वर्षअघि स्थानीय चुनावमा सुदूरपश्चिम जिल्ला बाजुरा पुग्दा यस पंतिकारलेसमेत केही छाउगोठ देखेको हो। तर,एउटा भ्रम त्याग्नु के जरूरी छ भने अछाम,बाजुरा जिल्लाको सबैतिर छाउपडी प्रथा छैन।

महिनावारीको बेला छाउगोठमा बसेकी पार्वतीको मृत्युको समाचार पढेपछि मैले स्थानीय चुनावका बेला बसेको बाजुरास्थित गौमुल गाउँपालिका घटमुना बजारका दाजु लालबहादुर थापाको श्रीमती सीता थापालाई फोन गरेर सोधे-भाउजु तपाईको तिर छाउपडी प्रथा छ कि छैन?

भाउजुले भन्नुभयो–नाई बाबु हाम्रो यो एरियामा त्यस्तो छैन। हाम्रो घरको कुरा गर्ने हो भने त झन् महिनावारीको बेला देवी देवताको मठ मन्दिर नछुने हो। त्यसबाहेक त्यस्तो छाउगोठमा त कहिल्यै सुतिएन्। हामी घरमै सुत्छौं।

फेरि मैले सोधेँ– भाउजु दुई छोरी आरती र अस्मितालाई छाउ गोठमा राख्नु भयो कि?

भाउजुले यसलाई पनि इन्कार गर्नुभयो।

हो अस्मिता र आरती छाउ गोठमा बसेनन्। यस मानेमा उनीहरु भाग्यमानी छोरी हुन्। तर, पार्वती ती भाग्यमानीमा परिनन् र संसार त्यागिन्।

समयक्रम र शिक्षाको विकाससँगै छाउगोठमा बस्न हुँदैन भन्ने जनचेतानाको कारण पनि यस्तो क्रम घट्दै गएको भाउजुले बताउनुभयो। यो एउटा सानो उदाहरण हो जसले गर्दा छाउपडी प्रथा कम हुँदै गएको त देखाउँछ तर यो पर्याप्त र पूर्ण छैन।

त्यसैले त सभ्य समाज र २१ औं सताब्दीमा कूसंस्कारका कारण निर्दोष पार्वतीहरु अकालमा मर्छन्। होचो र साँघुरो छाउगोठमा सुत्दा सर्पले टोकेर,आगोले पोलेर र निसास्सिएर ज्यान जाने गरेको देखिएको छ।

अछाममानै पछिल्लो १० वर्षमा १४ जना महिलाले कुप्रथाको शिकार भएर मृत्युवरण गर्न परेको सोही समाचारमा उल्लेख छ। यसले देखाउँछ छाउप्रथाको विषयमा अझैं जनचेतना र प्रभावकारी अभियानको जरूरी छ। यस्ता कार्य प्रभावकारी नहुनाले नै शिक्षित पार्वतीहरु कुप्रथा र अशिक्षाको शिकार हुने गर्छन्।

हो पार्वती जस्ता शिक्षित नयाँ पुस्तालाई छाउगोठमा बस्न मनै छैन होला तर पुरातनवादी पुरानो पुस्ताले उनीहरुको यो चाहनालाई पूर्ण रुपमा नबुझ्दा नै यस्ता घटना हुने हुन्। अझ भन्ने हो भने ती दुर्गम जिल्लालाई मात्र दोष दिएर हुँदैन विडम्वना भन्नुपर्छ महिनावारीका बेला घृणाको शिकार त शिक्षित र शहरका छोरीचेली अनि बुहारी पनि भएका छन्।

अनि कुनै एक नारी महिनावारी नभई कुन चाँही पुरुष वा महिलाको जन्म सम्भव छ? प्रजनन्‌सँग जोडिएको यस्तो कुरालाई पनि हेयको दृष्टिले र छोइछिटोको हिसाबले हेरिनु सभ्य समाजका लागि सुहाउने कुरा हुँदै होइन्।

अझ भनौं महिनावारीको बेला थप पोषिलो खाने कुरा र आरामको जरुरी पर्ने बेलामा दिनभर घर बाहिरको काम र रातमा अँध्यारो, साँघुरो छाउगोठको सुताई कति कष्टकर हुन्छ भनेर प्रत्येक घर परिवारले बुझ्नु जरूरी छ।

आज यही महिनावारीलाई सामान्य मान्ने मुलुकहरुको विकासको गति कहाँबाट कहाँ पुगिसक्यो तर पुरानो सोच बदल्न नसक्दा अकालमा ज्यानै जाने घटना सुन्दा पनि विकसित समाजले के सोच्ला? अब समाजिक कूसंस्कार हटाउने कार्यमा थप एकताको जरुरी छ भने प्रभावकारी र लक्षित समुदायमा यस सम्बन्धि जनचेतना फैलाउनु उत्तिकै आवश्यक छ।

यसअघि नैतिक अपराध मानिएको छाउपडी प्रथालाई अब कानूनी रुपमै अपराध मानिएको छ। यही कानूनमा उल्लेख भएको कुरालाई प्रभावित ठाउँसम्म पुर्‍याउनु र यस विषयमा उजुरी गर्न प्रोत्साहन गर्नु उत्तिकै जरुरी छ। नत्र, अरु पार्वतीहरु पनि यसरी नै निसासिएर मारिने छन्।

यो एक घर र समाजको होइन राष्ट्र समृद्ध र विकसित समाज मापन गर्ने कडि पनि बनिनुपर्छ। लक्षित वर्गसम्म यसका वेफाइदा र महिनावारीको अर्थ बुझाउन बसेका महिला मात्र होइन प्रत्येक पुरुषले पनि उत्तिकै सहायता देखाउनु जरुरी छ। जसले गर्दा महिलाहरुले अनाहकमा ज्यान गुमाउन नपरोस्।

लेखक सशस्त्र प्रहरी निरीक्षक हुन्।

 

प्रकाशित मिति: : 2019-12-04 12:35:05

प्रतिकृया दिनुहोस्