‘पोर्चुगल,माल्टा,चेक रिपब्लिक :- केवल ८ लाख मात्रै । १ महिने विशेष अफर। सम्पर्क गर्नुहोला।’
केही हप्ता अगाडि मैले यो पंक्ति फेसबुकमा स्टाटस र ट्विटरमा ट्विट गर्दा नसोचेको नतिजा पाएँ। नचिनेका व्यक्तिहरूले समेत मलाई जिज्ञासा राख्दै मेसेज गरे। केही सम्मान गर्न योग्य व्यक्ति पनि यो लाइनमा थिए। जसले नेपाली युवा युरोप छिरेर यतै सेटल हुन लालायित देखिन्थे।
नेपालदेखि माल्टा आउँने र त्यहाँदेखि पोर्चुगल हानिने कारण पनि अहिले माल्टा ट्रान्जिट पोइन्ट बनेको छ । त्यस्तै गरेर पोल्याण्ड कामदार भिसामा आउँने पनि केही समय त्यहीँ बिताएर पोर्चुगल पुग्ने गरेका छन्। नेपालदेखि चेक रिपब्लिक कामदार भिसामा आएकामध्ये धेरैको गन्तब्य पोर्चुगल नै हुने गरेको छ। यी बाहेक विद्यार्थी भिसामा सेन्जेन देश आउने पनि पोर्चुगल नै जाने परम्परा सामान्य भइसकेको छ।
हो यसैको नतिजा हो ८ लाख खर्च गरेर युरोप उनीहरूको रोजाइमा पर्नु। सामान्यत: पोर्चुगल, माल्टालगायतका देशमा आउन ८ लाख खर्च पनि लाग्दैन। तर, काठमाडौैंमा रहेका म्यानपावर जानु भयो भने ठ्याक्कै दुई गुणा अर्थात् १६ लाख सम्म रकम असुलिरहेका हुन्छन । अब उनीहरूलाई १२/१३/१६ लाख दिनु भन्दा ८ लाखको फेसबुके विज्ञापन देखेपछि लालायित हुनु स्वाभाविक नै हो।
नेपाल देखि १२/१३ लाख खर्च गरेर आएका मध्य केही डिप्रेसनमा परेको मैले आफैं देखेको छु।धेरै डिप्रेसनमा पर्ने, सडकमै सुत्नुपर्ने वाध्यता हुनेलगायतका समस्या भोगेका नेपाली युवाले यो पंक्तिकारसँग दुखेसो पोखेको हिजो जस्तै लाग्छ। उनीहरूलाई केही समय दुःख गरेर कागज बनाऊ भन्नु बाहेक अरु उपाय छैन।
नेपालमा ऋण खोजेर युरोप आउँदा सपना ठूलै हुन्छ। तर जब यहाँ आएर परिस्थितिसँग जुध्न सकिदैन तब सपना चकनाचुर हुन्छ । उता ब्याज बढेको बढ्यै हुन्छ, यता न काम हुन्छ न पेपर। भइहाल्यो भनेपनि खानपान मै ठिक्क। ऋण तिर्ने रकम कहिले कमाउने हो पत्तो हुँदैन। नेपालमा आर्थिकरूपले सबललाई त्यति समस्या हुँदैन तर जसको स्थिति मध्यम हुन्छ उनीहरूलाई युरोपको सपना फलामको चिउरा चपाउँनु सरह नै हुन्छ।
अर्कोतर्फ युरोपमा नेपालीलाई समस्यामा पार्ने भनेकै नेपालीले नै हो। प्रत्येक देशमा जहाँ नेपाली छन्, त्यहाँ नेपाली दलाल पनि उत्तिनै भेटिन्छन्। तिनै दलालबाट नेपाली पीडित देखिन्छन्। हिजो दलालबाट युरोप छिर्दा दु:ख पाएका नेपाली आज आफैं दलाल बनेर अरू नेपालीलाई ठगिरहेका छन्। यसरी ठग्नेमा स्थानीय सामाजिक संस्थाका पदाधिकारी मात्रै होइन, आफूलाई एनआरएनको मसिहा ठान्ने पनि अग्रपंक्तिमै देखिन्छन्। जुन निकै लज्जास्पद देखिन्छ।
केही समय अगाडि बेल्जियममा फिल्म सुटिङ गर्ने वहानामा एक दर्जन युवा बेल्जियम हुँदै पोर्चुगल पठाइएको घटना ताजै छ।पीडित युवाका आफन्तलाई रकम भुक्तानी नगरेको भनेर नेपालमा केही समय बन्धक बनाइएको समाचार पनि बाहिरियो। उनीहरुले प्रति व्यक्ति १४ लाख तिरेको सुन्नमा आएको थियो।
अहिले एनआरएनएका उपाध्यक्ष बनेका अर्जुनकुमार श्रेष्ठ सन् २०१३ मा बेल्जियममा सम्पन्न एसेन्ता काण्डमा नराम्रोसँग मुछियका ब्यक्ति हुन्। नेपाल र बेल्जियमको ५०औं दौत्य सम्बन्धको अवसरमा एसेन्ता मेला कार्यक्रममार्फत सयौ युवा बेल्जियम हुँदै पोर्चुगल भित्रिए। यसमा बेल्जियम र नेपालका आयोजकले दलाली गरेर मनग्गे धन आर्जन गरे। श्रेष्ठ बेल्जियमतर्फका संयोजक थिए भने नेपालका तर्फबाट कुशकुमार जोशी। यस काण्डलाई न एनआरएनएले नै छानबिन गर्यो न त यहाँको नेपाली समाज प्रशासनको ढोका ढक्ढक्याउन नै पुग्यो।
अब केही प्रसंग बदलौं। माथिका केही लज्जास्पद उदारहण मात्रै हुन्। मैले राखेको ८ लाखे युरोपको विज्ञापन पछाडि रक्षा नेपालकी मेनुका थापाले आफ्नो एकजना भाई पठाउनु छ भन्दै गरेको मेसेज मलाई झसङ्ग बनाइदियो। पत्रकार मित्रहरु सागर मरासिनी, मोहन बस्याललगायतका साथीको मेसेजले थप अच्चमित बनायो। आखिर किन उहाँहरू विदेश जान प्रोत्साहन गर्दै हुनुहुन्छ? कमसेकम उहाँहरूले थोरै भय पनि युरोप छिर्न खोज्नेलाई नआउन वा देशमै केही गर्नुपर्छ भनेर सम्झाउन सक्ने वा बाटो देखाउन सकेको भय गज्जब हुने थिएन र ?
हो, अहिले देशमै केही गर्नुको साटो विदेश गएर आफ्नो भविष्य बन्नेमा नेपाली युवा लालायित देखिन्छन्। १२ पास गर्न पाएका छैनन् उनीहरूको गन्तब्य कि अस्ट्रेलिया हुन्छ कि त युरोपियन देशहरू । यो सोच केहीका लागि बाध्यता भए पनि धेरैका लागि महंगो शोख नै हो भन्दा हुन्छ । दुःखको कुरा देशमा बसेर केही हुन्छ भन्ने सोचाइमा ठूलो पहिरो गैरहेको छ।
अभिभावकले पनि विदेश नै टार्गेट गरिरहेका हुन्छन्। देशमै केही गर्छु भन्दा ऋण नपाएको पनि केहीले दुखेसो सुनाएका थिए। देशमा रोजगारीको अवसर सिर्जना पर्याप्त मात्रामा छैन, भए पनि युवाहरु देशमै दुःख गर्नु पर्छ भन्ने कमै छन्। जसले गर्दा उनीहरूको युरोपियन भबिस्यसँगै दुःखका दिन सुरू भएको अनुमान गर्न गाह्रो हुदैन।
हुन् त यति पढिसकेपछि प्रश्न मलाई नै तेर्सिन सक्छ। आफू गयो अरूलाई नजा भन्छ। भन्नेहरू थुप्रै होलान्। उपदेश दिन्छ भनेर गाली गर्नेहरू पनि निस्केलान्। तर, युरोपको वास्तविकता एकदमै फरक छ। दलालका मीठा कुरा र यहाँको दुःख फरक छ।
बेल्जियम बसेर नेपाली पत्रकारिता गरेको झण्डै एक दशक पुगेको छ। यो समयमा सयौं पीडितका समस्या सुनेको छु। सयौका आँसु पुछ्ने प्रयास गरेको छु। यो कर्ममा दलालको थ्रेट भोगेको तीतो अनुभव आफैंसँग छ। यिनै अनुभवकै कारण युरोपमा सास्ती भोग्न नआउन आग्रह गर्छु ।
कामदार भिसामा आउँने हो भने काम गर्नुहोस्। विद्यार्थी भिसामा आउँने हो भने अध्ययन गर्नुहोस्। तर, काम छोडेर, पढ्न छोडेर भविष्य खोज्न थाल्दा आफैं थला परिन्छ। यसरी थला पर्दा साथ दिने कमै हुन्छन्। अभिभावकहरू पनि आफ्ना सन्तानको भविष्य स्वदेशमै देख्ने प्रयास गर्नुहोस्। कमसेकम आफ्ना सन्तान आफैसँग त हुन्छन्।