पवित्र नेपाली भूमिमा विशिष्ट अतिथि सी चिङफिङ

बिएल
सुन्दर शान्त यस पवित्र भू-भागलाई पूर्वकालमा बाइसे-चौबिसे रूपी साना राज्यलाई एकीकरण गरि बनाएको हाम्रो प्यारो देश नेपालको सपूत पूर्वमहाराजा पृथ्वीनारायण शाहको भनाइ अनुसार, ‘नेपाल दुई ढुंगाबीचको तरूल हो।' यो महान उक्ति भन्ने बेलामा कदाचित् उनले नेपालको वास्तविक नक्सा हेरेकै थिएनन् होला। तर वर्तमानमा नेपालको आधुनिक नक्सांकन गर्ने प्राविधिक विद्वानहरुले बनाएको नक्सा हेर्ने हो भने हामी पृथ्वीनारायण शाहको उक्त उक्ति अक्षरशः सत्य रहेको पाउँदछौं। 
 
पूर्व-पश्चिम लमतन्न परेर रहेको यसको नक्सा त बुझ्न सजिलो छ। तर, उत्तरी र दक्षिणी लम्बाईमा यस देशको नक्साको स्वरूप हेर्ने हो भने उनको उक्तिलाई सत्य पार्नमा झन् टेवा पुर्‍याउँँदछ। दक्षिणी क्षितिजमा पूर्वतिरको अङ्ग भद्रपुर, कुशहाघाट, हनुमाननगर, रौतहट, बारा तथा पर्सा तथा पश्चिमका अन्य भू-भागमा स्पष्ट रूपमा किचिमिचि पारेर लुछेको देखिन्छ भने उत्तरी क्षितिजमा पूर्वदेखि पश्चिमसम्म नेपालको नक्सालाई कुनै विशाल सार्क माछाले आफ्नो भयानक दार्‍हाले काेतरेको, चिथोरेको देख्न सकिन्छ। यस स्थितिको जिम्मेवार वस्तुतः वर्तमान नभई अतीतको इतिहास हो। निश्चयतः यसको जिम्मेवारी प्राकृतिक भौगोलिक बनोटको पनि हो। वर्तमानमा यो देश यसै नक्सा अनुसारको स्थितिमा सार्वभौम तथा अक्षुण रूपमा अवस्थित रहेको छ।
 
यस देशको उत्तरमा विश्वकै सबैभन्दा बढी जनसंख्या रहेकाे छ भने दक्षिणमा विश्वको दोश्रो ठूलो जनसंख्या भएकाे विशाल भारत साम्राज्य अवस्थित छ। यी दुबै विशाल साम्राज्य हाम्रा छिमेकी हुन। यी छिमेकी राष्ट्रहरुसित विभिन्न कालखण्डमा केही झिना-मसिना मतभेद रहे पनि मनभेद भने कहिल्यै रहेन। प्रचीनकालदेखि नै हाम्रो सम्बन्ध यी राष्ट्रसित प्रगाढ़, सुमधुर तथा सौहार्दपूर्ण रहिआएको छ।
 
उत्तरी छिमेकी चीनसित हाम्रो सम्बन्ध अतीतकाल देखिनै प्रगाढ़ रहि आएको तथ्यलाई केही पुराना घटना विशेषले पुष्टि गर्दछन्। परापूर्वकालमा विशाल ताल भएको काठमाडाैं खाल्टोको पानी आफ्नाे तेजबाट चोभार डाँडाको पहरा काटि निकाल्ने सफल प्रयास चीनबाट आएका मञ्जूश्री नामक यात्रीबाट भएको कुरा नेपालको लिखित इतिहासमा अंकित रहेको छ।
 
गुह्येश्वरी मन्दिरमा उनीद्वारा रोपण गरिएको कमलको विरूवा हालको स्वयम्भूनाथको मन्दिरमा पल्लवीत, पुष्पित भएको जनश्रुति छ। मञ्जुश्रीले नै काठमाडाैं उपत्यकामा जनबसोबास गराई आबाद गरेको जनविश्वासलाई पनि नेपालको इतिहासले पुष्टि गरेको पाइन्छ। 
 
नेपालका विभिन्न वंशका राजाहरुको राज्यकालमा चीनसित व्यापार हुने गरेको व्यहाेरा पनि इतिहासले इंगित गरेको पाइन्छ। त्यस्ता व्यापारको वर्णन नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा रचना गरिएको महान कृति ‘मुना–मदन’ नामक खण्डकाव्यमा पनि पाइन्छ। यस खण्डकाव्यको कथानायक ‘मदन’ काम गर्न तथा सुन कमाउनको लागि चीनको यात्रा गरेको घटना बडाे मधुर रूपमा यसमा वर्णन गरिएको छ।
 
लिच्छवी शासनको स्वर्णकालमा राजा अंशुवर्माकी  भृकुटी नामक छोरीलाई चिनिया राजा (त्यति बेला भोट वा तिब्बत) स्रोङचङ गम्पोलाई दिएर चीनसित वैवाहिक सम्बन्ध स्थापित गरिएको कुरा नेपालको इतिहासले स्पष्ट पार्दछ। त्यस्तै ‘अरनिको’ नाम गरेका नेपाली कलाकार चीनमा गएर ‘पैगोडा’ शैलीका अनेकौं मन्दिर, गुम्बाहरुको निर्माण गरि स्थापत्य कलाको नमुना प्रदर्शन गरेका थिए।  
 
राष्ट्रलाई परिआएको बेला छिमेकी धर्मको निर्बहन गर्दै चीनले पनि विकाशशील राष्ट्र नेपालको जलश्रोत, यातायात, आर्थिक क्षेत्रहरुमा सहायता गर्दै आएको छ। अरनिको राजमार्ग, २०७२ सालको महाभूकम्पमा परि भग्न भएको काठमाडाैंमा अवस्थित हनुमानढोका दरबारको पुनर्निमाण, देशका विभिन्न कलकारखानाहरुको निर्माण, विभिन्न जलविद्युत परियोजनाको निर्माण आदि विभिन्न किसिमको काममा औधी सहायता गरेका कैयन तथ्यहरु द्रष्टव्य छन्। कुनै पनि राष्ट्रिय आपत्-विपत् आइपरेको बेला नेपालको सहायता गर्न चीन सरकार आतुरताका साथ तम्तयार रहेको हुन्छ। वस्तुतः चीनसित नेपालको सम्बन्ध राजनैतिक मात्र नभइ भावनात्मक सम्बन्ध रहेको छ। 
 
समय समयमा विभिन्न विषयमा नेपाल र चीन दुबै देशको बीचमा राजनैतिक, सरकारी, व्यापारिक यात्रा भ्रमण, सभा-गोष्ठी, विचार आदान-प्रदान भइ नै रहन्छ। यस्तो अवस्थामा अढ़ाइ दशक पछि निकट भविष्यमा चीनको राष्ट्राध्यक्ष महामहिम सी चिङफिङकाे नेपालको पवित्र भूमिमा हुन लागेको यात्रा बडाे महत्वपूर्ण हुनेछ। हाम्रो नेपाली संस्कृति अनुसार बाहिरबाट हाम्रो देशमा आउने पाहुनालाई देउताको मान्यता प्राप्त छ-अतिथि देवो भवः। 
 
स्वयं कल्याण प्राप्तिको निम्ति देउताको षोड्षोपचार विधिले पूजा गर्ने हाम्रो धार्मिक परम्परा छ। कुनै पनि आग्रह, अनुनय, अपेक्षा न राखि चीनका राष्ट्रपति महामहिमको सोही विधि अनुसार स्वागत-सत्कार गरिनु पर्ने आवश्यकता छ। महापुरूषको आगमन र दर्शन पनि ठूलो कल्याणकारी हुन्छ भन्ने हाम्रो मान्यता हो। यस भ्रमणको अवसरमा महामहिमको दृष्टि यस सुन्दर, शान्त र विशाल राष्ट्रको विहंगमतामाथि पुगोस। यही विश्वको सर्वोच्च शिखर सगरमाथा छ भने मध्यमा मनोमुग्धकारी महाभारत, शिववालीक तथा चुरे पर्वत श्रृंखला छ तथा दक्षिणमा शश्यश्यामला हरियो वन र शश्यश्यामला उर्वर तराई प्रदेश(मधेश प्रदेश) जस्तो विभिन्न भौगोलिक प्राकृतिक रचना अवस्थित छ।
 
महामहिम चिनियाँ राष्ट्रपतिको नजर दृष्टि नेपालको सम्पूर्ण भू-भाग तथा जनसंख्यामाथि समान रूपले परोस्। हाम्रो राष्ट्रिय अखण्डता, अन्तर्राष्ट्रिय समानता, एकता, राष्ट्रिय स्वाभिमान तथा देशको सर्वाङ्गीण विकास हाम्रो ग्राह्यता हो। महामहिमको असीम अनुकम्पाले चीनको साथै छिमेकी राष्ट्र नेपालको पनि सर्वाङ्गीण विकाश तथा समुन्नति होओस यही शुभकामना छ।
 
छिमेकी मित्र राष्ट्रहरुसित यस भावनाको समुचित आदर, सत्कार र सम्मान वाञ्छनीय छ। यस महान अवसरमा पंक्तिकारलाई वेदको एउटा ऋचाको स्मरण भइरहेकोछ–संगच्छध्वम्, संवदध्वम्, सं वो मनांसि जानताम्...। (ऋग्वेद १०–१९१–२)
प्रकाशित मिति: : 2019-10-11 15:14:13

प्रतिकृया दिनुहोस्