सरकारी डेरा सर्दा 'पीएस कम्रेड'को कर्मकाण्डी तामझाम

नेपालका कम्युनिष्टहरूको वैचारिक विचलन यति धेरै बढेको छ कि को बढी विचलित हुने भन्ने प्रतिस्पर्धा नै चलेको छ । यही प्रतिस्पर्धामा पछिल्लोपटक उत्रेका छन्- पृथ्वी सुब्बा गुरूङ । गण्डकी क्षेत्रका यी पुराना कम्युनिष्ट नेता पीएस कम्रेडका नामले पार्टी पंक्तिभित्र चिनिन्छन् । अहिले उनी गण्डकी प्रदेशका पार्टी इन्चार्ज र मुख्यमन्त्री हुन् । 

अहिले उनको एउटा तस्बिर सार्वजनिक भएको छ । तस्बिरमा उनले एउटा सरकारी आवासबाट अर्को सरकारी आवासमा सर्दाखेरी गरेको कर्मकाण्डी धार्मिक क्रियाकलापको प्रमाण प्रस्तुत गर्छ ।

धर्म संस्कृति मानिसको निजी कुरा हो र यसमा सामान्यत: प्रश्न उठाउनु उपयुक्त मानिदैन । तर, यो पीएस कम्रेडको कुरा हो जसले धर्म र कर्मकाण्डलाई अफिम ठाने र अरूलाई पनि त्यही ठान्न प्रशिक्षित गरे । यस्तो गर्नेलाई पेटी ब्रुजुवा भनेर जीवनभर धारेहात लगाए र लगाउन सिकाए । अहिले पनि उनी मार्क्सवादी लेलिनवादी हुन् र आफूलाई हसिया-हथौडाअंकित रातो झण्डाकै  कट्टर अनुयायी ठान्छन् । त्यसैले मात्र उनको यो कर्मकाण्डी व्यवहार टिकाटिप्पणीको विषय बनेको हो । 

उनले सपथ पनि ईश्वरको नाममा लिएनन् । तर, अहिले सरकारी डेरा सर्दा जे जस्तो कर्मकाण्ड गरिरहेका छन्श्र त्यो लेख्दा लाग्छ कम्युनिष्ट विचार भनेको गरीवहरूको भोट बटुलेर सत्तामा चढ्ने भर्याङ मात्र रहेछ । 

समस्या पीएस कम्रेडमा मात्र हैन, उनका ठुला ठुला नेतामा पनि त्यही छ । बेलाबेलामा देखिने कर्मकाण्डी तामझामले नेताहरूबीच नै को बढी कर्मकाण्डी हुने प्रतिस्पर्धा बढेको देखिन्छ । पृथ्वी सुब्बा गुरूङको सरकारी डेरा सराईमा देखएको कर्मकाण्डी व्यवहारले उनी पनि कडा प्रतिस्पर्धामा उत्रिएको भने स्पष्टै छ । 

आगे उनीहरू नै जानुन् ।


(यो ब्लगिङ हो । यसमा लेखकले निजी विचार राखेका छन् । यसमा हाम्रो सम्पादकीय नीति निरपेक्ष छ । )

 

 

प्रकाशित मिति: : 2019-06-15 04:36:40

प्रतिकृया दिनुहोस्