नेपाली डायस्पोरामा बढ्दो छ 'मिडिया जङ्की' प्रकोप !

मिडिया जंकी... एक प्रतिकात्मक तस्बिर ।

मिडिया-जंकी आमसञ्चार तथा पत्रकारितामा प्रयोग गरिने शव्द हो । यो दुई शव्द मिडिया र जंकी मिलेर बनेको एक संयुक्त शव्द हो । यसमा मिडियाको अर्थ कुनै पनि सञ्चार माध्यम हो भने जंकीको अर्थ त्यसमा लत बसेको लग्गु (क्रेजी) हो । अर्थात्, जसरी पनि मिडियामा आउन चाहने कुलतमा फसेको मान्छेलाई मिडिया जंकी भनिन्छ। यस्ता मान्छे प्रचारका भोका हुन्छन् र आफूलाई प्रचारमा ल्याउन जे जस्ता हर्कत गर्न पनि तयार हुन्छन् । यस क्रममा सञ्चारकर्मीलाई विनिङ एण्ड डाइनिङ गराउने, प्रोक्सी इभेन्ट सिर्जना गरेर समाचार बनाउनेजस्ता काम अत्याधिक मात्रामा हुने गर्छन् ।

मिडिया महागुरू म्याक्वेलले एक ठाउँमा भनेका छन् - 'मिडिया जंकीहरू यतिसम्म साइको हुन्छन् कि उनीहरू मिडियामा आउँन पाएनन् भने आफैंलाई अण्डाले हान्न लगाउँछन् र अण्डा फुटेर फोहोर भएको आफ्नो फोटो खिचेर भए पनि प्रचारमा आउँछन् ।'

हरेक समुदायमा यस्ता मिडिया जंकीहरू हुन्छन् । कुनैमा थाेरै हुन्छन् कुनैमा बढी, मात्राको मात्र फरक हो। मिडिया महागुरू म्याक्वेलका अनुसार पिछडिएको समुदायमा यस्ताको संख्या बढी हुन्छ भने विकसित समुदायमा यस्ताको संख्या कम हुन्छ। यसको मूल कारण पिछडिएको चेतना भएको समुदायमा सञ्चारकर्मी पनि सजिलै उपयोग हुने भएकाले मिडिया जंकीका लागि आफ्नो हर्कत गर्न सजिलो हुन्छ।

मिडिया जंकीहरू यतिसम्म साइको हुन्छन् कि उनीहरू मिडियामा आउँन पाएनन् भने आफैंलाई अण्डाले हान्न लगाउँछन् र अण्डा फुटेर फोहोर भएको आफ्नो फोटो खिचेर भए पनि प्रचारमा आउँछन् । 

अमेरिकाको नेपाली समुदायमा पनि यस्ता जंकीहरूको कमी छैन । यही प्रवृतिका कारण यहाँ 'एक ल्यापटप : एक डटकम' हुने परिस्थिति सिर्जना हुदैछ । अनलाइनको अस्मिता लुटेर यसलाई नांगेझार पारेर वेभब्लग बनाइएको छ । यही क्रममा नयाँ अविष्कार भएको छ-  फोटो एल्बम पत्रकारिता । कुनै एउटा स्युडो इभेन्ट सिर्जना गर्यो, फोटो खिच्यो अनि हाल्यो । ती तस्बिरमा इभेन्टभन्दा पोजिसन हुन्छ । उदाहरणका लागि वृतचित्र प्रदर्शन भनिन्छ । तर, प्रदर्शनको चाँहि तस्बिर हुदैन, त्यहाँ भेला भएका मिडिया जंकीहरूका पोज पोजका तस्बिरको फोटो एल्बम हुन्छ । पत्रकारिताको नाममा यो एक किसिमको विकृति हो तर दुर्भाग्य जो आफूलाई पत्रकार र सञ्चारकर्मी भन्छन्, सबैभन्दा बढी उनीहरूमै यो मनोरोग देखिएको छ । 

डटकम पत्रकारितामा पहुँच नभएकाले वा त्यसको थप मार्केटिङ गर्न जानेकाहरूले त्यही फोटो एल्बमलाई सामाजिक सञ्जाल खासगरी फेसबुकमा सेयर गरेर अर्को एल्बम क्याम्पेन चलाउँछन् । यस अतिरिक्त फेसबुकमा जे पनि लाइभ गर्ने, अनेक हर्कत गरेका फोटो पोष्ट गर्ने, आउट-अफ-बक्स स्टाटस पोष्ट गर्ने, अस्वभाविक लाग्ने खालका कमेन्ट गर्ने जस्ता कार्य मिडिया-जंकीका गतिविधि हुन्।

मिडिया-जंकी एक किसिमको मनोरोग हो । यो रोगको असर सम्बन्धित व्यक्तिलाई त पर्छ नै यसको असर उसको परिवारलाई पनि पर्छ । जस्तै: घरको मूली मिडिया-जंकी छ रे । उसलाई फेसबुकमा अरुको ध्यानाकर्षण गर्न अस्वभाविक किसिमको चुम्बन गरेको तस्वीर खिचेर राख्न मन पर्यो रे । यस्तो अवस्थामा त्यो मिडिया-जंकीले आफ्नी श्रीमतीको ईच्छा बिपरित नै भए पनि त्यस्तो फोटो खिचेर राख्न सक्छ। त्यसो भएमा त्यो मिडिया-जंकी मात्र हैन, उसकी श्रीमती पनि सामाजिक चर्चा परिचर्चाको विषय बन्न सक्छिन् । 

यो मनोरोग कसैलाई कुनै पनि बेला लाग्न सक्छ। तर, मान्छेको बानी के हुन्छ भने सामान्यत: उसले आफ्नो यस्तो खालको मनोरोग सजिलै स्वीकार्दैन । त्यसमा पनि नेपाली डीएनएमा त्यो गुण जबर्जस्ती छ ।

कतै तपाईमा पनि यो रोगको लक्षण छ कि ? छ भने बेलैमा सचेत हुनु राम्रो हो । यो रोग बढ्दै गयो र त्यस्तो व्यक्ति प्रचारमा आउन सकेन भने ऊ नराम्ररी डिप्रेसनको शिकार हुन सक्छ । त्यसैले तपाई हामी जो जो यो रोगका शिकार छौं, समयमै आ-आफ्नो अनुहार एनामा हेरेर सच्चिदा नै राम्रो हुन्छ । अन्यथा एक दिन हामी गम्भीर डिप्रेसनको शिकार हुन सक्छौं ।  

 

प्रकाशित मिति: : 2019-06-20 23:25:08

प्रतिकृया दिनुहोस्