संघीयताको कमाल: मेयरहरू मालामाल

बिएल

केही समय पहिला मातृभूमि गएको थिएँ। यात्राको क्रममा कृष्णनगरमा गाडी बिग्रियो। झट्टै बन्नेवाला थिएन अन्य गाडी पनि त्यहाँ थिएनन्। गाडी बिग्रेपछि नजिकैको एउटा खाजाघरमा गएँ। टेबल नजिक एक जना देखेदेखे जस्तो, चिनेचिने जस्तो व्यक्तिसँग आमनेसामने भइयो। उनले भने, 'तपाई फलानो होईन र?' 'हो कसरी चिन्नु भो?' मैले प्रतिप्रश्न गरेँ। उनले भने, 'म र तपाईँ सामाजिक सञ्जालमा साथिी भएकै ५ वर्ष भन्दा बढी भयो।

म फलानो हौ चिन्नु भएन र?' उनले आफ्नो नाम भनेपछि मैले झ्वाट्ट चिने, ‘हो र! तपाईँ पो? तर सामाजिक संजालको तपाईँको फोटो योङ छ नि?' मैले फेरि प्रश्न गरेँ। उनले हाँस्दै भने, 'हो त सुरुमा हालेको प्रोफायल मैले फेरेको छैन। ५ वर्ष अगाडिको फोटो हो हजुर,' उनले प्रष्ट पारे।

कुरै कुरामा हामीले आफ्नो गन्तव्यको बारेमा छलफल गर्‍यौं। ‘मैले गाडी बिग्रेर बसेको काठमाडौं जान लागेको, भने। उनले प्रस्ताव गरे 'सँगै जाउँ। म पनि एक्लै हो, गाडीमा। 'मैले ठट्टा गर्दै भने, 'जान त जाने, म रिजर्भ गर्न सक्दिनँ नि!' उनी हाँस्दै बोले, 'पर्दैन यो गाडी सरकारी हो जाउँ हिड्नुहोस्, मेरो गाडीमा,' उनले पुन अनुरोध गरे।

मैले पनि ढुङ्गा खोज्दा देउता मिले जस्तै मानेर उनको गाडीमा जाने निर्णय गरेँ। चढियो सेतो प्लेटको गाडीमा, उनले गाडी हुँईकाउन थाले।

विस्तारै कुरा हुन थाल्यो। उनी मैले लेखेको लेखहरू पढ्दा रहेछन्। अनि भने, ‘कृपया हाम्रो संवादको समाचार नबनाउनु होला। फेरि बल्लबल्ल पाएको जागीर पनि जान्छ।’

मैले भने, ‘ढुक्क हुनुहोस् यदि समाचार बनाए पनि ठाउँ, मिति र तपाईको नाम, हुलिया सबै परिवर्तन गर्नेछु’, मैले उनलाई विश्वास दिलाएँ।

उनी भन्न थाले, ‘मैले फलानो गाउँपालिकाको गाडी चलाउने जागिर पाएको छु। यो गाउँपालिका अध्यक्षको गाडी हो। उनी केही दिन अगाडि काठमाडौं गएका छन्, जहाजमा। विदेशबाट आफन्त पनि आएका छन् रे, लिन बोलाएकाले जान लागेको।'

यात्राले मलाई थप जिज्ञाशू बनाउँदै थियो। म अरू कुरा पनि कोट्याउने सुरमा लागेँ। जति सकिन्छ धेरै सूचना लिउँ भन्ने लागिरहेको थियो। हामी सम्वादमा नजिकिँदै गयौं।

नेताहरूलाई सोधिने प्रश्न तल्लो ओहदामा रहेका कर्मचारीलाई सोध्दा कस्तो जवाफ आउँछ होला? मेरो मनमा प्रश्न उब्जिरहेको थियो। सोधेँ, 'यो गणतन्त्र र संघीयता ठिक छ त?,' जवाफमा 'गणतन्त्र त ठिकै हो। तर, यो संघीयता, स्थानीय सरकार र प्रदेश सरकारले देशलाई कंगाल बनाउने भए,' उनी अलि आक्रोशित हुँदै बोले। मैले फेरि 'किन?' भनेर सोधेँ। 'गाउँपालिकाका अध्यक्षको लागि गाडी। उपाध्यक्षको लागि गाडी। प्रशासकीय अधिकृतलाई गाडी। त्यो गाडीको तेल खर्च, ड्राईभर खर्च स्थानीय सरकारको हुन्छ। गाउँपालिकाको आम्दानी केही छैन। तर, खर्च भत्ता कति हो कति।'

देशमा दसकौं अशान्ति मच्चाएर आएको गणतन्त्र र संघीयताको जवाफ उनीबाट मिलिरहेको थियो।

'तीन महीना पहिला आफ्नो सन्तान भेट गर्न हाम्रो पालिका अध्यक्ष विदेश भ्रमण गए। यता उता मिलाए। फलानो सहरसँग भगिनी सम्बन्ध बनाउन भन्दै गए। १५ दिन उतै बसे। त्यहाँ १/२ ठाउँमा फोटा खिचे अनि नेपाल आए। आतेजाते खर्च मात्र कहाँ हो र, दैनिक भ्रमण भत्ता स्वरूप १५० डलर पनि बुझे।’

उनी मेरो 'किन' भन्ने छोटो प्रश्नको लामो उत्तर दिइरहेका थिए। 'स्थानीय सरकार बाहिर देखाउन मात्र हो। संघीयताले ल्याएको स्थानीय सरकारले साँच्चै लुट मच्याएका छन्। कतै घुमघाममा जान पर्‍योकि, फलानो जिल्ला भ्रमण जानुपर्‍यो त्यहाँको केरा खेतीबारे बुझ्नु पर्‍यो भन्ने, अनि अध्ययन भ्रमण गयो। यस्तै भइरहेको छ। काइदाका आइडिया फुराउँछन्, दिमागमा। अरूबेला तँ यो पार्टीको, म ऊ पार्टीको भने पनि भ्रमण, कमिसन र भागबन्डामा सबैको मिलेमतो हुन्छ।'

उनी राोकिएका थिएनन्। त्यतिबेला उनको र मेरो सम्बन्ध टेलिभिजनको समाचार बाचक र दर्शक जस्तो हुँदै गइरहेको थियो।

उनी धारा प्रवाह बोलिरहेका थिए। म सुनिरहेको थिएँ। ‘कहिले चिया, कफी अध्ययन भनेर इलाम गयो। कहिले ज्यामिर खेती भन्यो, रामेछाप गयो। तर, उनीहरुको उद्धेश्य सरकारी गाडीमा घुम्ने अनि दैनिक १ हजार ५०० भत्ता बुझ्ने एक मात्र हुन्छ। उता तलब छँदैछ। म ड्राइभर हुँ। मलाई पनि रोजगार दिएका छन्। तर, पनि यस्तो दोहन देख्दा लाग्छ, स्थानीय सरकार र संघीयता हाम्रो लागि अभिसाप भइरहेको छ,' उनको फुलपेज उत्तर समाचारकै शैलीमा सकियो।

म पनि पुराना कुरा सम्झिन थालेँ। केही समय पहिला जर्मनीमा १ मेयर आएका थिए, नेपालबाट। त्यहाँको नेपालीले भन्दै थिए, 'यी मेयर’साप फोटो सुट गर्न आएका हुन् कि, यहाँ अध्ययन गर्न आएका हुन्? बुझ्नै सकिएन।' अनि पछि ती मेयर नेपाल फर्केर जर्मन भ्रमण फलदायी भयो भन्दै अन्तरवार्ता दिए।

मेयरहरू विदेश भ्रमण जानेमा चिरीबावु महर्जनको नाम अग्रपंतिमा आउँछ। मेरा एक साथीले जापानबाट गुनासो गरे, 'फलानो गाउँपालिकाका अध्यक्ष आए। उनी त घुम्न र आफन्तकोमा जान मात्र ठिक्क। किन आएको होलान् यहाँ?' उनी भन्दै थिए, 'घुमघाम गरे जाप्नीज ओसाके (रक्सी) खाए नेपाल फर्किए। पत्रकारहरुसँगको भेटवार्तामा जापान भ्रमण फलदायी भयो। धेरै कुरा सिकियो भन्न भ्याए।'

सरसर्ति हेर्दा सेवा सुविधामा नै स्थानीय तहको बजेट सकिन्छ। विकास र प्रविधिबारे न भिजन छ, न मिसन नै। दिमाग खुरापाति बनाउन खप्पिसहरु गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र नगरपालिकाका मेयर उप-मेयर तथा वडा अध्यक्ष छन्।

एक गतिलो उदाहरण काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई लिन सकिन्छ।

राजधानीका मेयरसँग त कुनै मिसन, भिजन छैन भने अन्य ठाउँकाको के कुरा गर्नु? अपवादमा २/४ बाहेक अन्य सबै दलका अन्धभक्त र व्यक्तिगत स्वार्थ भन्दा माथि उठ्न सकेका छैनन्।

स्थानीय तहको विकास भन्दा पदीय घमन्डता र बजेटलाई भत्ता र भतेरमा लगाएर आफू मालामाल हुने हरु मात्र छन्। त्यसैले 'स्थानीय तहमा सिंह आए। तर दरबार आएन' नारा सान्दर्भिक छ। यही तालले संघीयता धरापमा पर्दैछ भने देश असफल दिशामा यात्रारथ छ।

यत्ति बुझौं 'मेयर मालामाल, संघीयताको कमाल!' नहोस्। जय होस्!!

प्रकाशित मिति: : 2019-11-17 13:01:59

प्रतिकृया दिनुहोस्